२९ आश्विन २०८१, मंगलबार | October 15, 2024

ब्राह्मण : शरणार्थी कि अनादिवासी ?


February 2, 2024
10.4k
Shares
सन्तोष आचार्य: इतिहासलाई आधार बनाउने हो भने, वर्तमान भारतमा मुस्लिम समुदायको प्रवेश ७औ शताब्दीमा भएको मानिन्छ । नेपालको सम्बन्धमा हेर्ने हो भने, १४औँ शताब्दीमा बङ्गालका सुल्तान समसुद्दीनले नेपालमा आक्रमण गरेर यहाँका देवल, मठमन्दिर र चैत्यहरूमा आक्रमण गरेको र यहाँका असंख्य हिन्दु एवं बौद्ध धर्मसँग सम्बन्धित मूर्तिहरू टुक्र्याएको इतिहास पाइन्छ । बौद्ध ग्रन्थलाई नै आधार बनाउने होभने बुद्धले सम्यकसम्वोधि प्राप्त गरिसके पश्चात उनले नेपाल र भारतको असंख्य स्थानहरूमा गएर दु:ख निवारण सम्बन्धी आफुलाई प्राप्त भएको महाज्ञान बाढ्न रातदिन लागिपरेका पाइन्छ । यसै क्रममा बुद्धको पिता रोगी भएपछि सिद्धार्थलाई पालन पोषण गर्ने उनको सौतेनी माता गौतमी (प्रजापती)को आग्रहमा एक पटक उनी आफ्नो राज्य फर्किएको र यहाँ आएर उनले ब्राह्मणसँग शास्त्रार्थ गरेका थिए भनेर बौद्ध धर्मका कैयौं अट्टकथाहरूमा पढ्न पाइन्छन । बौद्ध धर्म भित्रका यिनै कुरालाई आधार मान्ने हो भने सिद्धार्थ गौतमले २५०० वर्ष पूर्व यही भूमिमा ब्राह्मण समुदायसँग शास्त्रार्थ गरेका थिए ।
सिद्धार्थ गौतमका बाबुको नाम शुद्धोदन हुनु, उनको वास्तविक नाम सर्वार्थसिद्ध हुनु र यही सर्वार्थसिद्ध शब्दको छोटकरी नाम नै ‘सिद्धार्थ’ राखिनु, सिद्धार्थको श्रीमतीको नाम यशोधरा हुनु, उनीहरूको एक पुत्रको नाम समेत राहुल राखिनु, आमाको नाम मायावती हुनु र मायावतीको मृत्यु पश्चात गरिएको क्रियाकर्मको विधान हिन्दु संस्कारमा आधारित हुनु, सौतेनी आमाको नाम गौतमी (प्रजापती हुनु, सिद्धार्थको पत्नीको नाम यशोधरा (गोपा) हुनु र यशोधराको बुवाको नाम दण्डपाणि हुनु आदिले पनि उनको संस्कार र जीवनपद्धति कुन धर्मको आधारमा अघि बढेको थियो भन्ने कुराको सहजै आंकलन गर्न सकिन्छ ।
सर्वार्थसिद्धको जन्म पश्चात उनको भविष्यवाणी गरिनु, उनको चिना हेरिनु, चिनामा आधारित कुरालाई लिएर उनको त्यही अनुसार दरबारभित्रै पालन पोषण गरिनु आदि सबै कुरालाई हेर्दा उनी हिन्दु संस्कारद्वारा संस्कारित भएका पाइन्छन् । सर्वार्थसिद्धको ब्रतबन्ध गरिनु, यशोधरासँग विवाह गर्दाको पद्धति र प्रक्रिया आदिलाई हेर्दा र उनले गृह त्याग गरेर संन्यास धारण गर्दा अपनाएको विधि अर्थात लौकिक वस्त्र त्याग गरेर चिवर (सन्त वस्त्र) धारण गर्नु, संन्यास धारण गर्दा टुप्पीसमेत नराखी कपाल मुण्डन गर्नु आदि सबैलाई हेर्दा उनी हिन्दु संस्कृतिका अनुयायी रहेको प्रष्ट बुझिन्छ ।
बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि उनले ब्राह्मणसँग शास्त्रार्थ गरेको प्रमाणलाई नै आधार बनाउने हो भने पनि आजभन्दा २५०० वर्षपूर्व नै यहाँको समाजमा हिन्दु संस्कृति व्याप्त थियो भन्ने बुझ्न सकिन्छ । कैयौं बौद्ध ग्रन्थलाई पुष्टि गर्ने अट्टकथाहरूलाई हेर्ने हो भने गौतम बुद्ध यहाँ विद्यमान जाति प्रथाबाट चिन्तित भएको, मुर्ती पूजा उत्कृष्ट बिन्दुमा रहेको, र बुद्धको विरोध गर्ने ब्राह्मणहरू नै अन्तत: उनको शिष्य बनेको प्रमाण प्रशस्त पाइन्छ । बुद्धकै पहिलो शिष्य कौडिन्यकै जीवन इतिहास हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ ।
पछिल्लो समयमा इतिहासलाई बंग्याएर आफु अनुरूपको व्याख्या गर्न थालिएको छ । बुद्धसँग नेपाली भूमिमा शास्त्रार्थ गर्ने ब्राह्मणहरू भएको तथ्यलाई बौद्ध धर्मभित्रकै अट्टकथा प्रमाणित गर्दैगर्दा स्वयंलाई बुद्धिष्ट हुँ भनेर भन्नेहरूले नै ब्राह्मण भनेको मुसलमानले भारत बाट खेदाएपछि नेपाल छिरेका हुन् भन्नु आफैमा हास्यास्पद छ ।
बुद्ध धर्म नै वास्तवमा ब्राह्मणद्वारा परिपोषित भएको देखिन्छ । बुद्धको वाणी र उपदेश संग्रह गरिएको धम्मपदभित्र भएको “ब्राह्मण वग्ग”मा एक पूरा अध्याय ब्राह्मणको स्तुति गाइएको छ । बुद्ध स्वयंले ब्राह्मण भनेको विद्वान वर्ग हुन् यिनीहरूलाई नचलाउनु, यिनको अपमान नगर्नु भनेर भनेका छन् । मज्झिम निकायमा बुद्धले ब्राह्मणका पाँच विशेषताहरूको वर्णन गरेका छन् । सत्य, तपस, ब्रह्मचर्य, अज्जहेना (अध्ययन) र त्याग भनेर विशेषतालाई वर्गीकरण गरेका छन् । अस्सालयन सुत्तमा गौतम बुद्धले मानिसको कर्मद्वारा सर्वश्रेष्ठ भनेको ब्राह्मण हो भनेर उल्लेख गरेका छन् । नागसेनको मिलिन्द पोह मा एक कहानी आउँछ जसमा गौतम बुद्धले स्वयंलाई आफु कर्मले ब्राह्मण भएको उल्लेख गरेका छन् ।
विनयपिटकको महावग्गमा गौतम बुद्धले भनेका छन् कि वेद भनेको दस जना ब्राह्मण अर्थात अत्रि (अत्तको), वामको, वामदेव, विश्वामित्र (वस्समित्तो) जमदग्नि (यमतग्गी), अंगरसो, भारद्वाज, वशिष्ठ, कश्यप र भ्रगु ऋषिद्वारा दिइएको ज्ञान हो जुन सत्य, असली, शुद्ध र पवित्र छ । बुद्धको मुख्य शिष्य शारीपुत्र पनि ब्राह्मण थिए, जो अश्वजीत (अस्सजी) ( का सन्तान थिए । उनैले अभिधम्म दर्शनको शुरुवात गरेका थिए । बुद्धका अर्का शिष्य मुद्गलयान पनि ब्राह्मण नै थिए ।
