१२ श्रावण २०८१, शनिबार | July 27, 2024

छिन्नभिन्न राजावादी


January 29, 2024
83
Shares

काठमाडौं, १५ माघ । देशमा राजावादीको मात्र नभई पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सक्रियता बढेको छ । शाह तराईका जिल्लाको दौडाहामा छन् । उनी नागरिक अभिनन्दन लिने देखि सार्वजनिक भाषण पनि गर्न थालेका छन् ।

पूर्वराजा शाहको सक्रियता बढ्दा राजावादीहरु भने छिन्नभिन्न अवस्थामा छन् । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, कमल थापा नेतृत्वको राप्रपा नेपाल, केशरबहादुर बिष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपाल मुख्य राजावादी दल हुन् । राजावादी छिन्नभिन्न छन् नै उनीहरुभित्र पनि शक्तिसंघर्ष चलिरहेको छ ।

राप्रपाभित्र विभिन्न समूह उपसमूहबीच टकराव छ । पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ र धबल शमशेर राणाको फरक गुट छ । पूर्वपञ्चको दलको रुपमा राप्रपाको पहिचान कायम रहनुमा त्यहाँभित्रको परम्परागत सोच र कार्यशैली पनि कारण हो ।

राजसंस्था फर्काउने अभियानमा पछिल्लो समय दुर्गा प्रसाईँ पनि देखिएका छन् । मेडिकल व्यवसायी प्रसाईँको चर्चा निकै छ । उनले पूर्वराजा शाहलाई राजनीतिक मञ्चमा पहिलोपटक ल्याउन सके । १५ माघमा पूर्वराजा शाहलाई भेटेका प्रसाईँले आफूलाई समर्थन रहेको उल्लेख गरेका छन् । उनले राप्रपा अध्यक्ष लिङ्देनलाई पूर्वराजाले विश्वास नगर्ने समेत दाबी गर्दै आफूलाई नै अगाडि बढ्न भनेको दाबी गरेका छन् ।

राजावादीबीच आफू मुद्यामा केन्द्रित हुने भन्दा पूर्वराजाको आशिर्वाद थाप्ने प्रतिष्पर्धा छ । उनीहरु पूर्वराजासँग भेटेर तस्बिर हाल्ने प्रतिष्पर्धा पनि गरिरहेका छन् ।

हालैमात्र राप्रपाको नेतृत्वपंक्तिले पूर्वराजा शाहलाई सामूहिक भेटेर तस्बिर नै राख्यो । तस्बिरमा राजेन्द्र लिङ्देन, बुद्धिमान तामाङ, धबल शमशेर जबरा, रवीन्द्र मिश्र देखिएका थिए । तस्बिर राख्ने प्रतिष्पर्धामा दुर्गा प्रसाईँ पनि छन् ।
पूर्वराजा शाहमा छटपटाहट पनि देखिन्छ । उमेर चढ्दै गएपछि उनमा जतिसक्दो छिटो गद्दीमा फर्कने हुटहुटी छ । राजसंस्था उनकै पालमा अन्त भएकाले आफू छँदै पुनः स्थापित गर्ने प्रयासमा छन् । यसकारण पनि कोबाट पार लाग्ला भन्नेमा चिन्तित छन् ।

शाहले राजावादीलाई मिलाउन पनि खोजेका छन् । तर, एकले अर्काको नेतृत्व स्वीकार त परै जाओस् सक्रियता समेत मन नपराउने स्वभावका राजावादीहरु मिल्न कठिन देखिन्छ । उनीहरु मुद्यामा भन्दा पनि व्यक्तिगत लाभहानीमा केन्द्रित भइरहेका छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया