३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कमिशनको खेलले २२ अर्ब विद्युत महशुल नउठ्ने


January 11, 2024
415
Shares

काठमाडौं, २६ पुस । डेडिकेटेड र ट्रंकलाइनको विद्युत महशुल नतिर्ने उद्योगीको लाइन काट्न लगाएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी महाप्रबन्धक कुलमान घिसिङले तरंग नै ल्याएका थिए । धमाधम २४ उद्योगको लाइन काटियो । विस्तारै थप उद्योगको लाइन काट्ने तयारी थियो । तर, शक्तिशाली उद्योगीले लाइन काट्नबाट रोकेनन् मात्र कुलमानलाई ब्याक हुन वाध्य पारे । उनीहरुले सरकारको नेतृत्वलाई नै प्रभावित बनाएर क्याबिनेटबाट एउटा निर्णय लिन लगाए । जसमा डेडिकेटेड र ट्रंकलाइनको विद्युत उपभोगसम्बन्धी जाँचबुझ गर्ने विषय रहेको छ । क्याबिनेटले अहिलेलाई विद्युत आपूर्ति सुचारु गर्ने निर्णय समेत गरेको छ ।

कुलमानले ब्याक हुनुपर्ने बुझेर हत्तपत्त केही दिनअघि सूचना निकाल्न लगाएका थिए । जसमा ६० महिनामा किस्तावापत् विस्तारै रकम तिर्न सकिने उल्लेख छ । केही उद्योगले किस्ता बुझाएर विद्युत सुचारु पनि गरेका थिए । तर, अरबौं नतिर्नेले केही करोड कमिशनको बलमा विद्युत आपूर्ति सुचारु गर्न वाध्य गराएका छन् कुलमानलाई । प्रधानमन्त्री प्रचण्ड समेत उनीहरुबाट प्रभावित भए । विगतमा केपी शर्मा ओलीले पनि महशुल उठाउन कदम चाले तर ब्याक भए । यसरी नै महशुल नतिर्नेहरुसँग कमिशन लिएर ब्याक हुने परिपाठीले निरन्तरता पाएको छ ।

त्यसो त देशमा जो चोर उसकै ठूलो स्वर हुनेगरेको छ । जो जो विद्युत महशुल तिर्दैनन् र कर छली गर्छन् उही ठूलो कुरा गरेर हिडिरहेका छन् । महशुल तिर्न नमान्ने उल्टै जाँचबुझ समिति गठन गर्न लगाएर अलमलाउने उद्योगीहरु सरकारमा समेत हावी भएका छन् । उनीहरुको उद्योगको लाइन पुनः जोडिने भएको छ । वर्षौसम्म महशुल नतिरेर उद्योगीहरुले यति ठूलो रकमको ब्याजको लाभ लिइसकेका छन् । तैपनि, उनीहरु उद्योग चलाएर फाइदा लिने र विद्युत महशुल पनि नतिर्ने गतिविधि गरेर चलखेलमा लागेर तत्काललाई सफलता हासिल गर्न सकेका छन् ।

प्राधिकरणले पहिलो चरणमा एक अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ उद्योगको लाइन काटेको थियो । त्यसपछि थप ५ उद्योगको लाइन काटियो । तेस्रो चरणमा ५ करोडभन्दा बढी बक्यौता रहेका उद्योगको लाइन काटिएको थियो । जसमा बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक, हिमाल आइरन, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेष्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी स्पात रहेका छन् । त्यससअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटिएको थियो ।

प्रतिक्रिया