१० असार २०८१, आइतबार | June 23, 2024

पश्चिमाहरूको षड्यन्त्रात्मक संरक्षणमा हुर्किंदै थेरवादी मारमा बज्रयानी


February 21, 2024
10.5k
Shares

सन्तोष आचार्य: थेरवाद भन्नाले श्रेष्ठ व्यक्तिहरूको विचारहरूको सँगालो हो । बौद्ध धर्मको यस शाखाको अधिकांश पुस्तकहरू पाली भाषामा लेखिएका छन् । तथागत बुद्धको सम्पूर्ण विचारहरू थेरवाद अन्तर्गत पढ्न पाइन्छ । थेरवाद परम्परामा कुनै पनि व्यक्ति, हस्ती वा देवी देवताको पूजन हुँदैन । मानिस स्वयंले निर्वाण खोज्नु पर्दछ भन्ने मान्यता यहाँ पाइन्छ । महायान परम्परामा देवीदेवता र दिव्य आत्माहरूलाई पूजन गरिन्छ तर थेरवादमा त्यस्तो हुँदैन । थेरवादलाई हिनयानकै शाखाको रूपमा मानिन्छ । महायानीहरूको भनाइ अनुसार बिना गुरू वा व्यक्ति स्वयंले निर्वाण खोज्न सक्दैन । मानिसलाई गुरू र मार्गदर्शकको खाँचो हुन्छ तर थेरवाद परम्परा अनुसार चाहिं मानिस स्वयंले तथागत बुद्धले झैँ आफ्नै बलबुतामा निर्वाण प्राप्त गर्नु पर्दछ ।

महायान सम्प्रदायमा यस्ता कैयौं व्यक्ति छन् जसले बोधीसत्व प्राप्त गरेका छन् । जसलाई उनीहरूले देवताको दर्जामा राखेर श्रद्धा गर्ने गर्दछन । अवलोकितेश्वर, अमिताभ, मैत्रेय, मन्जुश्री, क्षितिगर्भ आदि कैयौंलाई महायानीले भगवानको दर्जामा राखेका छन् । भगवान् बुद्धले एक प्रसङ्गमा ‘स्वयं अभिज्ञात गरी धर्मदेशना गरेका कुराहरूलाई सबै (भिक्षुहरू) मिली, एकत्रित भई अर्थमा अर्थ, व्यञ्जनमा व्यञ्जन मिलाई सङ्गायना गर्नुपर्छ, झगडा गर्नु हुन्न भनेका छन् । यसले गर्दा यो धर्म दीर्घकालसम्म रहन सकोस्, चिरस्थायी हुन सकोस्, अनि बहुजन हितका लागि, बहुजन सुखका लागि, लोकबासीका अनुकम्पाका लागि, देवसहित मनुष्यहरूका, हितका निमित्त र सुखका निमित्त पनि हुन सकोस्’ भनी आज्ञा गरेका थिए । बुद्धका तिनै आज्ञाहरूलाई संकलन गरेर थेरवादीहरूले पुस्तकाकारको रुप दिएका छन् ।

