नेपालको शिक्षा र विश्वविद्यालय बचाउने ऐतिहासिक अवसर
नारायणप्रसाद ढकालः नेपालको समग्र शिक्षाको विकासक्रमलाई अध्ययन गर्दा औपचारिक रूपमा वि.सं. १९१५ मा शिक्षा विभागको गठन पश्चात् भोजपुरको दिङ्लामा १९३२ मा संस्कृत पाठशाला र १९३४ मा रानीपोखरी पाठशालाको स्थापना पछिको पठनपाठन शुभारम्भ भएको पाइन्छ । बिचको समयमा नागरिक र सरकारको तर्फबाट अनेकौँ प्रयास भएपनि १९९४ मा सर्वप्रथम प्राथमिक विद्यालयको पाठ्यक्रम प्रकाशनमा विद्यालयको पाठ्यक्रम प्रकाशनमा आएको देखिन्छ । १९७५ मा उच्च शिक्षा अध्ययनका लागि त्रिचन्द्र कलेजको तत्कालिन त्रिभुवन चन्द्र कलेजको स्थापना भएपनि सुरुमा कलकत्ता विश्वविद्यालय र १९८० देखि पटना विश्वविद्यालयसँग सम्बन्धन लिएर पठनपाठन हुने गरेको थियो । १९९० मा एस.एल.सी बोर्ड स्थापना पछि विद्यालय तहको पठनपाठन र परीक्षा स्वदेशमा नै हुने व्यवस्था भयो ।
१९८६ मा पं कृष्णप्रसाद कोइरालाको निर्वासन समयमा उनकै सक्रियतामा भारतको टेण्डी भन्ने ठाउँमा आदर्श विद्यालय स्थापना भएको र १९९२ मा विराटनगरमा सारी आदर्श विद्यालयमा पठनपाठन गराइएको थियो । २००४ मा ताहाचलमा आधार विद्यालयमा पढाउने शिक्षक तयार गर्न पहिलो शिक्षक केन्द्रको स्थापना गरिएको पाइन्छ । २००५ सालमा काठमाडौँमा पहिलो पूर्व प्राथमिक विद्यालयको स्थापना भएको थियो, भने २००९ मा राष्ट्रिय शिक्षा बोर्डको स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको पाइन्छ ।
२०१३ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना गर्ने निर्णय भएपनि २०१६ आषाड ३० गते पहिलो विश्वविद्यालय परिषद्बैठक बसी त्रि.वि. ऐन कानुन जारी गरिएको थियो । स्थापनाको २ वर्षसम्म पटना विश्वविद्यालयकै पाठ्यक्रम बमोजिम सञ्चालन भएपनि २०१८ देखि आफ्नै पाठ्यक्रम बनाई पठनपाठन सुरु भएको थियो । २०१३ साल मंसिरमा लक्ष्मीप्रसाद देवकोटाको संयोजकत्वमा बनेको समितिले कीर्तिपुरमा विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । २०१५ आषाड शुक्ल नवमीका दिन असतोमा सद्गमयः तमसो मा ज्योतीर्गमयः, मृत्योर्माःअमृतम् गमयः (मलाई असत्यबाट सत्यको मार्गमा, अध्यरोबाट उज्यालोको मार्गमा अनि मृत्युबाट अमरताको मार्गमा लिएर हिड) भन्ने उपनिषद्को वन्दनाका साथ विधिवत् रुपमा शिलान्यास भएको त्रिभुवन विश्वविद्यालय, तत्कालिन राजा महेन्द्रले नेपाल आमाका सन्तानका लागि समर्पित गर्दैछौँ भनेर तत्कालिन उप–प्रधानमन्त्री सुवर्ण जवरालाई प्रथम उपकुलपति बनाएर अगाडि बढेको थियो ।
त्रिभुवन विश्वविद्यालयले २०१७ चैत्र १० गते पहिलो दीक्षान्त समारोह गरी ३१० जनालाई दीक्षित गरेको थियो भने आज २०८० मा आइपुग्दा आफ्नो ४९ औँ दीक्षान्त समारोहमा एकवर्षभित्र एकसाथ ७३ हजार दीक्षित हुन योग्य मध्ये १२ हजार ४१५ जनालाई प्रत्यक्ष दीक्षान्त समारोहमा सहभागी गराई विश्व कीर्तिमान बनाएको भनी दावी गरेको छ ।
विश्वविद्यालय कुनैपनि राष्ट्रको लागि आवश्यक असल, कुशल, योग्य र दक्ष व्यक्ति निर्माणको लागि स्थापना गरिएको हुन्छ । विश्वविद्यालयमा अध्यापन हुने पाठ्यक्रम, विषयवस्तु, शिक्षण पद्धती, अध्यापकहरूको व्यवहार/चरित्र, रचनात्मक शैक्षिक गतिविधी, स्वच्छ प्रतिस्पर्धा र समग्र शैक्षिक वातावरणको आधारमा समाज र राष्ट्रले अपेक्षा गरेको नागरिक निर्माण गर्न विश्वविद्यालयको अग्रणी भुमिका हुने गर्दछ ।
