३ आश्विन २०८१, बिहिबार | September 19, 2024

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव, साझा संस्कृति र सम्पदाको प्रदर्शनी


December 9, 2023
249
Shares

काठमाडौं, २३ मंसि । लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको आयोजना भएको छ । भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा महोत्सव मनाएको हो ।

शुक्रबार सम्पन्न महोत्सवमा बौद्घ धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परालाई देखाइएको थियो । महोत्सवको मुख्य आकर्षण भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको ‘स्याण्ड मण्डला’ चित्रकला प्रदर्शनी, प्रख्यात फोटोग्राफर बेनोय बहलका तस्वीरमा आधारित फोटो प्रदर्शनी, भारतीय र नेपाली परिकारसहितको स्ट्रिट फुड फेस्टिभल र साँस्कृतिक कार्यक्रम रहेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए ।

बौद्ध सम्पदा स्थलका आकर्षक तस्वीर समेटिएको फोटो प्रदर्शनीलाई पनि समावेश गरिएको थियो । प्राचीन कालदेखि अहिलेसम्मको बौद्घ धर्मसँग सम्बन्धित स्मारक र कला सम्पदाबारे विस्तृत जानकारी यस फोटो प्रदर्शनीले दिएको थियो ।

मन्त्री किराती, मुख्यमन्त्री चौधरी र राजदूत श्रीवास्तवले स्याण्ड मण्डला चित्रकला प्रदर्शनीको संयुक्त रुपमा उद्घाटन गरेका थिए । स्याण्ड मण्डला चित्र एक परम्परागत बौद्घ कला हो जसमा रंगीन बालुवाको प्रयोग गरी जटिल डिजाइनहरु सिर्जना गरिन्छ । प्रदर्शनीमा भारतको लद्दाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो ।

समारोहमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारत र नेपालका कलाकारहरुले आ–आफ्ना कला प्रस्तुत गरेका थिए । भारतको लेहस्थित थिक्से मठका कलाकारहरुको चाम नृत्य, दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका कलाकारहरुको भरतनाट्यम, स्थानीय कलाकारहरुको थारु नाच र नेपालको सुकर्म ब्याण्डले प्रस्तुत गरेको सितार वादनले दर्शकहरु मन्त्रमुग्ध भएका थिए ।

सांस्कृतिक कार्यक्रमको प्रस्तुतिपछि लुम्बिनी विश्व शान्ति तथा सद्भाव आगन्तुक केन्द्रमा स्ट्रिट फुड फेस्टिभलको आयोजना गरिएको थियो । उक्त फुड फेस्टिभलमा पकोडा, थारु शैलीको तरुवा, साबुदाना वडा, नेवारी परिकार बारा, जेरी र अन्य विभिन्न प्रकारका भारतीय र नेपाली परिकारहरु राखिएका थिए ।

मंसीर २२ गतेको बिहानी लुम्बिनी बौद्घ विश्वविद्यालयमा यस महोत्सवकै एक हिस्साको रुपमा “सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्घ शिक्षाको प्रभाव अन्वेषण” शीर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो । बौद्घ दर्शनबारे जानकार भारत र नेपालका प्रख्यात विद्वानहरुले उक्त गोष्ठीमा भाग लिई आधुनिक संसारमा बौद्ध शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार राखेका थिए ।

महोत्सव अब हरेक वर्ष लुम्बिनीमा आयोजना गर्ने र साझा सम्पदा, परम्परा र संस्कृति मनाउन भारत र नेपालका मानिसहरुलाई एकै ठाउँमा ल्याउन सहयोग गर्ने निर्णय गरिएको छ । महोत्सवले दुई देशबीचको बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको छ ।

स्याण्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी आगन्तुकहरुका लागि महोत्सवको दोस्रो दिन अर्थात मंसीर २३ गते पनि खुला रहेको थियो ।

प्रतिक्रिया