३१ भाद्र २०८१, सोमबार | September 17, 2024

बम्जनलाई हिजो भगवान बनाउने आज राक्षस देखाउने को को ?


January 14, 2024
5.3k
Shares

सन्तोष आचार्य: नेपालको बारा जिल्लाको रतनपुरीमा जन्मिएका रामबहादुर बम्जनलाई पछिल्लो समयमा विवादास्पद तपस्वी तथा बौद्ध धर्मका गुरुको रूपमा व्याख्या गरीएको छ । जसलाई गौतम बुद्धको पुनर्जन्मको रूपमा व्याख्या गर्दै संचार माध्ययमले प्रस्तुत गरेका थिए । महासम्बोधि गुरु धर्मसङ्घको नामले परिचित उनी एक तपस्वीको नामले पनि परिचित छन् । जसलाई पश्चिमाहरूले लिटिल बुद्धको पगरीसम्म गुथाउन भ्याएका थिए ।

पाल्देन दोर्जी नामबाट नमो बुद्धसम्मको यात्रामा उनले व्यापक आलोचनाको शिकार बन्नु परेको छ । बारा जिल्लाको हलकिरिया जङ्गलमा ६ वर्षलामो निरहार तपस्या गरेका कारण उनी विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडियाहरूमा लामो समयसम्म छाएका थिए । बम्जनका अनुयायीहरूले उनी ऐतिहासिक बुद्ध, गौतम बुद्धका अवतार हुन् भनी विश्वास गरे पनि बम्जनले भने आफुलाई भगवान् गौतम बुद्धसँग तुलना नगर्न भन्दै ”मलाई बुद्ध नभन्नुहोस्, र हाल मसँग बुद्धको शक्ति छैन” भनेर समेत भनेका थिए ।
तपस्याकै क्रममा उनीमाथि विभिन्न प्रकारका आक्रमणहरू समेत भएका छन् । १७ जना गाउँलेहरुले उनलाई आक्रमण गर्दा उनले त्यसको प्रतिकार समेत गरेका र गाउँलेले बम्जनसँग माफी मागेपश्चात आक्रमणलाई रोकेका थिए । यो घटना मिडियामा आएपश्चात आफ्नो ध्यानमा उक्त समुहले वाधा उत्पन्न गरेका कारण प्रतिकार गरेका भन्ने अभिव्यक्ति बम्जनले दिएका थिए । त्यसैगरी स्लोभाकियाकी एक महिलाले बम्जनको ध्यान बिथोल्न खोजेको र तन्त्र विद्याको गलत प्रयोग गरेर बम्जनमाथि घात गर्न खोज्दा बम्जनको अनुयायीले उनलाई पकडेर बन्धक बनाएपछि प्रहरीले उक्त विदेशी महिलालाई उद्धार गरी घर फर्काएको कुरालाई समेत विभिन्न मिडियाले गलत संदेश प्रवाह हुने किसिमले बिदेशी महिलालाई बम्जन समुहले बन्धक बनाएको भन्ने सम्मको समाचार सम्प्रेषण गरेका थिए ।

भिक्षुणीको आवरणमा बम्जनको आश्रममा सामिप्यता बढाएर आश्रमबाट सामान चोरी गरेर भाग्ने क्रममा बम्जनको अनुयायीहरूले पक्राउ गरेपश्चात आफ्नो कर्तुतलाई ढाकछोप गर्नको लागि एक १८ वर्षीया भिक्षुणीले बम्जनमाथि यौनहिंसासम्मको अभियोग लगाएको र यस विषयमा महिला अधिकारकर्मीहरू मिलेर बम्जनमाथि बलात्कारको अभियोग लगाएर प्रहार गरेका घटना समेत हामीमाझ लुकेको छैन । आश्रमबाट उक्त युवतीलाई अनुयायीले लखेटे पछि उनी महिला अधिकारकर्मी समक्ष गएको र बम्जनसँग बदला लिनको लागि उनले यौन दुर्व्यवहारको आरोप लगाएको विषय समेत स्थानीय मिडियाहरूमा छापिएका थिए । बम्जनको वास्तविकतालाई छानबिन गर्ने उद्देश्यले एक व्यक्ति बिना कुनै सूचना बम्जनको आश्रममा प्रवेश गरेर भित्रबाट ढोका बन्द गर्न पुग्छन् । त्यो देखेर बम्जन र उनको अनुयायीले उनलाई आश्रमदेखि बाहिर निस्किन आग्रह गर्दा पनि ननिस्किए पछि बम्जनले तलवार लिएर उक्त ब्यक्तीलाई बाहिर निकालेको र उनी विरुद्ध कारबाही गरेका थिए । यही घटनालाई लिएर प्रमुख मिडियाहरूले वास्तविक घटनालाई लुकाएर आफ्नै भक्तजनमाथि बम्जनले तरवार प्रहार गरेका भन्दै साधु सन्तलाई ध्यान गर्न बस्दा हतियार एवं तलवार किन चाहियो भनेर उनीविरुद्ध ढोंगीको ट्याग लगाएर विभिन्न समाचार, लेख र विश्लेषणहरू समेत प्रकाशित गरेका थियो ।

२०७६ सालमा बम्जनको विभिन्न आश्रमबाट केही मानिसहरू हराएपछि पीडितका परिवारले बम्जनविरुद्ध प्रहरीमा जाहेरी दिएपछि प्रहरीले बम्जनविरुद्ध कारबाही अघि बढाएको थियो । तर प्रहरीले उनको सम्पूर्ण आश्रममा छापा मार्दा समेत त्यस्ता किसिमको कुनै गतिविधि भएको प्रमाण फेला नपरेको र अन्तत: एक ठाउँमा ९ पोका नुनको प्लास्टिक भेटेर त्यसैलाई प्रमाण मान्दै मारेर लास कतै गाढेको हुन सक्ने र उक्त लास गलाउनको लागि नुनको प्रयोग गरेका हुनसक्ने भन्दै अन्दाजको भरमा घटनालाई बम्जनविरुद्ध तयार गरेका कुरा समेत हामीमाझ छर्लंग छ ।

जंगलको बीचभागमा ध्यानमा बसेको एक युवकलाई भगवान्को अवतार मानेर उनको दर्शन र पूजाको उद्देश्यले हजारौ मानिस ओहोर दोहोर गर्न थाले । बौद्ध धर्मको विभिन्न सम्प्रदायको ७० भन्दा बढी भिक्षु उनको पछि-पछि लागेर दैनिक रूपमा सेवा गरेर बसे । अनेकौ देशी-विदेशी मिडिया आएर उनको भिडियो खिच्न थाले । उनी साँच्चै निराहार छन् कि लुकी-लुकी अन्न पानी खाइरहेका छन् भन्ने कुरा पत्ता लगाउन डिस्कभरी च्यानलहरू आएर ३/४ दिनसम्म लगातार नन स्टप भिडियो खिच्न थालेपछि बम्जनले आफ्नो ध्यान साधनामा अवरोध सिर्जना भएको कुरा पटक-पटक अनुयायीलाई र अनुयायीले प्रहरीलाई खबर गरेका थिए । तरपनि यो क्रम नरोकिएपछि आफ्नो साधनमा व्यवधान आएको र त्यहीँ बसीरहे आफ्नो साधनाले पूर्णता नपाउने भएपछि उनी रातारात त्यहाबाट गायब भएका थिए । जुन घटनालाई मिडियाले बंग्याएर विभिन्न घटना र आरोपमा संलग्न ढोंगीबुद्ध बम्जन फरार भनेर अपराधीको रूपमा व्याख्या गर्दै अनेकौ समाचारहरू समेत सम्प्रेषण गरेका थिए ।

