६ आश्विन २०८१, आइतबार | September 23, 2024

प्रधानमन्त्री पदको प्यासले छटपटी


February 1, 2024
913
Shares

काठमाडौं, १६ माघ । देशमा प्रधानमन्त्री घुम्ने कुर्सी जस्तै चलिरहेको छ जुन तीन जनाको वरिपरि झण्डै एक दशकदेखि चलिरहेको छ । कहिले प्रचण्ड कहिले शेरबहादुर देउवा त कहिले केपी शर्मा ओली ।

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका छन् । गठबन्धनको भद्र सहमति अनुसार उनी अब एक वर्ष प्रधानमन्त्री बन्नेछन् । उमेरले ७० टेक्न लागेका प्रचण्डका लागि सम्भवत यो अन्तिम प्रधानमन्त्रीकाल हुनसक्छ । उनको दलको खस्कदो हालतले पनि यही देखाउँछ । फेरि शक्तिमा फर्कने आधार बनाउन उनी कहिले पूर्वमाओवादीबीच एकता त कहिले कम्युनिष्ट शक्तिबीच एकताको एजेण्डालाई अस्त्रका रुपमा फालिरहेका छन् ।

देशमा ३२ वर्षदेखि सत्ताको वरिपरि रहेका पात्र हुन् शेरबहादुर देउवा । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवा पाचौंपटक प्रधानमन्त्री बनिसकेका छन् । उनी छैठौंपटक प्रधानमन्त्री बन्ने पर्खाईमा छन् । गठबन्धनको भद्र सहमति लागू भएमा देउवा अबको दुई वर्षपछि दुई वर्ष प्रधानमन्त्री बन्नेछन् । काँग्रेस सभापतिका रुपमा उनको दुई कार्यकाल यहीबीच सकिनेछ । विधान अनुसार भएमा उनी कि त प्रधानमन्त्री बन्दैनन् बनेमा पनि अन्तिमपटक बन्नेछन् ।
देउवाको उमेर पनि ८० पुगिसकेको छ । उमेरले पनि उनलाई कठिन छ । तर, सत्तामा टाँसिइरहने प्रवृत्ति देशमा रहेकाले उमेर जति ढल्किएपनि फेरि फर्कने दाउमा देउवा नरहलान् भन्न सकिदैन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि ७० कटेका छन् । तीनपटक प्रधानमन्त्री बनिसकेका ओली गठबन्धन कायमै रहेमा अझै चार वर्ष प्रधानमन्त्री बन्न सक्ने सम्भावना छैन । अर्को चुनावसम्म धेरै कायापलट भइसक्ने देखिदैछ । यसकारण पनि ओली फेरि प्रधानमन्त्री बन्ने सम्भावना कमजोर छ । उनी तैपनि राजनीतिक गोटीहरु चालिरहेका छन् ।

ओली गठबन्धन फुटाउने रणनीतिमा छन् । प्रचण्ड या देउवा एकलाई आफ्नो साथमा ल्याउने उनको प्रयास चलेको छ । तर, सकिरहेका छैनन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एकपटक मात्र प्रधानमन्त्री बनेका छन् । ७० कटेका उनी अबको एक वर्षपछि प्रधानमन्त्री बन्ने पर्खाईमा छन् । एमाले फुटाएको र गठबन्धन निर्माण गरेको जस लिदै प्रधानमन्त्री बन्ने उनको प्रयास देखिन्छ । उनको पार्टी कमजोर भइसकेकाले या त उनी अन्तिम एकपटक प्रधानमन्त्री बन्नेछन् या त बन्ने छैनन् ।

नेकपा एसकै अर्का नेता झलनाथ खनाल एकपटक प्रधानमन्त्री बने । ७५ वर्ष केटका उनको राजनीतिक शक्ति क्षीण भइसकेको छ ।

पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराईलाई अस्थिर राजनीतिक चरित्रको नेता मानिन्छ । उनी एकपटक प्रधानमन्त्री भएपछि फरक दल र सिद्धान्तमा चल्न थाले । राजनीतिक रुपमा कमजोर बन्दै गएका बाबुराम पनि फेरि प्रधानमन्त्री बन्ने सम्भावनामा पूर्णविराम लागिसकेको छ ।

प्रधानमन्त्री बनिसकेकाहरुको पदको प्यास अझै मेटिएको छैन । उनीहरुलाई चुनौती दिन नयाँ पुस्ताले सकिरहेको छैन । नत्र बेथिती र विसंगतिको कारक देखिएका नेताहरु उहिल्यै राजनीतिबाट बिदा भइसकेका हुन्थे ।

प्रतिक्रिया