३ आश्विन २०८१, बिहिबार | September 20, 2024

किर्तेहरुले देश चलाउन थालेपछि रित्तिदैछ कलेज


December 12, 2023
3.7k
Shares

डा. दीपेश केसीः केही दिनअघि आफू अध्ययन गरेको पाटन संयुक्त क्याम्पस घुम्न मन लाग्यो । कक्षाकोठाहरु हेर्दै जाँदा धेरैजसो प्राध्यापकहरु घाम ताप्दै थिए । कक्षा कोठामा उभिएको व्यक्ति देखेँ । त्यहाँ कुनै नाटकको अभिनय भइरहेको जस्तो लाग्यो । होइन रहेछ कतै दुई त कतै तीन विद्यार्थी ध्यानपूर्वक सुनिरहेका थिए । पाटन क्याम्पसमा प्राध्यापकहरु बेन्च र झ्यालहरुलाई पढाउन थालेछन् आजकल ।

पंक्तिकारसँग थिए बाजुरा स्थायी घर भएका युवा पत्रकार लक्ष्मीप्रसाद न्यौपाने । दुई दशक अघि पंक्तिकारले विहानीको कक्षा पढ्दा बेन्च भरिएर खचाखच हुने गरेको सुनाउँदा उनी पत्याइरहेका थिएनन् । झ्यालबाहिर पनि उभिने ठाउँ हुँदैनथियो त्यतिबेला । कहाँ थियो पाटक क्याम्पस कहाँ पुग्यो अहिले ।

पाटन क्याम्पस मात्र होइन देशका अधिकांश कलेजहरुको हालत यस्तै भइसकेको छ । विश्वविद्यालयहरुमा विद्यार्थी पातलिइसकेका छन् । इञ्जिनियरिङ अध्ययन संस्थानको हालत देखिइसकेको छ । सिट नै खाली । आखिर पढोस् कस्ले ?

देशमा किर्ते नागरिकता र किर्ते सर्टिफिकेटधारीहरु राजनीति, कर्मचारीतन्त्र, न्यायालय, सेना मात्र नभई एनजीओ आइएनजीओसम्म हावी हुन थालेपछि ”लौ तिम्रा छोराछोरी पढाएर देखाऊ” भनेर सर्वसाधारणका छोराछोरीले पढ्न छाडिदिए । सेनामा जर्नेलहरुको किर्ते नागरिकता र किर्ते प्रमाणपत्र भेटिएकै हो । चिफ बन्ने लाइनमा बस्नुपर्ने ताराध्वज पाँडेले राजीनामा दिए । अशोक सिग्देल तीन तारे बनाइएका छन् तर उनको नागरिकतामा किर्तेका प्रमाण भेटिइसकेको छ । तर, देशमा शक्ति भएपछि जे पनि हुने परिस्थिति बनिरहेको छ ।

किर्ते नागरिकता र सर्टिफिकेट लुकाउनै समय खर्चिनुपर्ने भएपछि जर्नेलहरुको ध्यान कमाण्डमा जाने भएन । अर्कोतर्फ, किर्ते गरेर आएकाहरुको क्षमतामाथि प्रश्न उठिहाल्छ । क्षमतावान सैनिक अधिकृत त्यसै विदेश पलायन भएका होइन रहेनछन् ।

प्रहरीमा त किर्ते नागरिकता र प्रमाणपत्रधारीहरु टिक्न सकेनन् । आइजीपी बन्न ठिक्क परेका अशोक सिंहले हतार हतार राजीनामा दिएर पेन्सन जोगाए ।

न्यायालयमा पनि किर्ते नागरिकता बनाउनेहरु नभेटिएका होइनन् । कतिपयको शैक्षिक प्रमाणपत्रमाथि नै प्रश्न उठ्ने गरेको छ । खोजी गर्यो भने नभेटिएलान् भन्न सकिदैन । ढड्डामा केरमेट गर्ने र पन्नालाई च्यातचुत पार्नेहरु छँदैछन् । वकिल हुँदा मालपोत, नापी, पुरातत्व विभागलगायत निकायको ढड्डामा किर्ते गर्नेहरु न्यायालय पसेका उदाहरणहरु हुन् । व्यापारीलाई राजश्व छल्न सिकाउने, भूमाफियासँग मिलेर जग्गा जमिनमा किर्ते गर्नेहरु न्यायालयको सर्वोच्च निकायभित्र छलछाम गरी छिरिरहेका छन् ।
किर्ते गरी नक्कली शैक्षिक प्रमाणपत्र बनाएका सीबी गहतराज ख्रीष्टियन महासंघको अध्यक्ष । धर्मप्रचारको संस्थाको नाइके बन्नसम्म किर्ते गतिविधि । के सम्म भएको रहेछ देशमा ?

एनसेल प्रकरणमा त सत्तामा रहेका र नरहेका नेताहरुको ढाँटछल, चालबाजी देखिइसक्यो । चोरलाई चाबी भएको छ देश । देशमा लुट्न सके लुट को आतंक चलिरहेको छ । माफिया र लुटेराको देश बनाइँदैछ ।

देशमा किर्ते गर्ने हावी भएपछि टुपी बाँधेर पढेर ज्ञान र क्षमता आर्जन गर्नेहरु केही काम नलाग्ने भइहाले । तिनले ज्ञान र क्षमता अभिवृद्धिका लागि रातदिन समय खर्चिएपछि एकैछिनमा किर्ते गर्नेले काम तमाम गरिहाल्छ ।

देशमा युवा पलायन आर्थिक कारणले मात्र होइन यी र यस्तै कारणले पनि हो । क्षमता भइकन वृत्तिविकास नहुने र सही ठाउँमा प्रवेश नपाउने भएपछि विदेश पलायन सिवाय केही होइन । बरु विदेशीको भाँडा माझ्ने देखि भाडाको सिपाही बन्न तयार हुने वाध्यकारी अवस्था बनेको छ तिनमा ।

कलेजहरु खाली हुँदै जानु युवाको विद्रोह पनि हो । महत्वपूर्ण निकायमा किर्ते र छलछाम गरी पुगेकाहरुलाई तिम्रा छोराछोरी पढाऊ हामी त गयौं विदेश भन्ने सन्देश दिएका छन् । देशमा यस्तो अवस्थाको अन्त रहेसम्म कलेजहरु खाली हुने र युवा पलायन हुने अवस्था भइरहन्छ । कहिलेसम्म किर्ते नागरिकता र किर्ते सर्टिफिकेटधारीलाई देशको तालाचाबी दिइरहने ?

प्रतिक्रिया