३१ भाद्र २०८१, सोमबार | September 17, 2024

मधेशमा उपेन्द्र यादव र सीके राउतबीचको द्वन्द्वमा नयाँ नेताको उदय हुनसक्ने


January 24, 2024
332
Shares

काठमाडौं, १० माघ । मधेशका दुई प्रतिष्पर्धी नेता देखिएका छन् उपेन्द्र यादव र सीके राउत । यादव मधेशी जनअधिकार फोरम हुँदै समाजवादी पार्टीका अध्यक्ष बनेका छन् अहिले । राउत पृथकतावादी गतिविधि हुँदै जनमत पार्टी स्थापना गरी त्यसको अध्यक्ष छन् । यी दुवै मधेश केन्द्रित नेता हुन् र एक अर्कालाई मधेशको मुख्य नेता ठान्छन् ।

उपेन्द्र यादव २०७९ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा सीके राउतबाट सप्तरी २ बाट पराजित भएका थिए । यादवले यो पराजयलाई इगोकै रुपमा लिए । उनी रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर भएपनि बारा २ को सिट खाली गराएर उपचुनाव लडे । त्यहाँ पनि सीके राउतकै उम्मेदवार सारिएका थिए । तर, यादव गठबन्धनको सारा शक्ति लागेका कारण जित्न सफल भए । यो घटनाले पनि राउत उपेन्द्रलाई लखेटिरहेका छन् भन्ने देखिन्छ ।

हालैमात्र यादवले सार्वजनिक रुपमा राउतको आलोचना गरे । उनले राउतको उद्देश्य मधेशको अधिकारी दिलाउने भन्दा पनि बिगार्ने रहेको टिप्पणी गरे । राउतले पनि बिहिबार मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाए । यसले राजनीतिकवृत्तमा तरंग आएको छ । कुनैपनि बेला राउतले केन्द्र सरकारलाई दिइआएको समर्थन पनि फिर्ता लिने सम्भावना बढेको छ ।

उपेन्द्र यादव र सीके राउतबीचको टकरावले मधेशमा नयाँ नेता उदाउने सम्भावना उत्तिकै छ । महन्थ ठाकुर वयोवृद्ध भइसकेका छन् । उनको दलमा मधेशको अधिकारका लागि राष्ट्रिय तहमा सशक्त नेता त्यसपछि देखिदैनन् । यसकारण कुनैपनि बेला मधेशभित्रबाट नयाँ नेताको उदयको सम्भावना बढेको छ । उपेन्द्र र सीकेको टकरावमा नयाँले लाभ लिन सक्छन् ।

प्रतिक्रिया