केही समयअघि उनलाई यिनै विविध आरोप र शंकाको आधारमा”अप्रेसन ब्लु” नाम दिएर २५ जनाको सीआईबी टोली द्वारा पक्राउ गरीयो । पक्राउ पश्चात उनको घरमा कस्ता सवारी साधन थिए, घर कस्तो थियो, त्यहा कति रुपैयाँ भेटियो, कस्ता ओछ्यान थिए आदि कुराहरूलाई प्रहरीले प्रकाश पारेको र जनमानसमा उनीविरुद्ध भ्रम सिर्जना गर्न खोजेको देख्न सकिन्छ । प्रहरीले उनलाई पक्राउ गरीसकेपछि जारी गरेका व्यक्तिगत विवरणमा उनको शिक्षासमेत खुलाएर उनलाई अशिक्षित र नीचा देखाउन हरसम्भव प्रयास गरेका देख्न सकिन्छ । प्राचिनकालमा योगीहरुले समेत तरवार, नियुद्ध, गधा, कुस्ती, योग आदि द्वारा आफ्नो शारीरिक व्यायामलाई निरन्तरता दिन्थे । साधना, योग, व्यायाम र प्रवचन एक योगीको दिनचर्या हो ।

बम्जनको घरमा भएको व्यायामशालालाई लिएर एक योगीलाई किन जिमहलको आवश्यकता पर्यो, योगीले नि जिम गर्छ र भन्ने किसिमको तुच्छ अभिव्यक्ति समेत मिडियामा आएका छन् । बम्जनको धर्मसङ्घ विश्वको ६७ देशमा फैलिएको छ । तसर्थ उनलाई भेट्न आउनेहरूले उपहारस्वरूप चढाएको चढ़ावा रकमलाई लिएर त्यतिका रुपैयाँ कहाबाट आयो भनेर हरसम्भब रूपमा उनलाई गलत देखाउने प्रयास गरेका देख्न सकिन्छ ।

उनी पक्राउ परे लगत्तै समाजमा दुई थरी विचारहरू सामुन्ने आएका छन् । केही बौद्ध भिक्षुहरू उनको पक्षमा छन् भने केही विपक्षमा । केहीले उनी तामांगको छोरा भएको र तपस्वी भएकाले पश्चिमाबाट पोषित सरकार पक्षले उनी विरुद्ध मनगढ़न्ते आरोप लगाएर उनको चरित्रहत्या गर्न खोजेको भनेर आरोप लगाएका छन् ।
बम्जनले देशमा बढ्दै गएको धर्मान्तरणको विरुद्धमा कार्य गरेका र जनजाति आदिवासी समुदायलाई लोभ र लालच दिएर धर्मान्तरण गराउंदै गएको वर्तमान अवस्थामा सम्पूर्ण किराँती समुदायलाई एकजुट बनाउदै आफ्नै मौलिक परम्परा, धर्मतर्फ आकर्षण गर्दै गएको कारण लामो समयदेखि धर्मान्तरणको एक मिशन बनाएर नेपाललाई इसाई राष्ट्र बनाउने आफ्नो षडयन्त्रपूर्ण कुटिल उद्देश्यमाथि बम्जनको गतिविधीको कारण कुठाराघात हुने भएकाले उनलाई समयमा नै रोक लगाउन सके मात्र इसाईकरणमाथिको विदेशीको लगानी, उद्देश्य, मिशन र योजना सफल हुने भएकाले बम्जनलाई टार्गेट बनाईएको हो भनेर भनेका छन् भने केहीले उनी ‘लिटिल बुद्ध’
पनि होइनन् र बुद्ध पनि होइनन् । उनले त बौद्ध परम्पराका सूचकहरूसम्म पालन नगरेकाले उनी बुद्धिस्ट नै होइनन भन्नेसम्म आरोप लगाउँदै आएका छन् । उनीहरूले त बम्जनले बुद्धको शास्त्र र मूर्तिहरू समेत जलाएको र खोलामा बगाएको भन्नेसम्म आरोप लगाएका छन् र मैत्रेय बौद्धको नाममा एक अलग सम्प्रदायको शुरुवात गरेर बौद्ध समाजलाई समेत भाँड्ने कार्यको शुरुवात गरेका छन् भन्ने समेत आरोप लगाइएको छ । बम्जनले धर्मान्तरण रोक्नलाई होइन बुद्ध समाजमा फुट ल्याउने प्रयास गरीरहेका छन् भन्नेहरूको संख्या पनि कम छैन !

