२३ आश्विन २०८१, बुधबार | October 9, 2024

राष्ट्रपति पौडेलले गार्गी कन्या गुरुकुलद्वारा आयोजित महायज्ञ उद्घाटन गर्दै भनेः नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल


February 13, 2024
1.2k
Shares

काठमाडौँ, १ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताएका छन् । गार्गी कन्या गुरुकुलद्वारा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको मंगलबार उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त समेत गरे ।

राष्ट्रपति पौडेलले कन्यालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । “समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्छ,” उनले भने।

देशमा रहेका गुरुकुलमा कन्यालाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसबाट उनीहरुलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष भएको राष्ट्रपति पौडेलको भनाइ थियो । ऋषिमुनि र तपस्वीको आदर्शको अनुशरण गर्दै देवघाटधाममा सन्त महात्माले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताए ।

राष्ट्रपति पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गरे।

बागमती प्रदेशका पर्यटनमन्त्री पुकार महर्जनले वैदिक सनातन संस्कृतिसँग जोडिएको गार्गी गुरुकुल विद्याश्रमको विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले गार्गी गुरुकुलको विकासका लागि प्रदेश सरकारले रु ४५ लाख सहयोग गर्ने आश्वासन दिए।

भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेनुु दाहालले कन्यालाई नैतिकवान र योग्य नागरिक बनाउनका लागि गार्गी गुरुकुलबाट सहयोग पुग्ने बताइन् । उनले गार्गी कन्या गुरुकुलको विकासका लागि भरतपुर महानगरपालिकाले सहयोग गर्ने बताइन् । महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक डा गोविन्द टण्डनले नारीलाई आध्यात्मिक चेतना जागृत गराउने उद्देश्यले २०७५ सालमा गार्गी कन्या गुरुकुल विद्याश्रम स्थापना गरिएको जानकारी दिए । १ फागुन देखि सुरु भएको श्रीमद् भागवतमहायज्ञ यही फागुन ९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया