विद्याविहीन बन्दै विद्यालय

रमेश कँडेलः विद्यालय शब्द आहा कति सुन्दर शब्द नवीन उर्जा र विशेष भाव जागृत गराउने शब्द। विद्यालय शब्दलाई बुझ्नका लागि हामीले विद्यार्थी जीवनमा विद्यांआलय, विद्यालय अर्थात् ”विद्याको घर” लाई विद्यालय भनेर अध्ययन गर्यौँ र अहिले पनि विद्यार्थीलाई यही कुरा पढाइन्छ । सामान्य रूपमा विद्यालयको शब्द व्युत्पत्तिको बारेमा पढाउँदा बुझाउने शैली यही नै हो । साथमा जब हामी विद्या शब्दको अर्थ जान्ने प्रयास गर्दछौँ, संस्कृत व्याकरणमा ”विद् ज्ञाने” धातुबाट विद्या शब्दको व्युत्पत्ति भएको छ । विद् ज्ञाने अर्थात् जान्नु, ज्ञान प्राप्त गर्नु अर्थमा विद्या शब्दको प्रयोग भएको छ । अर्थात् विद्याको सामान्य अर्थ भनेको जान्नु, ज्ञान प्राप्त गर्नु भन्ने हुन्छ । तर यसरी विद्यार्थीलाई पढाइरहँदा र भनिरहँदा हामीले विद्यालय शब्द पछाडिको भाव, दायित्व र सङ्कल्पनालाई बुझ्ने प्रयास गर्यौ त रु कहिल्यै यसको मर्मलाई बुझ्ने इच्छाशक्ति देखायौँ त ? अहिले हामीले भनिरहेका विद्यालय साँच्चै विद्याका घर छन् रु वर्तमानका विद्यार्थी के साँच्चै विद्यार्जनका लागि र शिक्षक विद्या प्रदान गर्नका लागि प्रयासरत छन् त ? हामीमाँझ यस्ता प्रश्न गम्भीर रूपमा खडा भएका छन् । यी प्रश्नको उत्तर खोजिनुपर्छ अब । देशको समग्र शिक्षालाई सुधार गर्न पनि हामी सबैले यी प्रश्नको जवाफ खोज्नु आवश्यक छ ।
अब प्रश्न आउँछ के जान्ने रु के को बारेमा ज्ञान ? जब बालबालिका आफ्नो जन्म पश्चात्को पहिलो रोदनबाट नै जान्ने प्रवृत्तितर्फ अग्रसर हुन्छ, उसमा चेतनाको विकाससँगै आफ्नो को ? पराइ को ? म कोसँग सुरक्षित छु ? आदि परिस्थितिलाई जान्दै, बुझ्दै जीवन यात्रामा अग्रसर भइरहँदा आफ्ना माता पिता, परिवारका अन्य सदस्य, समाजका व्यक्तिहरू सबैको माध्यमबाट विविध विषयको बारेमा जानिरहेको हुन्छ । उसले परिवारबाट शब्द ज्ञान, मातृभाषा, संस्कारजन्य ज्ञान, मानवीय व्यवहार, सेवा, दया, करुणा आदि विषयको बारेमा जान्ने प्रयास गर्दछ । यो ज्ञानार्जनको यात्रामा उसले आफ्नो उमेर समूह, आवश्यक र परिस्थिति अनुसार जीवनका अनेकौँ महत्त्वपूर्ण विषयलाई जान्ने प्रयास गर्दछ । जब नयाँ नयाँ विषयको ज्ञान हासिलका लागि अगाडि बढ्दछ तब विस्तारै विद्यार्थीका लागि सामूहिकताको साथमा विद्यालयको आवश्यकता पर्दछ । सामूहिकता, सहकार्य, सहयोग र सह–अस्तित्वको साथमा व्यक्तिमा स्वयंको साथमा समाज जीवन, राष्ट्र जीवनका अनेकौँ आयामको ज्ञानको वृद्धिको आवश्यकता पर्दछ तब विद्यालयको आवश्यकता पर्दछ । तसर्थ हामीले प्राचीन समयमा गुरुकुल परम्परालाई स्थापित गर्यौँ, वर्तमान समयमा विद्यालयको निर्माण गर्यौँ ।