समग्र घटनालाई हेर्दा बम्जन घटनामा षडयन्त्रका हागाहरू प्रष्ट देख्न सकिन्छ । प्रहरीसँग बम्जनबिरुद्ध कुनै ठोस प्रमाण छैन तथापि उनलाई सोधपुछको लागि पक्राउ गरीएको छ । कानुनी राज्यमा कसैले मुद्धा मामिला गरेपछि, कोही विरुद्ध आरोप लागेपछि सोधपुछको लागि पक्राउ गर्नु ठुलो कुरा होइन तर उनलाई अपराधीकै
रूपमा हतकडी लगाएर घिसार्दै मिडियामा ल्याइनु चाहीँ शंकास्पद छ । बम्जनमाथि बलात्कार र हत्याको आरोप छ, तथापि प्रहरीले ठुलै सफलता हासिल गरे झैँ उनको घरमा छानबिन गरेर रुपैयाँ, गाडी आदि बरामद गर्नु सरकारपक्षको कुटिल योजना कै अर्को रुप हो भन्न सकिन्छ । यो देशमा बलात्कार र हत्याको आरोपित
व्यक्तिहरू आज पनि सत्तामा बसेका छन् तर उनीहरू पक्राउ पर्दा न उनको घरमा खोजतलास गरीयो, न उनको घरको सम्पत्ति जफत गरीयो, न उनको सवारी साधन जफत गरीयो, न उनलाई हतकडी नै लगाइयो तर सोही प्रकृतिको घटनामा बम्जन समातिदा जुन दृश्य देखियो त्यो आफैमा शंकास्पद छ ।

बम्जनको औपचारिक शिक्षा प्राथमिक शिक्षा मात्र भए पनि उनको साधना, क्षमता र प्रवचनलाई हेर्दा बौद्ध धर्मको विभिन्न भन्ते एवं लामागुरूहरूले उनीभित्र असाधारण क्षमता र शक्ति भएको तथा यो शक्ति उनले यो जन्ममा आर्जन गरेका नभइ पूर्वजन्मकै कर्मको आधारमा लिएर आएको हो भन्ने सम्मको अभिव्यक्ति दिएका छन् । उनीहरूको भनाइलाई मध्यनजर गर्ने हो भने बम्जन बुद्ध नै हुन् भन्न सकिन्न तर उनी एक ज्ञानी, तपस्वी र महामानव हुन् भन्ने कुरामा दुई मत छैन ! उनको शक्तिलाई देखेपछि बौद्ध धर्मका विभिन्न सम्प्रदायका अनगिन्ती लामा गुरुहरू उनको अघिपछि आएका थिए ! उनीहरूले आफु र आफ्नो सम्प्रदाय अनुकूल बम्जनलाई हिंडाउने प्रयास गरेका थिए तर बम्जनले बौद्ध धर्मसग सम्बन्धित आफ्नो फरक मत राखेपछि धेरै धर्मगुरुहरू उनको विरोधी भएका थिए ।

सिद्धार्थ गौतमभन्दा अघि आएका २८ बुद्धको भन्दा गौतम बुद्धको मत पनि फरक थियो तथापि कालान्तरमा गौतम बुद्धलाई भगवान्को रूपमा स्वीकार गरेका पाइन्छ । बम्जन बुद्ध हुन् होइनन भन्ने कुरा बौद्ध मतले नै समय आएपछि प्रमाणित गर्दछ । तर वर्तमानमा बम्जनमाथि जुन किसिमले आरोपहरू लगाइएको छ र जुन किसिमका अभिव्यक्तिहरू सुन्नमा आएका छन् ती सबैलाई हेर्दा यहाँ एक नियोजित षडयन्त्रको आभाष भएको पाइन्छ । बम्जनलाई सिध्याउन देशी-विदेशी शक्तिहरू लागेको प्रष्ट बुझ्न सकिन्छ ।

