३१ भाद्र २०८१, सोमबार | September 17, 2024

माफिया र कालोबजारीले यसरी चलाउन थाले देश


December 18, 2023
747
Shares

समाचार विश्लेषण, २ पुस । प्याजको मूल्य कालिमाटी तरकारी बजारले प्रतिकेजी १४५ सम्म तोकेको छ । आलुको अधिकतम् ३५ रुपैयाँ सम्म छ । आलु र प्याजको सिजनमा पनि यो मूल्य धेरै बढी हो । सर्वसाधारणले त आलु धार्नीको १३० र प्याज प्रतिकेजी १८० सम्म तिरिरहेका छन् ।

आलु प्याजको मूल्य दशैंतिहार यता आकाशिएकै छ । हरियो केराऊ त बजारमै छैन जस्तो गरी अभाव सृजना गरियो । चिनी चाडबाडमा १५० बनाएर बेच्ने व्यापारीले बल्ल १३० सम्म झारेका छन् ।

उपभोक्ताको भान्छामा दैनिक आवश्यक यस्ता सामाग्रीको मूल्य बढ्नुमा कालोबजारी नै हो । यसमा राज्यको नियामक निकाय आँखा चिम्लिएर बसेको छ । सत्तामा रहेका दलहरु चुपचाप छन् भने प्रतिपक्षीहरुलाई ठूला कुरा गर्दैमा फुर्सद छैन । उपभोक्ता मूल्यवृद्धिले आक्रान्त हुँदा सरकारी रवैयाको विरोध गर्नुपर्ने प्रमुख प्रतिपक्षी एमाले नेता केपी शर्मा ओली मेची महाकाली यात्रा भन्दै दौडधूपमा लागे ।

देश कालोबजारीको हातमा गइसकेको प्रमाण हो कृत्तिम मूल्यवृद्धि गराउने गिरोह र तिनले जे गर्दा पनि चुप बस्ने नेता । नियमनकारी निकायमा कालोबजारीले नै कर्मचारी सरुवा गरेर लगेपछि आँखा चिम्लिइदिइहाल्छन् ।

दुई व्यक्तिले कुनै सामान खरिद विक्री गर्दा राज्यले थाहापाउने गरी बिल भरपाई बनाइन्छ । राज्यलाई त्यो रेकर्ड बुझाउनुपर्ने हुन्छ । तर, देशमा ३ खर्ब मूल्यको एनसेल खरिद विक्री हुँदा राज्यले जानकारी नै छैन भनिदियो । यो हदसम्मको अभिव्यक्तिले माफियाराजको पुष्टि गर्छ । ६० अर्बको कर छली प्रकरणमा राज्यका जिम्मेवार व्यक्तिहरु नै मिलेमतोमा संलग्न देखिएका छन् ।

सञ्चार क्षेत्रमा माफियाले कर्मचारीको मात्र नभई नेताको समेत सेटिङ गरेको तथ्यहरु खुल्दै गएका छन् । घटनालाई सामसुम पार्न छानविन समिति गठन गरिएको छ । रोचक त यो छ कि एनसेलबाट लाभ लिने व्यक्ति नै छानविन समितिमा रहेका छन् । प्रतिपक्षी दल केही बोलिरहेका छैनन् । सबैले चुनाव खर्च पाएको विषय आइसकेको छ ।

यसरी माफियाले नै देशको बागडोर भित्र भित्रै हातमा लिएको देखिन्छ । पात्रहरु जो जो सत्ताभित्र र बाहिर रहेपनि देश माफियाको इशारामा चलिरहेको छ । जसका कारण देशले ठूलो नोक्शानी भोगिरहेको छ ।

प्रतिक्रिया