६ आश्विन २०८१, आइतबार | September 23, 2024

माधव र बाबुराम पक्राउ पर्नबाट जोगिने दाउपेचमा देउवा यसरी बनेका थिए प्रधानमन्त्री


February 17, 2024
1.9k
Shares

काठमाडौं, ५ फागुन । ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्न सक्ने भय पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भइसकेको थियो । उनीहरु प्रधानमन्त्री हुँदाको क्याबिनेटले यो जग्गा प्रकरणमा गैरकानूनी निर्णय गरेको थियो । जुन फौजदारी अभियोग अन्तर्गत अनुसन्धान बढाइएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरा क्याबिनेटमा नपर्ने भनिएपछि नेपाल प्रहरीको सीआइबीलाई केपी शर्मा ओली नेतृत्वको सरकारले क्याबिनेट निर्णय गराएर छानविनको जिम्मा दियो २०७५ मा ।

नेपाल प्रहरीका तत्कालीन आइजीपी सर्वेन्द्र खनालले ललिता निवास प्रकरणको छानविन बढाउने साहस देखाएर तत्कालीन गृहसचिव प्रेम राईलाई आवश्स्त पारेका थिए । सीआइबीमा निर्देशक थिए निरज शाही । त्यसपछि एसपी नेतृत्वमा ६ जनाको कमिटि बनाएर छानविन बढेको थियो ।

छानविन बढ्दै जाँदा माफिया शैलीमा जग्गा हडपिएको तथ्य फेला पर्न थाल्यो । भूमाफियाले राज्य संयन्त्र चलाउनेहरुलाई नै खरिद गरी जग्गा हडपेको तथ्य फेला परेको थियो । खोज्दै जाँदा क्याबिनेटमा लगेर निर्णय गराउनेहरुको पहिचान भयो ।

भूमाफियाको प्रभावमा परेर माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छेदार समेतको मिलेमतोमा गैरकानूनी निर्णय गरी जग्गा व्यक्तिको नाममा ल्याउने परिस्थिति निर्माण गरिएको थियो । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि गैरकानूनी तरिकाले निर्णय गराइएको थियो यो मामलामा । अख्तियारले क्याबिनेटको निर्णयलाई चुनौती दिननसक्ने गरी कानून बनाइएको छ । तर, प्रहरीले फौजदारी मुद्दामा फाइल बढाएपछि माधव नेपाल र बाबुराम भट्टराई झस्किएका थिए ।

प्रधानमन्त्री रहेका केपी ओलीलाई सत्ताबाट ढाल्ने पर्खाईमा थिए प्रचण्ड । तर, उनले बलियो साथ भेटिइरहेका थिएनन् ।

आफू जेल जाने परिस्थिति बन्न सक्ने देखेपछि बाबुराम भट्टराई प्रचण्डसँग भेट्न पुगे । उनीहरुबीचको दुरी घट्यो । माधव नेपाल काँग्रेस सभापति शेरबहादुर देउवालाई मनाउन सक्रिय भए । नत्र देउवा अर्को चुनाव कुरेर बसेका थिए । ललिता निवास प्रकरणले देउवाको भाग्योदय भयो ।

प्रचण्डले पनि ओलीलाई सत्ताबाट झार्न मौका पाए । माधव नेपाल र बाबुराम भट्टराईको समर्थन पाए दुवैले । ललिता निवास प्रकरणमा जेल जानबाट जोगिनकै लागि भएपनि माधव नेपाल र बाबुरामले प्रचण्डलाई समेत मनाएर देउवालाई प्रधानमन्त्री बनाउने तयारी थालेका थिए ।

विश्वस्त स्रोतका अनुसार भूमाफिया भनिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीको पूर्वप्रधानमन्त्री माधव नेपालसँग विशेष सम्बन्ध रहेको प्रमाण त्यतिबेलै प्रहरीले फेला पारिसकेको थियो । प्रहरीले फौजदारी अभियोगमा पूर्वप्रधानमन्त्री, मन्त्रीहरुलगायतलाई मुद्दा चलाउने तयारी गरिरहँदा नै ओली सरकारमा कम्पन आइसकेको थियो ।

बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी पार्टी फुटाउने प्रयास ओलीले गरेका थिए । तर, उनी विफल भए ।

देउवाको भाग्योदय भयो । उनले नसोचेको भयो र किस्तीमा प्रधानमन्त्री पद पाए माधव नेपाल र बाबुरामको कारण । प्रचण्डले पनि आनन्दको स्वास फेरे । सत्ताको रोचक खेल भयो ललिता निवास प्रकरणका कारण ।

ललिता निवास प्रकरणमा चार्तुयतापूर्वक माधव नेपाल र बाबुराम जोगिन सफल भए । विजय गच्छेदारले पनि सजिलो गरी सास फेरे ।

अहिले अख्तियारले दायर गरेको मुद्दाको मात्र फैसला भएको छ । प्रहरीले दायर गरेको फौजदारी अभियोगको मुद्दामा फैसला हुन बाँकी छ । तर, मुद्दा दर्ता गर्दा पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईलाई जोगाइएको छ ।

प्रतिक्रिया