हामीले जान्ने कुरा गरिरहँदा हामीले सर्वप्रथम म को हुँ ? भन्ने सुन्दा सामान्य तर जान्दा असामान्य प्रश्नको जवाफ जान्नका लागि प्रयास गर्यौँ त रु म को हुँ ? मेरो अस्तित्व के हो ? मेरो जीवनको मूल्य के हो ? मेरो क्षमता, कमजोरी, जिम्मेवारी आदि के हुन् ? मेरो अरु व्यक्ति र प्राणीप्रतिको दृष्टिकोण र व्यवहार के हो ? मेरो प्रकृति र पर्यावरणप्रतिको मेरो दृष्टिकोण के हो ? मेरा लागि करणीय र अकरणीय कार्य के के हुन् ? मेरा लागि खाद्य र अखाद्य वस्तु के हुन् ? मेरा लागि उचित र अनुचित कार्य के हुन् ? मेरो जीवनका लागि आवश्यक पर्ने जीवनोपयोगी सिपहरू के के हुन् ? मेरो शारीरिक, मानसिक, बौद्धिक तथा आध्यात्मिक विकासका लागि महत्त्वपूर्ण विषय के हुन् ? यस्ता अनेकौँ प्रश्नको बारेमा जान्ने, बुझाउने प्रयास आजको विद्यालयबाट भयो त ? यदि विश्लेषण गर्यौँ भने हामी यसमा असफल रहेका छौँ । जसको परिणाम स्वरूप आजको युवावर्ग आफ्नो जीवन र जीवनको अस्तित्वलाई लिएर अत्यन्त लापरबाह रहेको छ ।
जब हामी स्वयंलाई जान्ने प्रक्रियाबाट अगाडि बढ्दछौँ अनि प्रश्न आउँछ के हामीले हाम्रो परिवार, परिवारभाव, समाज र राष्ट्रलाई जान्ने प्रयास गर्यौँ त ? हामीले हाम्रो कुल परम्परा, भाषा, संस्कृति, साहित्य, जीवन पद्धतिलाई जान्यौँ ? हामीले यो देशको इतिहास, भूगोल, यहाँका महापुरुष, साहित्य तथा संस्कृतिलाई जान्यौँ त ? देशको विगत र वर्तमानलाई जान्यौँ त ? देशको राजनीति, अर्थनीति आदि विषयमा जान्यौँ त ? यदि यस्ता प्रश्न तयार गर्दै उत्तर खोज्यौँ भने यस्ता तमाम विषयमा पनि हामी अज्ञान नै छौँ । जुन विद्यालयमा हामीले यस्ता प्रश्नको बारेमा ज्ञानार्जन गर्नुपर्ने थियो त्यहाँ हामी चुकिरहेका छौँ कि ? विचार गरौँ त ?
हामीले हाम्रो विद्यालयलाई विद्याको घर भनिरहँदा हामीले विद्यालयका भित्तामा विद्या ददाति विनयम्।।।।।।।श्लोकलाई ठूला ठूला अक्षरले लेख्यौँ । तर के हाम्रो विद्यालयका बालबालिकाले विद्यावाट विनय प्राप्त गरे त ? के त्यो विनयले उसलाई असल व्यक्ति बन्न प्रेरित गर्यो त ? त्यो असल व्यक्तिले सत्मार्ग र सत्कार्यमार्फत् धनार्जन गर्ने क्षमता विकसित गर्यो त ? के त्यो धनबाट उसले धर्मार्जन (सेवा कार्य) का लागि प्रयोग गर्यो त ? सायद यी प्रश्नको जवाफ पनि हामीसँग छैन । हामीले गुरुब्रह्मा गुरुर्विष्णु।।।। श्लोक पढाइरहँदा गुरुहरूले त्यो आचरण र चरित्रलाई विद्यालयमा खडा गर्यौँ त ?