त्रिभुवन विश्वविद्यालयको ऐतिहासिक भूमिका
नेपालको प्रमुख, जेठो र ऐतिहासिक महत्व बोकेको त्रिभुवन विश्वविद्यालयको वि.सं. २०१६ देखी २०५०/६० सम्मको भूमिकालाई अध्ययन गर्दा शिक्षाको मूल उद्देश्य, राष्ट्रिय आवश्यकता र शिक्षाको महत्वलाई आत्मसात गरी देशकोसमग्र परिस्थिति अनुरूप आफ्नो दायित्वलाई राम्रोसँग निर्वहन गरेको नै पाइन्छ । नेपालको समग्र शैक्षिक, सामाजिक, आर्थिक विकासमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण भूमिकालाई कसैले नकार्न सक्दैन र २०१६ देखी २०६० सम्म विश्वविद्यालयको विकासमा भूमिका खेल्ने सबैलाई धन्यवाद र अभिनन्दन गर्नैपर्दछ । उहाँहरूलाई बधाई पनि, नेपाली समाजले तपार्इँहरूलाई सँधै उच्च सम्मान गरिरहने छ ।
त्रिभुवन विश्वविद्यालयकै उत्पादनले आज नेपालका सम्पूर्ण विद्यालय, क्याम्पस, विश्वविद्यालयहरू, प्रशासन सुरक्षा, न्याय व्यवस्था सञ्चालन भइरहेको छ । त्रि.वि.ले स्वदेश र विदेशमा कुशल कार्य सम्पादन गर्नसक्ने व्यक्ति निर्माण गरेकै हो र गरिरहेको पनि छ । औपचारिक रुपमा वि.स. १९३२ मा शुभारम्भ भएको नेपालको शिक्षा वर्तमानमा आइपुग्दा १७ विश्वविद्यालय करिब १४ सय महाविद्यालय र ३५ हजार विद्यालयहरूको स्थापना र विकासमा पनि त्रि.विको भूमिका अग्रस्थानमा रहेको छ । प्रजातन्त्र स्थापना हुँदा २०४६ सालमा २% मात्र साक्षरता प्रतिशत रहेको हाम्रो देश २०८० मा आइपुग्ग्दा ७६% पुगेको छ । यसलाई राम्रो सकारात्मक उपलब्धीकै रूपमा लिनु पर्दछ । यी सबै महत्वपूर्ण विषयको समालोचनात्मक समीक्षा नगरिएमा त्रि.वि माथि नैअन्याय हुन्छ ।
दुर्गती, चिन्ता र सम्भावनाको वर्तमान त्रि.वि.
नेपाली जनताले समयको विकासक्रमसँगैचाहेर वा नचाहेर, बुझेर वा नबुझेर हाम्रो आवश्यता वा अरूको आवश्यकता जानेर वा नजानेर समयमै वा समयभन्दा पहिला निकै ठूला ठूला राजनीतिक परिवर्तनहरू भए, केही आवश्यक, केही अनावश्यक सबै भए । त्यसलाई सबैले स्वीकार गरेर अगाडि बढ्नु नै पर्दछ ।
नेपालीहरूले इतिहासदेखि वर्तमानसम्म दुःख, संघर्ष र मिहेनत गरेर आफूलाई कठिन परिस्थितिमा पनि खुसी भएर बाँच्नसक्ने सामथ्र्य राख्दछन्। स्वदेश होस्वा विदेश इतिहास देखि वर्तमान सम्म देशको शीर झुक्न दिएका छैनन्, चाहे त्यो अंग्रेज, मुगल र विधर्मीहरूको निरन्तरको आक्रमणमा नै किन नहोस् ।
हिजो पहाडका कुना कन्दराहरूमा गई बाँझो भूमिलाई खेतीयोग्य बनाई आफ्नो जीवनयापनसँगै राष्ट्रको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेदेखि लिएर विदेशी मुद्राको लागि आवश्यक निर्यातको लागिसम्म उत्पादन गरे । कुनै समयमा नेपालले खाद्यान्न निर्यात गर्ने गर्दथ्यो। त्यो समयदेखी आजका दिनसम्म नेपालीले विश्व बजारमा आफ्नै मिहेनत र प्रयासमा छरिएर देशको अर्थतन्त्रलाई बचाउने कार्यमा आफ्नो जीवनलाई बाजिलगाएर कार्य गरिरहेका छन्। अभिनन्दन छ, सबै कर्मशील सिपाहीहरूलाई ।
त्रि.वि.को वर्तमान अवस्था र आगामी दिशा