महायान दर्शनका फाऊन्डर कश्यप पनि ब्राह्मण नै थिए । बौद्धधर्म भित्रको थेरवाद सिद्धान्तको प्रवर्तक नागार्जुन र अश्वघोष पनि ब्राह्मण नै थिए । वज्रयान सम्प्रदायको संस्थापक बुद्धघोष पनि ब्राह्मण नै थिए । तिब्बती बौद्ध धर्मको प्रवर्तक पदमसंम्भव पनि ब्राह्मण नै थिए । जेन बौद्ध धर्मको  फाउन्डर बोधिधर्म पनि ब्राह्मण नै थिए । कुंग फू स्कुलको संस्थापक कुमारजीव पनि ब्राह्मण नै थिए । बोधिधर्मन र कुमारजीव यी दुईले नै सर्वप्रथम बौद्धधर्मलाई चीनमा फैलाएका थिए ।
आर्यदेव जसले श्रीलंकामा बुद्धिज्म फैलाए, जसलाई त्यहाँ बोधीदेव नामले चिनिन्छ उनी पनि ब्राह्मण थिए । नागसेन, जसले ग्रीक राजा मिलिन्दलाई बौद्ध दर्शनद्वारा दीक्षित गरेका थिए, उनी पनि ब्राह्मण थिए । जसले सबैभन्दा पहिला बुद्धचरित्र रचना गरेका थिए । शान्तिदेव जसले सर्वप्रथम बोधीसत्वको पद्धति समाजमा फैलाएका थिए, उनी पनि ब्राह्मण थिए । धर्मकीर्ति जसले तर्कशास्त्रको रचना गरे, ती पनि ब्राह्मण थिए । बुद्धको प्राय: सबै शिष्य ब्राह्मण थिए । धम्मचक्र र चार आर्य सत्य पनि ब्राह्मणहरूकै देन हुन् । राहुल सांकृत्यायन पनि ब्राह्मण नै थिए । तक्षशिलामा त्यो समयमा पढाउने सबै गुरूहरू ब्राह्मण थिए । तर पनि ब्राह्मणकै विषयलाई लिएर कुतर्क गर्नु आफैमा हास्यास्पद छ ।
बुद्ध स्वयं मूर्ती परम्पराको विरोधी थिए । तर पनि विदेशीहरूबाट परिचालित एकथरी समुह यहाँ बुद्धको मूर्ति नै हिन्दुले मन्दिरमा परिणत गरेका हुन भनेर बुद्धको आकृतिलाई नै मन्दिर र आकारमा ढाल्न व्यस्त छन् । बुद्धले मूर्ति परम्पराको विरोध गर्नुको अर्थ यहाँ हिन्दु मन्दिर बुद्ध आउनु पूर्व नै विद्यमान थियो भन्ने बुझिन्छ । बुद्धअघि नै यहाँ हिन्दु मन्दिरहरू थिए र त्यो समयमा मूर्ति पुजन परम्परा उत्कर्ष बिन्दुमा भएकाले मूर्ति कै कारण समाजमा विभेद व्याप्त थियो । फलस्वरूप बुद्धले मूर्ति पूजाको बिरोध गरेको थिए । एकातिर बुद्ध मूर्ति पूजाको बिरोधी थिए भनेर तर्क गर्ने अनि अर्कोतिर हिन्दु मन्दिर भनेको बुद्ध कै मुर्ती हो भन्ने विरोधाभासपूर्ण कुराले समाजमा बौद्ध संस्कृतिमाथि नै प्रश्न-चिह्न खडा गरेका छन् ।
भारतमा अरबिक क्षेत्रबाट मुस्लिमको आगमन ७औं शताब्दीमा अर्थात् १३०० वर्ष पूर्व भए पनि उनीहरू त्यो समयमा व्यापारीको रूपमा मात्रै भित्रिएका थिए । मोहम्मद बिन कासिमले ७औं शताब्दीमा सिन्ध समुदायमाथि आक्रमण गरेको थियो । स-साना समुदाय र जातिहरुमा आक्रमण गर्दै उनीहरूलाई दासको रूपमा प्रयोग गर्दै गएपछि १२औं शताब्दीमा आएपछि बल्ल मुस्लिमले भारतमा आफ्नो साम्राज्यको विस्तार गरेको पाइन्छ र त्यो समयमा आएर असंख्य भारतीयहरू मुस्लिम बर्बरतालाई सहन नसकेर त्यहाँबाट विस्थापित भएको इतिहास पढ्न पाइन्छ ।
