३ आश्विन २०८१, बिहिबार | September 19, 2024

केपी ओलीले विदेशमा पैसा लुकाएका हुन् ?


November 2, 2023
0
Shares

नेपाल पेन संवाददाता । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला निकै तनाबमा छन् । उनले कुनैबेला आफैले केन्द्रीय सदस्य बनाएको दुर्गा प्रसाईंले विदेशमा रहेको अवैध लगानीको सनसनीपूर्ण खुलासा गरिदिएका छन् । प्रसाईंले ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरे । तर, ओलीले विदेशमा पैसा भए थपेर दिने भन्दै चुनौती दिए । उनले नाकाबन्दीको विरोध गरेपछि भारतको मिडियाले अफवाह फैलाएर यसबारे समाचार बनाएको समेत दाबी गरे । ओलीले यसमा पनि ठूलै झुट बोलेका छन् ।

ओलीको कम्बोडियाको टेलिकममा लगानीबारे सनसनीपूर्ण खुलासा त ३ वर्ष अघि नै भएको हो । सन् २०२० को जुलाई १२ मा खोजमूलक सामाग्री बाहिर ल्याउने फ्रान्सेली पत्रकार रोल्यान्ड ज्याककार्डले ओलीको विदेशमा रहेको लगानीबारे ग्लोबल वाच एनलिसीसमा सार्वजनिक गरेका हुन् । ज्याकार्ड चर्चित पत्रकार हुन् र उनले विश्वका ठूला भ्रष्टाचार र कालो धनबारे सनसनीपूर्ण खुलासा गरेका छन् ।

ज्याकार्डको खबर अनुसार ओलीको कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी रहेको छ । उक्त लगानीका लागि तत्कालीन चिनियाँ राजदूत हु चुन्ताईले समन्वय गराइदिएका थिए । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङ छिरिङ शेर्पाले त्यतिबेला लगानीको चाँजापाँजो मिलाउन भूमिका खेलेका थिए । उनी ओलीका निकट व्यापारी थिए । यति एयरलाइन्सका मालिक आङछिरिङले ओली शक्तिमा रहँदा निकै ठूलो व्यापारिक लाभ पन लिए ।

ओलीको लगानी कम्बोडियामा पु¥याउन चिनियाँ कुटनीतिज्ञ फेनोम फेन बो जियाङगिओ पनि संलग्न थिए । उनैले ओलीको कम्बोडियाका तत्कालीन प्रधानमन्त्री हुन सेनसँग समन्वय गराइदिएका थिए । यसरी चिनियाँहरुले विशेष भूमिका खेलेर ओलीको लगानी कम्बोडियासम्म पु¥याएको ग्लोबल वाच एनेलेसिसले उल्लेख गरेको छ । ओलीले चिनियाँ टेलिकम कम्पनी हुवावेको हितमा हुनेगरी निर्णय गर्न लगाएको पनि समाचारमा उल्लेख छ । यतिसम्मकी हुवावेले प्रधानमन्त्री कार्यालयमा भिडियो कन्फेरेन्सिङ सुविधाको डिजिटल एक्सन रुमको ठेक्का पनि पाएको उल्लेख छ । हुवावेले ओलीको पालामा धेरैभन्दा धेरै ठेक्काहरु पाएको थियो ।

विश्व चर्चित खोजपत्रकारले खुलासा गरेको ओलीको विदेशमा लगानीको खबरबारे उनले अहिलेसम्म कुनै खण्डन गरेका छैनन् । बरु उनले भारतीय मिडियाले यसबारे भ्रम फैलाएको आरोप मात्र लगाए । यसरी ओलीले सर्वसाधारणको आँखामा धुलो हाल्न मात्र खोजे । ओलीको कम्बोडियामा लगानीको विषय आउनु र उनको त्यहाँ आवतजावत बाक्लो हुनुमा कुनै न कुनै सम्बन्ध रहेको चर्चा पनि चलिरहेको छ । ओली कम्बोडियाको चुनावमा पनि पर्यवेक्षकका रुपमा पुगेका थिए । प्रधानमन्त्री हुँदा पनि कम्बोडिया भ्रमणमा पुगे । उनको त्यहाँ विशेष सम्बन्ध त्यसै भएको होइन भन्ने चर्चा चल्नु स्वाभाविक हो ।

ओलीले चिनियाँ लगानी भित्राउन र चिनियाँ कम्पनीलाई ठेक्का दिलाउन पनि खुबै मिहेनत गरे । उनी प्रधानमन्त्री हुँदा चीनसँग धेरैभन्दा धेरै सम्झौताहरु भए । टेलिकम र दूरसञ्चार क्षेत्रमा चिनियाँ कम्पनीहरुको प्रवेश बढ्यो । निर्माणसम्बन्धी ठेक्कामा चिनियाँ कम्पनीहरु बढी आए । जसमध्ये फाष्ट ट्रयाक र बुटवल नारायणगढ सडकखण्ड पनि हुन् । ओलीले चिनियाँ कम्पनीहरुका लागि नेपालमा बलियो आधार बनाइदिए । ती कम्पनीहरु अहिले नेपालमा निर्माणमा सक्रिय छन् । तर, उनीहरुले समयमै काम नगरेर हैरान पारिरहेका छन् । नेपाललाई ऋण बोकाउने गरी बीआरआई ल्याउन पनि ओली नै लागिपरे । ओलीको यही व्यवहारका कारण पनि पश्चिमाहरुले उनको विदेशमा रहेको लगानीबारे खुलासा गरिदिएको चर्चा छ । यतिसम्मकी स्वीस बैंकमा ओली परिवारको ठूलो रकम रहेको विषय पनि पश्चिमा मिडियामा आएको छ ।

प्रतिक्रिया