३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एनसेल प्रकरणमा देउवापुत्र जयवीरको संलग्नताको खुलासा


December 8, 2023
3.7k
Shares

काठमाडौं, २२ मंसिर । एनसेलको शेयर विक्री गरी देशलाई प्रत्यक्ष अप्रत्यक्ष ३ खर्ब नोक्शान पुर्याउने प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको संलग्नता देखिएको छ । जयवीरको दुई वर्षयताको विदेश ओहोरदोहोर एनसेल प्रकरण सफल बनाउनका लागि पनि भएको खुलेको हो ।

२१ मई २०२२ मा सिंगापुरमा एनसेलको शेयर विक्री र कर छलीसम्बन्धी भित्री सम्झौता भएको थियो । स्वतन्त्र सांसद अमरेश सिंहले यो सम्झौताबारे सनसनीपूर्ण खुलासा गरेका छन् । त्यतिबेला देउवा प्रधानमन्त्री थिए ।

सिंहले संसदीय समितिमा गरेको खुलासा अनुसार तत्कालीन प्रधानमन्त्री देउवाका छोरा जयवीरको संलग्नतामा सिंगापुरमा एनसेलको सम्झौता भएको थियो ।

एनसेल प्रकरणमा भित्री रुपमा शेयरवापत्को प्रतिशत जयवीरलाई पनि दिने गरी सहमति बनाइएको थियो । त्यही सहमति अनुसारको लामो गृहकार्यपछि एक साताअघि एनशेल कौडीको भाउमा विक्री भएको घोषणा गरिएको थियो ।

पछिल्लो समय देउवापुत्र जयवीर व्यवसायिक गतिविधिमा सक्रिय रहेका छन् । उनलाई आरजु देउवाले यस्ता डिलहरुमा पोख्त बनाउन सक्रिय बनाएको बुझिएको छ ।
यसैगरी, एनसेल प्रकरणमा प्रधानमन्त्री प्रचण्डको परिवारको पनि संलग्नता रहेको विषय बाहिर आइरहेको छ ।

देउवा प्रधानमन्त्री हुँदा एनसेलको योजना बुनेर सम्झौता गरिएको र प्रचण्ड प्रधानमन्त्री हुँदा कार्यान्वयनमा लगिएको छ । यी दुवैलाई एनसेल माफियाले व्यवस्थापन गरेको बुझिएको छ ।

एनसेलबाट चुनाव खर्च लिएका कतिपय नेताहरुले यसको विरोधमा बोलिरहेका छैनन् । विश्वस्त स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको एनसेल सञ्चालकसँग सञ्चारकर्मी हुँदा नै विशेष सम्बन्ध रहेको थियो । उनले पनि एनसेलबाट चुनाव खर्च प्राप्त गरेको बुझिएको छ ।

एनसेलको विषयलाई सामसुम पार्न नियामक निकायलाई सक्रिय हुन नदिने योजना अनुसार टंकमणि शर्माको अध्यक्षतामा छानबिन समिति गठन गरिएको खुलेको छ । समितिलाई एक महिना समय दिएपछि लम्ब्याउँदै लाने र घटनालाई सामसुम पार्ने चलखेल भएको छ ।

एनसेल प्रकरण सफल बनाउनकै लागि माफियाको योजना अनुसार मुख्यसचिवमा बैकुण्ठ अर्याललाई योजनावद्ध तरिकाले ल्याइएको थियो । उनी सञ्चार सचिव हुँदा एनसेल माफियासँग जोडिएका थिए । अर्यालले नियामक निकायलाई एनसेल छानबिनका लागि अगाडि नबढाउने गरी गतिविधि चलाएका छन् ।

एनसेलको ३ खर्बको सम्पत्तिलाई १० अर्बभन्दा कम मूल्यांकन गराएर साँढे ६ अर्बमा ८० प्रतिशत शेयर विक्रीको घोषणा गरिएको छ । शेयर विक्री गर्ने मलेशियन कम्पनी अजियाटाले २०२९ सम्म मुनाफा भने पाइरहने हाँस्यास्पद सहमति बनाइएको छ । रोचक त यो छ कि बेलायतमा खोलिएको एनसेलको शेयर खरिदकर्ता कम्पनी यसका सञ्चालक शतिशलाल आचार्यकै हो ।

एनसेलले ५७ अर्ब कर छली गरेको विषय अदालतमा विचाराधीन नै छ । त्यसमाथि फेरि योभन्दा बढी कर छलीको चलखेल गरेको छ । अर्कोतर्फ, देशको खरबौं रकम विदेश लाने र देशमा लगानीको वातावरण छैन भनी दुष्प्रचार गर्ने जस्ता राष्ट्रघाती कार्य भएको छ ।

एनसेल प्रकरण सफल बनाउनकै लागि उपेन्द्र महतोका भाई वीरेन्द्र महतोलाई मन्त्री बनाइएको पनि खुलेको छ । महतो पछिल्लो समय प्रधानमन्त्री प्रचण्डको हरेकजसो विदेश भ्रमणमा देखापरिरहेका छन् ।

प्रतिक्रिया