के साँच्चै विद्यार्थीमा गुरुलाई उच्च सम्मान र आदरभावका साथ व्यवहार गर्ने संस्कारको ज्ञान हामीले विद्यालयमा दिन सक्यौँ त ? यस्ता सयौँ प्रश्नको जवाफ वर्तमान समयको शिक्षा जगत्मा सायद छैन । जसको परिणाम आज अधिकांश विद्यालय विद्याविहीन बन्दै गइरहेका छन् । गुरु ज्ञानविहीन बन्दै गइरहेका छन् । विद्यार्थी संस्कारविहीन बन्दै गइरहेका छन् । समाज मानवीय मूल्य र नैतिकताविहीन बन्दै गइरहेको छ ।
मैले यस्तो विषय लेखिरहँदा हामीले शिक्षामा केही गरेनौँ भन्ने अवश्य होइन । हामीले शिक्षामार्फत् ७० प्रतिशतभन्दा धेरै साक्षर समाज निर्माण गर्यौँ । शिक्षामा सबैको पहुँचका कुरा गर्यौँ । शिक्षामा लगानी वृद्धि गर्दै गयौँ । विश्व परिवेशमा जान सक्ने जनशक्ति निर्माण गर्यौँ । गाँउ गाँउमा दूर दराजमा पनि विद्यालय स्थापना गर्दै गयौँ । शिक्षामा धेरै सुधार भएका छन् । तर फेरि प्रश्न आउँछ । यी सबैको परिणाम समाजमा के देखिइरहेको छ त ? जति जति समाज साक्षरतातर्फ अग्रसर भइरहेको छ ? त्यति नै समाजमा समस्या किन खडा भइरहेका छन् ? जसको जवाफ सामान्य मानिसमा नहोला तर हामीले चिन्तन गर्यौँ भने हाम्रा विद्यालय विद्याविहीन बन्दै गए ।
विषय सम्बन्धी सूचना र जानकारीलाई हामीले शिक्षाको उपलब्धी मान्यौँ । विद्यालयमा हामीले पढाइरहेको शिक्षाको परिभाषालाई लियौँ भने पनि शिक्षाले भन्छ आफ्नो अन्तरनिहित क्षमतालाई चिन र प्रस्फुटन गर, तर आज हामीले विद्यालयमा व्यक्तिको त्यो अन्तरनिहित क्षमताको प्रस्फुटनका लागि आवश्यक वातावरण र क्रियाकलाप कति गरिरहेका छौँ रु विद्यार्थीको सर्वाङ्गीण विकास, उसको जीवनका लागि आवश्यक पर्ने व्यावसायिक ज्ञान, सबै गुणको विकासको अपेक्षा विद्यालयबाट गरिएको हुन्छ । विद्यालय जहाँ व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक तथा नैतिक मूल्यको विकास हुनु पर्दछ । हामीले विद्यालयबाट यी कुराको अपेक्षा पुरा गरिहेका छौँ त ? यस्ता कुरा सिक्न र सिकाउनमा केन्द्रित हुनु पर्ने हाम्रो विद्यालय शिक्षा के मा केन्द्रित भइरहेको छ ?