भारतमा मुगलको आक्रमणमा परेर केही ब्राह्मणहरू नेपाल आएको इतिहास पनि सत्य नै हो । तर, मानिसको प्रकृतिलाई हेर्ने हो भने मानिसले शरण पर्न पनि त्यहाँ मात्र जान्छ जहाँ आफू जस्तै समुदायका मानिस, समाज र धर्मको विकास भएको छ । यद्यपी पृथ्वीमा असंख्य देश, दिशा र भूमि हुँदाहुँदै पनि उनीहरू भागेर १५औं शताब्दीमा वर्तमान नेपालमा नै आउनु भनेको आपसी संस्कारको समानता नै हो । वर्तमान समयमा भारतको आसाम क्षेत्रबाट आउने मानिसहरूलाई हेर्ने हो भने उनीहरू पूर्वी नेपालमा धेरै बसोबास भएको पाइन्छ । किनभने उनीहरूको कुटुम्ब, ससुराल, वैवाहिक आफन्ती, नातागोता आदि त्यहीं वरिपरि रहेका छन । मुस्लिम समुदाय पनि असंख्य मात्रामा नेपालमा आएर बसेका छन् । उनीहरू पनि आएर त्यही ठाउँमा बसेका छन् जहाँ मुस्लिम दाजुभाइको बसोबास रहेको छ । हिन्दु समाज पनि सकेसम्म हिन्दुकै वरिपरि बस्न रूचाउँछ यो वास्तविकता हो ।
माओवादीकै द्वन्द्वकाललाई हेर्ने हो भने पनि माओवादीको कारण असंख्य मानिस गाउँबाट विस्थापित भए । तर जति पनि मानिस विस्थापित भए ती सबै मानिस उक्त गाउँका धनी, शिक्षित, उद्यमी व्यक्तिहरू थिए । उनीहरूले आफ्नो गाउँ छोडेर त्यहाँ गएर बसे, जहाँ उनीहरूको भाषा, रहनसहन, धर्म, संस्कार मिल्दथ्यो । द्वन्द्वको कारण विस्थापित हुने भनेको सधै सम्भ्रान्त एवं शिक्षित परिवार हुन्छन्; न कि गरीब । तसर्थ मुगलको आक्रमणमा ज्यान जोगाएर भाग्नेहरू पनि आर्थिक, एवं सामाजिक रूपले सम्पन्न र शारीरिक रूपमा पक्कै सुन्दर थिए । किनभने मुस्लिम शासकले सम्पत्ति र स्त्रीलाई सदैव आफ्नो तारो बनाउथ्यो ।
हिन्दु र मुस्लिम समुदायमा मात्र किन ? किराँती समुदायले समेत घडेरी किन्नु पर्र्यो भने सकेसम्म किराँत बस्तीतिरै खोज्दछन् । नेवारले नेवार बस्तीमै खोज्दछ,  मधेशीले मधेशी समाजमै अनि पहाडेले पहाडे समाजमै जमिन खोज्ने गर्दछन् । मानिसले घर बनाएर बस्नलाई घडेरी हेर्दा जहिले पनि आफ्नो रहनसहन, भाषा, संस्कृति मिल्दो समाजलाई पहिलो प्राथमिकतामा राख्दछ । मुस्लिम आक्रान्ताको कारण भारतबाट खेदाइएकाहरू पनि हिन्दु समाज खोज्दै हिन्दु समाजमै आएर शरण लिन पुगेको कुरालाई नकार्न सकिदैन । खेदिनेहरू प्रायः शिक्षित र प्रतिभावान हुन्छन । तसर्थ उनीहरू भित्रको बौद्धिकताको कारण, भाषा र साहित्यमा उनीहरूकै पकड र वर्चस्वता भयो । फलस्वरूप उनीहरूले लेखेको जीवन वृत्तान्त कालान्तरमा गएर इतिहास बन्न पुग्यो र त्यसैलाई प्रमाणको रूपमा लिइयो । अन्यथा मुस्लिम भारतमा आउनुअघि नै यहाँ बुद्धसँग शास्त्रार्थ गर्ने ब्राह्मण थिए भने फेरि कहाँबाट १५औं शताब्दीमा मुस्लिमले खेदाएर ब्राह्मण नेपाल आएको कुरा सत्य भयो ?