विश्वविद्यालयले व्यक्तिमा आत्मविश्वास,राष्ट्रियता,देशप्रेम, ज्ञान, अनुशासन, उत्साह र स्वदेशमा नै आफ्नो सुन्दर भविष्यको सपना देख्नसक्ने गुणको विकास गराउन सक्नुपर्दछ । त्रिभुवन विश्वविद्यालयको विगत २५ वर्षदेखि वर्तमानसम्मको यात्रालाई सबै मिलेर मूख्य मार्गबाट बाहिर ल्याउने कार्य भयो । हामीले गरेको राजनीतिक परिवर्तनको शक्तिलाई राजनीति दल र तिनको नेतृत्व गर्नेहरूले विश्वविद्यालय परिसरलाई आ–आफ्ना पार्टी कार्यालय बनाउने प्रतिस्पर्धामा लागे । सबैले सकेजति विश्वविद्यालयको समग्र पक्ष (पठनपाठन, प्रशासन, शैक्षिक वातावरण, अध्यापक नियुक्ति) लाई दुषित बनाउन प्रतिस्पर्धा नै गरे । शिक्षाका सम्पूर्ण अनुशासन र मर्यादाहरूलाई प्राय समाप्त बनाउन निरन्तर लागिरहेको देखिन्छ ।
हिजोको त्रि.वि.माथिको विश्वास, आकर्षण, सम्मान, श्रद्धा आज अविश्वास, विकर्षण, अश्रद्धामा परिणत भएको छ । यही स्थितिमा त्रि.विलाई अगाडि बढ्न दिने हो भने भविष्यमा हामीले धुरूधुरू रोएर पश्चाताप गर्ने स्थिति नआउँला भन्न सकिँदैन । सबै राजनीतिक दल, शिक्षक, विद्यार्थी सामाजिक बौद्धिक जगत सबैले गम्भीर भएर आ–आफ्ना गल्तिहरू स्वीकार गरेर विश्वविद्यालय देशको भविष्य निर्माण गर्ने महत्वपूर्ण निकाय हो, यसलाई कमजोर बनाएमा हामी सबै कमजोर हुन्छौँ, देश कमजोर हुन्छ, देशको अस्तित्व संकटमा पुग्दछ भन्ने विषयमा आत्मबोध गर्दै विश्वविद्यालयलाई विश्वकै उत्कृष्ट र आदर्श शिक्षण संस्था बनाउन संकल्पवद्ध बनौँ ।
विश्वविद्यालय ठिक गर्न वर्तमानमा गर्नुपर्ने आवश्यक कार्यहरू
१.विश्वविद्यालयसंग सबैले आफ्नो प्रतिष्ठा,सम्मान र उद्देश्यलाई जोड्ने
२.विश्वविद्यालयलाई दलगत राजनीतिभन्दा माथि राखेर शुद्ध रुपमा अध्ययन अनुसन्धानको वातावरण निर्माण गर्ने ।
३.विश्वविद्यालय, हाम्रा विद्यार्थी, प्राध्यापक, अनुसन्धान र शैक्षिक वातावरणलाई विश्वप्रतिस्पर्धामा अग्रणीस्थानमा पु¥याउन सबै संकल्पबद्ध भई कार्य गर्नुपर्ने ।
४.विश्वविद्यालयको कूलपति प्रधानमन्त्री बन्ने प्रावधानलाई परिमार्जित गरी स्वतन्त्र रूपमा शिक्षा र सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेको व्यक्तिलाई बनाउनेनीति बनाउने।
५.उपकुलपति नियुक्ति राजनीतिक आधारमा नभई प्रतिस्पर्धा, कार्य योग्यता, अनुभवका आधारमा बनाउने ।
६ उपप्राध्यापक, प्राध्यापक र प्रशासनिक व्यक्तिहरू प्राध्यापन अनुमतिपत्र एवं स्वच्छ प्रतिस्पर्धा र उत्कृष्टताको आधारमा नियुक्ति गर्ने पद्धतिको विकास गर्ने ।
७.नेपाल आमाको सुन्दर र उज्वल भविष्य निर्माणको आधारशीला विश्वविद्यालय शिक्षा भएकाले विद्याको मन्दिरको रुपमा विकास गर्न सबैले मनपूर्वक ध्यान दिनुपर्ने ।
अन्त्यमा, विश्वविद्यालयकको प्रमुख अभिभावकको रूपमा जिम्मेवारी बहन गर्नुभएका प्रधानमन्त्रीज्यूलाई त्रिभुवन विश्वविद्यालयको दीगो विकासको लागि पहिलो कदम स्वरूप हाल रिक्त रहेको उपकुलपति पदमा नियुक्ति गर्दा राजनीतिक भागबण्डाको अन्त्य गरी स्वतन्त्र रूपमा बौद्धिक एवं सक्षम व्यक्तिको चयन गरी समग्र नेपालका विश्वविद्यालय एवं शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गर्ने सुअवसर रहेको अवगत गराउँदै यस्तो उदाहरणीय कार्यबाट पछि नहट्न समेत अनुरोध गर्दछु ।
(लेखक नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठन प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका राष्ट्रिय संगठन सचिव हुन् ।)