आफुले प्राप्त गरेको ज्ञानलाई बाड्नु पर्दछ । तथागत बुद्धले आफ्नो जीवनको ८० वर्षसम्म आफुले प्राप्त गरेको ज्ञान बाँडे र अन्त्यमा परनिर्वाण प्राप्त गरे । बुद्धको मृत्युपछि सुवर्ण नामक एक वृद्ध भिक्षुले अब तथागत बुद्ध मरिहाले । उहाँ हुदा पो हामी नियममा बाधिएको थियौ । तर अब हामी स्वतन्त्र छौं भन्ने कुरा गरेपछि भिक्षु महाकाश्यप महास्थविरले भविष्यमा बुद्धको शिक्षा (धर्म)मा उच्छृङ्खलता आउन सक्ने, विकृति आउन सक्ने पूर्वाभास अनुभव गरे । त्यस्ता विकृति, विशृङ्खलताबाट बुद्धानुशासनलाई बचाउन र चिरकालसम्म विशुद्ध रूपले सुस्थापित गर्नुपर्ने कर्तव्यबोध गरी उनले भिक्षु महासङ्घको सल्लाह, सहमति र स्वीकृतिअनुरूप ४९९ वरिष्ठ अर्हन्त भिक्षुहरूसहित धर्म भण्डागारिक भएका, भगवान् बुद्धका अनन्य उपस्थापक भिक्षु आनन्द महास्थविरसमेत गरी ५०० जना भिक्षु सम्मिलित गरी मगधका सम्राट अजातशत्रुको संरक्षकत्वमा राजगृहको व्यवहार पर्वतको सप्तपर्णी गुफामा प्रथम सङ्गायना सम्पन्न गरे । बुद्धको महापरिनिर्वाणको तीन महिनापछि भएको सो सङ्गायनामा बुद्ध भाषित ८२ हजार धर्मस्कन्ध (समूह) र श्रावक (शिष्य) भाषित तथा बुद्धद्वारा अनुमोदित दुई हजार धर्मस्कन्धहरू गरी जम्मा ८४ हजार धर्म स्कन्धहरूको सङ्ग्रह भएको थियो । सोही प्रथम सङ्गायनाबाट संग्रहित एवं सुरक्षित भएर आएको धर्मस्कन्धहरू, गुरु शिष्य परम्पराबाट शुद्ध रूपमा अगाडि बढेको धर्मग्रन्थ नै ‘त्रिपिटक’ हो ।

बुद्धको मृत्युको १०० वर्षपछि अर्को एक सङ्गायना भएको प्रमाण पाइन्छ । त्यो समयमा १० प्रकारको अधर्मवादको प्रचार भएको थियो । त्यस सङ्गायना पनि विवाद उत्पन्न भएपछि मगधका राजा कालाशोकको संरक्षणमा दोस्रो सङ्गायना भयो । त्यसबेला महाकाश्यपको परम्परागत धारणालाई स्थविरहरूले कायम राखे, जुन शताब्दीयौँसम्म पनि अपरिवर्तनीय रूपमा लागू भइरह्यो । वैशालीको बालुकाराम विहारमा भएको सो सङ्गायनामा ७०० अर्हत् भिक्षुहरूको सहभागिता रहेको थियो भने सो आठ महिनासम्म चलेको थियो । यस सङ्गायनासँग असहमत वृजिपुत्र भिक्षुहरूले कौशाम्बीमा गई १० हजार भिक्षु सम्मिलित गरी अलग्गै सम्मेलन गरे र आफ्नै मतानुसारका धर्म र विनयको सङ्ग्रह गरे । यसरी यिनीहरूलाई ‘महासाङ्घिक’ भन्न थालियो, बुद्धको मूल शिक्षालाई जस्ताको तस्तै निरन्तरता दिँदै आएकाहरूलाई पालिमा ‘थेरवादी’ (ज्येष्ठहरूको सिद्धान्त वा मत मान्ने) वा संस्कृतमा ‘स्थविरवादी’ भन्न थालियो ।

भारतमा सम्राट अशोकको समयसम्म आइपुग्दा बुद्धधर्मका १८ वटा सम्प्रदाय (निकाय) बनिसकेका थिए । तीमध्ये महासाङ्घिकका छ वटा र स्थविरवादका १२ वटा निकाय छन् । उनै सम्राट अशोकको संरक्षणमा पाटलीपुत्रको अशोकाराम विहारमा बुद्धधर्मको तेस्रो सङ्गायना भएको थियो । अशोकको समयमा बुद्धको शिक्षामा अनेक विकृतिहरू थपिएको पाइन्छ । बुद्ध धर्मप्रति कुनियत राख्ने कैयौं बौद्ध भिक्षुहरूलाई बौद्ध समाजबाट निकाल्न तथा वास्तविक बुद्ध धर्मलाई प्रकाशमा ल्याउन, त्यसको शुद्धता कायम राख्न सम्राट अशोकले बुद्धानुशासन शुद्धिका लागि तेस्रो सङ्गायना गराएका थिए । साथै, उक्त सङ्गायनाका अध्यक्ष मोग्गलिपुत्त तिस्सले ‘कथावस्तु’ नामक ग्रन्थ रचना गरी बुद्धधर्ममा देखिएका अन्य १७ सम्प्रदायका दार्शनिक मतलाई खण्डन गरेर थेरवादलाई वास्तविक बुद्धधर्म हो भनी लागु गराए ।

