३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सेनापतिले पोखे रथीका प्रतिष्पर्धीहरुप्रति असन्तुष्टि, अमर्यादित र अस्वस्थ नबन्न चेतावनी


December 5, 2023
47.6k
Shares

काठमाडौं, १९ मंसिर । प्रधानसेनापति प्रभुराम शर्माले रथी बन्न अस्वस्थ र अमर्यादित प्रतिष्पर्धा भएको खुलासा गरेका छन् । उनले मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा सेनाभित्र कसैलाई पनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्ने दुर्भावना नराख्न भने ।

नेपाली सेनामा रथीका लागि प्रतिष्पर्धी उपरथीहरुबीच नागरिकता र शैक्षिक प्रमाणपत्रको विषय उठाएर एकले अर्कोको बढुवा रोक्ने गतिविधि चलिरहँदा सेनापति शर्माको पछिल्लो भनाई आएको हो ।

शर्माले सेनाभित्र प्रमाणपत्र, नागरिकता जस्ता कागजातको विषय आएकोमा सम्बद्ध निकायहरुबाट यकीन गरेर मात्र जंगी अड्डाले कारबाही अगाडि बढाउने गरेको दाबी गरे । तर, रथी बढुवाका लागि सिफारिश भएका ताराध्वज पाण्डेको नागरिकतामा जन्ममिति सच्याइएको तथ्य फेला परेको थियो । त्यसपछि उनी राजीनामा दिन वाध्य भए ।

पछिल्लोपटक रथी बढुवाका लागि सिफारिश भएका अशोक सिग्देलको पनि नागरिकताको प्रमाणपत्र विवादमा परेको छ । उनीमाथि अख्तियारले छानबिन गर्न रक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।

सेनापतिले पाण्डेको राजीनामा र सिग्देलको नागरिकता छानबिनको विषयलाई सेनाभित्र एकले अर्कोविरुद्ध अमर्यादित र अस्वस्थ क्रियाकलापको संकेत गर्नुलाई अर्थपूर्ण मानिएको छ । उनले रिक्त रथीको बढुवा प्रक्रिया सुरु भएसँगै प्रतिष्पर्धीहरुको उमेर, शैक्षिक योग्यता आदीलाई विषयवस्तु बनाई अतिरञ्जित तबरले प्रचारबाजी भएको समेत बताए ।

प्रतिक्रिया