३१ भाद्र २०८१, सोमबार | September 17, 2024

भूकम्पपीडितका नाममा विदेशीसँग हात पसार्ने दलहरु


November 18, 2023
0
Shares

दीपेश केसीः जाजरकोट भूकम्पपीडित प्रभावितका लागि विदेशी सहयोग ओइरिइरहेको छ । त्यस्ता सहयोग सिधै नेपाल सरकारलाई या गैर सरकारी संस्थामा पुगेका छन् । उनीहरुमार्फत् राहत जनतासम्म पुग्ने गरी संयन्त्र बनाइएको छ । तर, कहीं नभएको जात्रा हाडीगाउँमा भएको छ एउटा सहयोग । त्यो हो चिनियाँ कम्युनिस्ट पार्टीले भूकम्पपीडितका लागि भन्दै चार राजनीतिक दललाई उपलब्ध गराएको राहत सामाग्री ।

चिनियाँ कम्युनिस्ट पार्टीबाट भूकम्पपीडितका लागि भन्दै राहत सामाग्री बुझ्नेमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी छन् । प्रत्येक दललाई दुई करोड ७४ लाख ७५ हजार बराबरको राहत सामाग्री चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले हस्तान्तरण गरेका छन् । अब ती दलहरुमार्फत् सामाग्री भूकम्पपीडितकोमा पुग्ने उल्लेख छ ।
चीनले चार दललाई राहत सामाग्री उपलब्ध गराएर रणनीतिक सफलता लिन सकेको छ । तर, के दलहरुले त्यस्ता सामाग्री विदेशी दलबाट लिनु जायज थियो ? यो प्रश्न उठेको छ अहिले । अहिलेसम्म नेपालको इतिहासमा कुनैपनि राजनीतिक दलले विदेशीबाट राहतका लागि भन्दै सामाग्री लिएका थिएनन् । त्यो पनि एकैपटक संसदमा प्रतिनिधित्व गर्ने मुख्य चार दलले । यसले ती दलहरुमाथि कूटनीतिक र नैतिक प्रश्न तेर्सिएको छ ।

राजनीतिक दलहरुले कुनैपनि विदेशीसँग सहयोग लिन मिल्दैन । कि त सिधै सरकारले लिन्छ या त सामाजिक संस्थाले विभिन्न प्रक्रिया पूरा गरी लिन्छन् । नेपालमा राजनीतिक दलहरु सिधै पीडित र प्रभावितका नाममा विदेशीबाट सहयोग लिन थाले भन्ने सन्देश गएको छ अहिले ।

भूकम्पपीडितसम्म पुग्न पनि संयन्त्र चाहिन्छ । त्यस्ता सामाग्री पुर्याउन राज्यसँग सुरक्षाकर्मी देखि कर्मचारी हुन्छन् । उसले आफ्नै संयन्त्र बनाएर प्रभावितकोमा पुगेर राहत उपलब्ध गराउँछ । त्यसको नियमन पनि दरिलो हुन्छ । दलहरुले सम्भवत आफ्ना कार्यकर्ता परिचालन गर्छन् । त्यसबाट उनीहरुले राजनीतिक लाभ लिने गतिविधि गर्न सक्छन् । यसले अर्को समस्या ल्याउन सक्छ ।

अब प्रश्न उठ्छ भविष्यमा अन्य मुलुकले सिधै दलहरुलाई भूकम्पपीडित या अन्य नाममा सामाग्री उपलब्ध गराउने थालेमा के हुन्छ ? नेपालमा काँग्रेस, एमाले, माओवादी र एस मात्र छैनन् । नयाँ दलहरु पनि आएका छन् । क्षेत्रीय दलहरु पनि सक्रिय छन् । भविष्यमा ती दलहरुले पनि विदेशीबाट यस्तै सामाग्री लिदै आफ्नो प्रभाव बढाउन खोज्ने अवस्था नआउला भन्न सकिन्नँ । जे होस् भूकम्पपीडितका नाममा चीनबाट सिधै दलहरुमा राहत सामाग्री पुग्नुले दलीय राजनीतिमा नयाँ बेथिती निम्तन सक्छ ।

नेपालमा भारत, अमेरिका, यूरोपेली युनीयन जस्ता शक्तिहरुको चासो उत्तिकै छ । उनीहरु सरकारमार्फत् या गैरसरकारी संस्थामार्फत् सहयोग रकम या सामाग्री लक्षित समूहसम्म पुर्याउने गर्दै आएका छन् । त्यस्ता गतिविधिमा पनि स्वार्थ नलुकेको होइन । तर, सिधै दलहरुमार्फत् शक्तिशाली देशहरुले खुलेआम गतिविधि गर्ने अवस्था विकास भएको छ ।

प्रकोपका बखत विदेशी सहयोग सरकारमार्फत् सरकारलाई हुनु पारदर्शी र जायज हुनसक्छ । तर, दलहरुले आफ्नो गरिमा नराखी भूकम्पपीडितका नाममा विदेशी दलको सहयोग थापेका छन् । जबकि उनीहरुले आफ्नै स्रोतबाट सरकारलाई सहयोग उपलब्ध गराएका छन् । सहयोग गर्नसक्नेहरु नै भूकम्पपीडितका नाममा हात थाप्नु कतिसम्म जायज हो ?

देशलाई त मगन्ते बनाए बनाए दलहरु नै आफै मागेर हिंड्ने अवस्थामा पुगेका छन् भन्ने देखाएको छ यो घटनाले । त्यसै पनि एकजना चिनियाँ विद्धानले नेपालीलाई सुनको कचौरा बोकेर माग्न हिंड्ने भनिरहेका छन् । त्यस्तै उदाहरण बनेका छन् काँग्रेस, एमाले, माओवादी र एस । यी दलहरुले जनताको विश्वास गुमाउँदै जानुको कारण पनि यस्तै गतिविधि हो ।

नेपालीहरु मनकारी छन् र पीडामा परेकालाई खुलेर सहयोग गर्छन् । तर, दल र तिनका मुख्य नेताको मगन्ते र अविश्वसनीय गतिविधिका कारण जनताले सहयोग गर्न हिच्किचाउँछन् । त्यसैले त पीडितका लागि खासै सहयोग रकम देशभित्रबाट जुट्न सकेन । आर्थिक विचलन मुख्य दलका नेतामा बढेको छ । विदेशीको सहयोग के लिने के नलिने ? कुन अवस्थामा लिने र कुन अवस्थामा नलिने ? यो हेक्का दलका नेतामा हुन जरुरी थियो । तर, सहयोग पायो कि हात पसारीहाल्ने, विदेश जान पायो कि पासपोर्ट बोकेर एयरपोर्ट दौडिइहाल्ने स्वभाव बोकेका नेताका कारण देशको प्रतिष्ठामै आँच पुग्न थालेको छ । उनीहरुले भूकम्पपीडितका नाममा सहयोग सामाग्री थापेर आफ्नै गरिमामा आँच पुर्याएका छन् । जनताको अपमान गरेका छन् । यसले भविष्यमा अन्य दलहरु पनि विदेशी सामु गरिबी, भोक, रोग र प्रकोपका नाममा हात पसार्न थाल्ने सम्भावना रहन्छ । जसले नेपाली राजनीतिमा दूरगामी असर पर्नेनै छ ।

प्रतिक्रिया