गुरु शिष्य परम्परामा आधारित रहेर कण्ठस्थ गर्दै आइरहेको त्रिपिटकलाई श्रीलङ्कामा राजा वट्टगामिनी अभयको पालामा श्रीलङ्काकै आलोक विहारमा चौथो सङ्गायना गर्दा ‘त्रिपिटक’ ताडपत्रमा लेखियो । यस सङ्गायनालाई ‘पुस्तकारुढ सङ्गायना’ पनि भनिन्छ । सम्राट कनिष्कको शासनकालमा कतिपय भिक्षुहरू, विशेषतः महासाङ्घिकहरू बुद्धयानलाई मात्रै मान्ने भए र आफूलाई ‘महायानी’ भन्न थाले । तीनै यान अर्थात सम्यक् सम्बुद्ध यान, प्रत्येक बुद्ध यान र श्रावक यान मान्ने अन्य सम्प्रदायलाई ‘हीनयानी’ भन्न थाले । यसरी कनिष्कको समयदेखि बुद्धधर्म ‘महायान’ र ‘हीनयान’ मा छुट्टियो । सन् १९५० मा विश्व बौद्ध भ्रातृत्वको उद्घाटन पश्चात् पूर्व र पश्चिमका विद्वानहरूले हिनयान सम्प्रदायलाई सिध्याउन र थेरवादलाई स्थापित गर्नलाई सहमति जनाए । यही अवसरमा श्रीलङ्कामा भएको प्रथम विश्व बौद्ध सम्मेलनले हीनयानलाई थेरवाद भन्नुपर्ने प्रस्ताव पारित गरेको थियो ।

नेपालको बौद्ध धर्म र संस्कृतिको आफ्नै विशेषता छ । यहाँका बौद्ध देवदेवी, पूजाविधि, कर्मकाण्ड, चाडबाड, रहन–सहन र स्तोत्रपाठ, बाजागाजा र विविध संस्कृतिले विश्वसामु मौलिक पहिचान बनाएको छ । बौद्ध धर्ममा बज्रयान धर्मको पनि विशिष्ट स्थान छ । विशेषतः नेवार समुदायले बज्रयानका आधारमा दैनिक जीवनलाई अगाडि बढाउँदै लगेको पाइन्छ । बौद्ध धर्मका दुई प्रमुख यानहरू महायान (महासाङ्घिक) र हीनयान स्थविरवादको यहाँ उत्तिकै महत्व छ । तर, नेपालमा महायानको स्थान विशिष्ट छ । महायानअन्तर्गत बज्रयानको स्थान अझ महत्वपूर्ण छ ।

बज्रयान दर्शनअनुसार सांसारिक भोग नगरीकन वास्तविक जीवनको अनुभव हुँदैन । वास्तविक भोगविना ज्ञानवान् पनि हुन सकिँदैन । ज्ञानवान् नभई वैराग्य उत्पत्ति हुँदैन । बौद्ध धर्मको बोधिचित्त पाउन सकिँदैन । महासुखको अनुभूति गर्न सकिँदैन । महासुख नै शून्यता हो । शून्यताको प्रतीक बज्र हो । यही बज्रले अन्धकाररूपी अशिक्षा, अज्ञानतालाई समाप्त गरी निर्वाण प्राप्त गर्छ । बज्रयान धर्मअनुसार निर्वाणका मूल रूपमा तीन तत्व छन् । ती हुन्– शून्य, विज्ञान र महासुख । समष्टि रूपमा बज्रयान अन्तर्गत यो संसार शून्यबाहेक अरू केही होइन । यस मूल तात्विक कुरोलाई बोधिचित्तले बुझ्नु नै विज्ञान हो । यसरी यसभित्रको मूलकुरो बुझ्दा आउने आनन्द नै महासुख हो । महासुख भन्नाले सच्चिदानन्द, परमानन्द र वीरमानन्द हो । यी तीन तत्वको मूलतत्व नै बज्रयान हो । बज्रयानको प्रादुर्भाव यसैबाट हुन गएको हो । तसर्थ बज्रयानीहरूको स्तुपको अघि बज्रलाई स्थापना गरिएको हुन्छ र त्यसको विशेष पूजा गरिन्छ ।

