२३ भाद्र २०८१, आइतबार | September 8, 2024

नेपालका कम्युनिस्टलाई मिलाउन चिनियाँ सक्रियता


January 28, 2024
249
Shares

काठमाडौं, १४ माघ । चिनियाँ कम्युनिस्ट पार्टीकी उपमन्त्री सुन हायानको टोली मालदिभ्सबाट बँगलादेश हुँदै नेपाल आयो । मालदिभ्समा चीनले आफू अनुकूलको मोहम्मद मिज्जूलाई राष्ट्रपति बनाउन सफल भएसँगै भ्रमण भएको हो ।

मिज्जुले राष्ट्रपति भएपछि विदेश भ्रमण भारतबाट सुरु गर्ने मालदिभ्सको परम्परालाई परिवर्तन गर्दै चीनबाट भ्रमण सुरु गरे । उनी यसै महिना चीन पुगेर फर्किए । भारतसँग मिज्जु सरकारको तनाव बढेको छ । ठिक त्यही समयमा चिनियाँ उपमन्त्री माले पुगेर महत्वपूर्ण सम्झौता गरिन् । त्यहाँबाट पुनः चुनाव जितेकी बँगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटिन् । चीनले दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन रणनीतिक सक्रियता बढाइरहेको छ ।

चिनियाँ उपमन्त्री हायान शुक्रबार नेपाल आएर महत्वपूर्ण भेटवार्ता गरिन् । शनिबार प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटिन् । तीनैजना कम्युनिस्ट नेतासँग उनको भेट अर्थपूर्ण रहेको छ । हायानले भेटवार्ताहरु गरिरहँदा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बीआरआइको महत्वमा जोड दिने गरी बोले । बीआरआई अनुदानमा नभई ऋणमा भएकाले अस्वीकार गर्ने नेपाल सरकारको नीति रहेको छ ।

हायान नेपालमा रहँदा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी घटकहरुको एकतामा जोड दिए । उनले पहिले पूर्वमाओवादीलाई एक बनाउन अनि कम्युनिस्ट एक बनाएर जाने विषयमा जोड दिन थालेका छन् । यसैको आधार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता बढाएका छन् । बालुवाटारमा यतिबेला वर्षमान पुन फेरि हावी भएका छन् । उनी कम्युनिस्टहरु मिलेर जानुपर्ने पक्षमा छन् ।

विगतमा जस्तै आउँदो चुनावमा एमाले र माओवादी मिलेर जानुपर्ने एजेण्डामा एकाथरी देखिएका छन् । यसमा चिनियाँ चासो पनि देखिएको छ । विगतमा कम्युनिस्टहरुलाई एक बनाउन चीनले भूमिका खेलेको खुलिसकेको छ । फुट्न लाग्दा पनि चिनियाँ अधिकारीहरु आएर एक बनाउन दबाब दिइरहे तर सफल हुन सकेनन् ।

अहिले चिनियाँ अधिकारीहरुको दौड बढेको छ । उनीहरुको मुख्य एजेण्डामा कम्युनिस्टहरुको एकता पनि रहेको छ । यसको माहोल तयार गर्दै लगेका छन् । कुनैपनि बेला प्रचण्ड र ओली पुनः हातेमालो गरेमा आश्चर्य नमाने हुन्छ ।

प्रतिक्रिया