हामीले हाम्रो शिक्षाको मूल सङ्कल्पनालाई बिर्सँदै गयौँ । विद्याको मूल मर्मलाई हामीले भुल्यौँ । शिक्षाको उद्देश्यलाई हामीले भुल्दै गयौँ । विद्यार्थीको सिकाईलाई उसले अन्तिम परीक्षामा प्राप्त अङ्ककको आधारमा मूल्याङ्कन गर्ने अत्यन्त सङ्कुचित पद्धतिमा सिमित गरिदियौँ । जसको कारण व्यक्तिले आफ्नो जीवनका लागि आवश्यक पर्ने समग्र ज्ञान हासिल गर्न सकेन । स्वयंलाई जान्न सकेन, जीवनको मूल्य थाहा पाउन सकेन, समाज र राष्ट्रलाई चिन्न सकेन, देशको इतिहासलाई बुझ्न सकेन, देशका महापुरुषलाई सम्मान गर्न सकेन, जीवनपद्धतिलाई अँगाल्न सकेन देशप्रति श्रद्धा र गौरव गर्न सकेन ।
त्यसैले हामीले अब गम्भीर भएर चिन्तन गर्नु आवश्यक छ । वर्तमान समयमा विद्यालयभन्दा धेरै प्रशिक्षण केन्द्रका रूपमा विकसित हुँदै गरेका शैक्षिक संस्थाभित्रको निश्चित समय, निश्चित कार्य, निश्चित गतिविधि र त्यसबाट प्राप्त हुने निश्चित सफलतालाई आधार मानेर विद्यार्थीलाई प्रशिक्षित गर्दै प्रशिक्षार्थी मात्र तयार गर्ने हो कि समग्रतामा सोच्न सक्ने, रचनात्मक दृष्टिकोण राख्न सक्ने, संवेदनायुक्त र क्षमतावान् विद्यार्थी तयार गर्ने ? यसमा हामीले विचार गर्नु आवश्यक छ ।
वर्तमान समयको प्रविधिको युगमा विद्यार्थीले आफूँलाई चाहिएको सूचना वा विषयगत जानकारी उसले सजिलै प्राप्त गर्न सक्दछ तर उसको जीवनका लागि आवश्यक पर्ने जीवनोपयोगी सिपको सिकाइ, संस्कार, उमेरको वृद्धिसँगै उसमा आउने विचार र भावनालाई सही दिशा प्रदान गर्नका लागि उचित वातावरण, उचित मार्गदर्शन र अभिभावकत्व सायद उसले प्राप्त गर्न सक्दैन त्यसैले चाहेर नचाहेर गलत मार्गमा विद्यार्थी समूह अग्रसर भइरहेको छ जसको समाधानका लागि विद्यालयको वातावरण र दायित्वको बारेमा हामी सबै गम्भीर भएर सोच्दै त्यसको सुधारका लागि प्रयासरत रहनु आवश्यक छ । जसका लागि विद्यालयलाई पुनस् आफ्नो स्वरूपमा लिएर जानु आवश्यक छ । भौतिक संरचनासँगै त्यसभित्रको आत्मतत्त्वको बोधका साथ शिक्षाक्षेत्रमा सुधारका लागि प्रयासरत रहनु आवश्यक छ ।
वर्तमानमा विश्वविद्यालय आफ्नो परिकल्पना र भूमिकामा खरो उत्रिनु आवश्यक छ जसले देशका लागि कुशल, योग्य र क्षमतावान् व्यक्तिको अपेक्षा पुरा गर्न सकून्, यसको सुधारमा सबै गम्भीर बन्नु आवश्यक छ । त्यसैले हामीले हाम्रो विद्यालयको स्वरूप, मर्म र दायित्वलाई स्पष्ट पार्दै विद्यालय परिसरमा विद्यार्थीले वास्तवमै कसरी ज्ञान आर्जन गर्न सक्छन् ? उसमा व्यष्टि (व्यक्तिगत) सँगै समष्टि (सम्पूर्ण) को चिन्तन गर्न सक्ने क्षमताको विकास कसरी हुन सक्छ रु यसमा सबै पक्ष जिम्मेवार बन्दै विद्यालयलाई नामको होइन, कामको विद्यालय बनाउनतर्फ अग्रसर हुनु आजको अपरिहार्यता र महत्त्वपूर्ण चुनौती पनि हो । हामी सबैलाई विद्याका उपासक बन्न सक्ने सद्बुद्धि र सद्ज्ञान माता सरस्वतीबाट प्राप्त होओस् ।