बज्र भन्नाले अभेद्य, अच्छेद्य, अपरिवर्तनशील वस्तु हो । यो शून्यतामा लीन हुन सक्ने बज्रसत्व हो । बज्रयानसम्बन्धी रत्नमालामा परिभाषित गरिएअनुसार बज्र त्यो हो, जुन सदा स्थिर, सार्थक एवम् शुद्ध हुन्छ । यो तोडेर तोडिन्न, यो त सधैँ शून्य आकाश जस्तै अक्षय र अविनाशी छ । यो स्वयं आगोको ज्वाला हो, बोधिज्ञान हो, कसैले यसलाई छुन सक्दैन । यस संसारको सृष्टिको मूल आधार यस प्रक्रियालाई मानिन्छ ।

बुद्धले आफ्नो जीवनकालमा तीनपटक धर्मचक्र प्रवर्तन गरेको प्रमाण पाइन्छ । बुद्धत्व प्राप्त गरिसकेपछिको आषाढ पूर्णिमाका दिन पहिलो धर्मचक्र प्रवर्तन, ऋषिपतन मृगदावनमा पञ्चवर्गीय भिक्षुहरू कोण्डन्य, वप्प, भद्दीय, महानाम र अस्सजीलाई धर्मदेशना गर्नुभयो । यसबेलासम्म श्रावकयानको अभ्यास हुन गयो । दोस्रो बाह्रौँ वर्षावासकालमा राजगृह नगरको गृहकुट पर्वतमा रहेका शिष्यहरूलाई महायान अर्थात् बोधिसत्व चर्या र पारमिता चर्या गरी बुद्धत्व लाभ गर्ने शिक्षाको धर्मचक्र प्रवर्तन गर्नुभयो । त्यसपछि पुनः बाह्रौँ वर्षावासकालमा दक्षिण भारतको गुन्तुर जिल्लाको धान्यकटक पर्वतमा विराजमान हुँदा विशिष्ट प्रकारका शिष्यहरूलाई बज्रयान अभ्यासअन्तर्गत मन्त्र, तन्त्र, योग, प्रणायाम आदिको अभ्यास गराई बोधिसत्व चर्यापूर्ण गरी बुद्धत्व प्राप्त हुन सक्ने शिक्षा उपदेश दिनुभयो । यसलाई तेस्रो धर्मचक्र प्रवर्तनका रूपमा मानिन्छ । यसैबाट महायान र बज्रयानको विकास हुन गएको मान्न सकिन्छ ।

महायान सम्प्रदायभित्र तन्त्रयानको माध्यमले बज्रयान उपसम्प्रदायका रूपमा विकसित हुन पुग्यो । यही बज्रयान तन्त्रयानमा केन्द्रित हुन गई चार तहमा विभाजित हुन पुग्यो । त्यो हो, क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तरयोग तन्त्र । बज्रयान भक्तिप्रधान विचार हो । त्यसैले यो सम्प्रदाय अन्तर्गत बुद्धमूर्ति बनाउन थालियो । गृहस्थी भएर पनि बुद्धभक्तिद्वारा मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने भावनाले यसमा मानिसहरू अभिप्रेरित भएका छन् ।  स्वयम्भू पुराणअनुसार नेपालमा पहिलोपल्ट महामञ्जुश्री आई उनले नागहरूको वास भएको दहमा चन्द्रहास खड्गले काटी पानीलाई विस्थापित गरी मनुष्य बस्न योग्य बनाई धर्माकरलाई राजा बनाई नेपाल मण्डलको स्थापना गरे । नेपाल मण्डलको स्थापनापछि यस पुण्यभूमिमा स्वयम्भू धर्मधातु ज्योतिरूप उत्पत्ति भएपछि विभिन्न बुद्धहरूको आगमन भयो । नेपालमा प्रवेश गर्ने विभिन्न बुद्धमा दीपङ्कर, विपस्वी, विश्वभू, क्रकुछन्द, शिखी, कनकमुनि, काश्यप आदि हुन् । यस्तै यहाँस्थित ध्यानी पञ्चबुद्धहरू वैरोचन, अक्ष्योभ, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि परिकल्पना गरियो । त्यसपछि लुम्बिनी कपिलवस्तुमा जन्मेका शाक्यमुनि सिद्धार्थ बुद्ध भएपछि नेपालमा बौद्ध धर्मको महिमा निकै बढ्न थालेको पाइन्छ ।