बम्जनको विरुद्धमा जातिय कार्ड खेलेर जुन किसिमले सकारात्मक र नकारात्मक विचार राख्नेहरूलाई एक आपसमा लडाईदैछ त्यसले बम्जनविरुद्धको षड्यन्त्रलाई थप उजागर गरेका छ । सामाजिक संजाल र मिडियामा वातावरण यस्तो तयार गरीएको छ कि ब्राह्मण समाजको कसैले बम्जनको सपोर्ट गरेर केही लेख्यो भने यहाँ रामबहादुर बम्जन ब्राह्मण समुदायद्वारा बुद्धमतको विरुद्धमा परिचालित गरीएको व्यक्ति रहेछ भनेर विधर्मी र मिडियाद्वारा ट्याग लगाइन्छ अनि बौद्ध समुदायको कसैले बम्जनको पक्षमा बोल्यो भने बौद्ध सम्प्रदायलाई सिध्याउन बम्जनको पक्षमा अभिव्यक्ति दिईदैछ भनेर प्रचार गरीन्छ । अनि केही नबोली तटस्थ रूपमा बस्यो भने जातिय कार्ड खेल्नेहरूले नै तामांग र बौद्ध सम्प्रदायमाथि राज्यपक्षद्वारा आक्रमण हुँदा पनि कुनै ब्राह्मणवादीहरू बोलेनन् । हिन्दूहरू संगठित रुपमै बौद्ध धर्मको विरुद्ध लागेका छन् भनेर
आरोप लगाईदैछ ।

बम्जनलाई एक्लो पारेर उनलाई र उनको सोचलाई सिध्याउनको लागि यहाँ हर सम्भब प्रयास गरीएको छ । यो कुरा बौद्ध मतमा नै जीवन समर्पण गर्नुभएको हरेक भंते (भद्र) एवं गुरुमाहरूले बुझ्नु भएको छ । त्यसैले बम्जनको पक्षमा आफुले बिचार राखेको खण्डमा आफ्नै बौद्ध मत र सम्प्रदायको विरुद्ध हुने अनि विपक्षमा बोले बौद्ध धर्ममाथि हुँदै गरेका पश्चिमा आक्रमणलाई साथ दिएको जस्तो देखिन्छ । त्यसैले बम्जनको केसमा बौद्धमार्गीहरू मौन छन्, जसको फाइदा पश्चिमाहरूद्वारा पोषित विभिन्न संचार माध्ययमले भरपुर रूपमा उठाई रहेका छन् । केही लामा गुरुहरूले बम्जनको विरोधमा आफ्ना मत पनि राखेका छन् । तर उनीहरूको समग्र कुरालाई हेर्दा बम्जनले बुद्धिज्मभित्रको परम्परागत मतलाई फरक धारले व्याख्या गरेका र लामा गुरुहरूले बम्जनको मैत्रेय मार्गलाई स्वीकार गर्न नसकेको कारण एक आपसमा मतभेद उत्पन्न भएको देखिन्छ
। बम्जन अपराधी हुन् कि होइनन भन्ने मुद्दा मूल मुद्दा हो तर धार्मिक कार्ड खेल्नेहरूले बम्जन बुद्धिस्ट हुन् कि होइनन भन्नेमा खेल खेलिरहेको पाइन्छ । जसको फाईदा यो समग्र षडयन्त्रको नायक पश्चिमा मेशिनरीहरूले उठाई रहेको छ र यो कुरासँग समग्र नेपाली समाज पूर्णरूपले अनभिज्ञ भएको देख्न सकिन्छ

प्रतिक्रिया