कयौं ब्राह्मण जातिहरूलाई उनीहरूको कर्म र ज्ञानको कारण खुशी भएर विभिन्न कालखण्डमा विभिन्न जातीय राजाले विर्ता दिएको जमिन र कागजात अझै पनि नेपाली इतिहासको पानामा संरक्षित छन् । रेग्मी, भट्टराई, दाहाल, आचार्य आदिको विर्ता नै पल्टाएर हेरियो भने पनि १७०० वर्ष अघिको परिधिलाई भेट्न सकिन्छ । विर्ता भनेको तात्कालीन शासकले लिखित रूपमा लालमोहर जारी गरेर बक्सिस वापत दिइने जमिन हो । डलरे, इसाई, कम्युनिस्ट र सेक्युलरवादीहरूले भने जस्तै यदि नेपालमा हिन्दुहरू १५औं शताब्दीमा मात्र आएका हुन् भने उनीहरूको इतिहास केवल ५०० वर्षको हुन्छ । समाजशास्त्र एवं मानवशास्त्र अनुसार  १०० वर्ष भनेको मानिसको ४ पुस्ता हुन्छ । यदि ब्राह्मण नेपालमा १५ औं शताब्दीमा मात्र आएको हो भने ५०० वर्षको इतिहासमा उनीहरूको यहाँ जम्मा २० पुस्ताको इतिहास मात्र हुनुपर्ने हो । तर उनीहरूको वंशावलीमा हेर्ने हो भने जुम्ला, सिंजादेखिको वंश इतिहास ५३ पुस्ताभन्दा माथिको नाम र वंश सहितको पूर्ण आधिकारिक विवरण पढ्न पाइन्छ र त्योभन्दा अघिको इतिहास हेर्ने हो भने आफूहरू अर्को कुनै थर भएको पुर्खाबाट छुट्टिएको प्रमाण पाइन्छ ।
हिन्दु धर्म अन्तर्गतकै मठ-मन्दिरलाई हेर्ने हो भने २००० वर्ष पुराना कैयौं मठ-मन्दिर छन् । त्योभन्दा अघिका पनि होलान् तर भत्किएर संरक्षणको पर्खाइमा बेवारिसे अवस्थामा रहेका होलान् । चाँगुनारायणकै इतिहासलाई हेर्ने हो भने पनि यो मन्दिरको इतिहास ३००० वर्ष पुरानो भएको कुरा विश्व सम्पदा सूचीमा कार्बन डेट टेस्टिंग गरेर सूचिकृत गरिएको छ । बुद्धकै चेलाहरूलाई हेर्ने हो भने ती सबै श्रमणा ब्राह्मण छन् । मौर्य सम्राट अशोकका लेखमा हेर्ने हो भने “श्रमण ब्राह्मण” शब्द असंख्य ठाउमा उल्लेख गरिएको पाइन्छ । सबरीलाई पनि रामायणमा श्रमणा नामले बोलाइएको पाइन्छ । उनको नाम सबरी नभएर त्यो त उनको जात थियो । उनको वास्तविक नाम श्रमणा थियो, जो भिल्ल जातिको थिइन् । बौद्ध समाजमा पनि श्रमणा शब्दले स्त्री जातिलाई संकेत गर्दछ ।
अधिकांस प्राचीन बौद्ध-ग्रन्थहरू ब्राह्मणले नै लेखेका छन । बुद्धले ज्ञान प्राप्ती गरे पश्चात् उनी नेपाल आएको र शुद्धोधनले समेत उनलाई प्रणाम गर्नुका साथै ज्ञान प्राप्तिपछि उनले यहाँ बसेर ब्राह्मणसँग शास्त्रार्थ गरेका थिए भनेर उल्लेख गरिएको पाइन्छ । जतिखेर बुद्ध थिए त्यो बेलामा मुस्लिम र इसाई धर्मको शुरुवात नै भएको थिएन । यदि ब्राह्मण समुदाय भारतमा मुस्लिमले खेदाएपछि बल्ल नेपाल आएका थिए भने त्यो वेलामा बुद्धसँग शास्त्रार्थ गर्ने ब्राम्हण चाहिं यहाँ कहाँबाट आए ? कि मुस्लिम समाजको उत्पत्तिको इतिहास १५०० वर्षको, भारतमा उनीहरूको आयातित इतिहास १३०० वर्षको अनि नेपालमा चाहिं मोहम्मद पैगम्बर जन्मिनुपूर्वनै मुस्लिम २५०० वर्षअघि नै आएर साइन्स-फिक्सन फिल्मी शैलीमा भूतकालमा “टाईम मेशिन”बाट ट्राभल गरेर बाहुनलाई खेदाएसी ती भारतबाट नेपाल आएका हुन् ? विषय हास्यास्पद छ ।
यसरी ऐतिहासिक सत्य-तथ्यलाई बंग्याई विदेशीहरूद्वारा षड्यन्त्रपूर्वक नेपाली-नेपालीबीच जातीय द्वन्द्व सिर्जना गर्न मनगढ़न्ते भ्रमको खेतीमा नेपालका केही तप्काका मानिसहरू किन दौडिएका छन्, यो अत्यन्त विचारणीय छ । क-कसले यस्ता विष-वृक्ष रोपेका छन् र केको निम्ति यहाँका केही मानिस पिछलग्गू बनेका छन् भन्ने तर्फ अब सचेत नेपालीले राम्रोसँग बुझ्न थालेका छन् ।

प्रतिक्रिया