इतिहासलाई पल्टाएर हेर्ने हो भने नेपाल मण्डलमा बज्रयानीहरूको राम्रै अवस्था थियो तर नेपालमा बौद्ध धर्मको विनाश गर्न अनेकन प्रयास समेत भएको पाइन्छ । बङ्गालको सुल्तान समसुद्दिनले इस्लाम धर्मको प्रचार–प्रसार गर्नेक्रममा नेपाल मण्डलमा आक्रमण गरी धेरै बौद्ध ग्रन्थहरू जलाउने, चैत्य, स्तूपहरू र मन्दिरहरू भत्काउने काम गरेको थियो । अहिले पनि कैयौ बौद्ध स्तुपा एवं बिहारहरू खण्डित अवस्थामा छन् । खण्डहरको रूपमा परिणत भएको पाइन्छ । साँखुको बज्रयोगिनीस्थित चैत्यलाई नै हेर्ने हो भने त्यसमा समेत आक्रमण गरिएको पाइन्छ । पछि त्यसलाई पुनर्निर्माणको क्रममा बिगार्ने काम पनि भएको छ । यहाँका बौद्ध भिक्षुहरूलाई समेत अनेकन दुःख दिई बौद्ध ग्रन्थहरू जलाइएको कैयौ प्रमाणहरू पाइन्छ ।

नेपालका बज्रयानी धर्म मान्नेहरू र हिन्दु समुदायहरूबीच धेरै समानता पाइन्छ । हिन्दुहरू झैँ बज्रयानीहरू पनि मूर्ति पूजा गर्ने, गणहरूको पुजा गर्ने, बलि दिने, समय–समयमा व्रत बस्ने, विहार एवं वही धार्मिक महत्वका स्थानमा घुम्न जाने, पूजापाठ गर्ने गर्छन् । यो धर्म पनि हिन्दु धर्म झैँ लोकोपकारी भएकाले समय–समयमा पञ्चदान गर्ने, सम्यक महादान गर्ने आदि चलन समेत यहा पाइन्छ । हिन्दु धर्मका अनुष्ठानहरू एवं पुरोहितद्वारा सम्पन्न गराए झैँ बज्रयानीहरूले पनि बौद्ध कर्मकाण्डअन्तर्गत पूजापाठ, क्रिया कर्म बौद्ध बज्रयानी पुरोहित बज्राचार्य गुरुजुबाट गराइन्छ । यहाँको नेवार बौद्ध समाजले बहुजन हिताय, बहुजन सुखाय र सह-अस्तित्वको सिद्धान्तअनुसार बज्रयान धर्मलाई अङ्गीकार गर्दै आएका छन् ।

बज्रयान र हिन्दु समाजबीच धेरै समानता पाइन्छ । पछिल्लो समयमा आएर हिनयान सम्प्रदायका थेरवादी ‘स्थविरवादी’ हरूलाई पश्चिमी समाजले आफ्नो योजना र उद्देश्य बमोजिम प्रयोग गर्दै आएको पाइन्छ । गुरू शिष्य परम्परामा बिश्वास नराख्ने र मानिस स्वयंले निर्वाण खोज्नु पर्दछ भन्ने मान्यताको कारण थेरवादीहरूमा अहंता बढ्दै गएको पाइन्छ । आफुलाई बुद्ध ठानेर आफु अनुकूलको व्याख्या गर्नाले एक थेरवादी भिक्षुको मत अर्को थेरवादी भिक्षुसँग मिल्न जाँदैन । फलस्वरूप दुई भिक्षुबीचको आपसी मतभेदलाई पश्चिमा समाजले राम्रैसँग हतियारको रूपमा प्रयोग गर्दै आएको छन् । विभिन्न कार्यक्रममा युरोपियन देशहरू घुमाउने, उनीहरूलाई डलरमा दानदक्षिणा दिने, थेरवादी शिक्षा प्रदान गरिने स्थलहरूमा पश्चिमा समाजको व्यक्तिलाई आदर्शको रूपमा दार्शनिकको रूपमा बोलाएर उनीहरू मार्फत नवभिक्षुहरूलाई ज्ञान दिने, उनीहरूकै सहयोगमा ठुला ठुला गुम्बाहरू निर्माण गर्दिने, गुम्बाभित्र सबै किसिमका ऐश आरामहरू प्रदान गर्दिने हुँदा थेरवादी भिक्षुहरू विस्तारै-विस्तारै पश्चिमाहरूको गुणगान गाउनमा व्यस्त रहेको देखिन्छ ।

फलस्वरूप पछिल्लो समयमा विभिन्न जातिको लोभी र दरिद्र किसिमका व्यक्तिहरूले थेरवादी समाजमा झण्डा गाडेर बसेका छन् । यद्यपी महाकाश्यप महास्थविरले भविष्यमा बुद्धको शिक्षा (धर्म)मा उच्छृङ्खलता नआओस, विकृति नआओस् भनेर यो समाजको शुरुवात गराएका थिए तर थेरवादी समाजभित्रको मानिस स्वयंले निर्वाण खोज्नु पर्दछ भन्ने मान्यता र हरेक व्यक्ति आफैमा एक बुद्ध हो भन्ने भाष्यको कारण उत्पन्न भएको अहंताको कारण आज बौद्ध धर्म विवादको मोडमा पुगेको छ । बौद्ध भेषमै इसाइयतको संक्रमणमा हुर्किएका थेरवादी भिक्षुहरूको कारण समाजमा अहंताको भावको बृद्धि भएको त छ नै सँगसँगै तथागत बुद्धको संदेशमाथि पनि प्रश्न चिह्न खडा भएको छ । ‘स्थविरवादी’ अर्थात थेरवादीहरूमा विकास भएको अहंतावाद र उनीहरूको पश्चिमी समाजसँगको सामिप्यता नै महाकाश्यप महास्थविरको पवित्र सोचमाथि अभिशाप भएको छ । थेरवादीहरूको बज्रयानी समाजमाथिको बढ्दो प्रभुत्व र आक्रमणको कारण नेपाली समाजको मौलिक बज्रयानी परम्परा समेत संकटमा पुगेको छ । थेरवादीहरूमाथि पश्चिमा देशहरूको बढ्दो लगानीको कारण उनीहरूको हरेक उच्च स्थानमा पकड हुनु, राज्यको उपल्लो तहसम्म पहुँच हुनु, देश विदेशमा उनीहरूको सम्पर्क बढ्नु, पत्रपत्रिका एवं मिडियाहरूमा समेत उनिहरूकै प्रभुत्व हुनु र बौद्ध विश्वविद्यालयहरूमा समेत उनीहरू कै पकड हुनुले मौलिक बज्रयानी सम्प्रदाय घट्दै गएको छ । फलस्वरूप बौद्ध समाजको युवाहरू बौद्ध मार्गबाट पलायन भएर पश्चिमाहरूको षडयन्त्रको चंगुलमा फसी धर्मान्तरणको मन्द विषको शिकार बन्न पुगेको ठम्याइ धेरै बौद्ध विद्वानहरूको रहेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया