२३ भाद्र २०८१, आइतबार | September 8, 2024

कानून विपरीत राससको आन्तरिक परीक्षा लिँदै लोक सेवा आयोग


September 1, 2023
0
Shares

काठमाडौं, १५ भाद्र । लोक सेवा आयोगले साउन महिनामा प्रकाशित गरेको राष्ट्रिय समाचार समिति (रासस) को आन्तरिक परीक्षामा पनि कानूनविपरीत गर्न लागिएको रहस्य खुलेको छ ।

यस विषयमा कानुनको शासनका पक्षधर समूहले साउन ३० गते आयोगमा दर्ता नंं १६७ मा निवेदन दर्ता गरेको प्रमाण लोकसेवा आयोग स्रोतले उपलब्ध गराएको छ । राससको वेबसाइटमा रहेको विनियमावली (सेवा, शर्त, संशोधन २०७६) को विपरीत आन्तरिक परीक्षाका लागि फारम भराइएको उजुरीमा उल्लेख गरिएको छ । परीक्षाका लागि आयोगले भदौ तेस्रो सातादेखि नै परीक्षा तालिका सार्वजनिक गरिसकेको छ ।

आन्तरिक परीक्षामा सहभागी हुन विनियमावलीको दफा ५४ (२) मा सेवा, समूह, उपसमूह परिवर्तन गर्न चाहनेका लागि उपयुक्तता परीक्षणको लिखित परीक्षा दिनुपर्ने व्यवस्था छ । तर यस्तो परीक्षा नलिइकन केही कर्मचारीको अर्कै सेवा, समूह र उपसमूहमा फारम भराइएको छ । यसरी कानुनविपरीत फारम भराइएकालाई छानबिन गरी आगामी भदौमा त्यस आयोगले प्रकाशित गरेको तालिका अनुुसारको परीक्षामा सहभागी नगराउन उजुरीमा अनुरोध गरिएको छ ।

लोकसेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले सामान्यतयाः अदालतबाट स्टे अडर जारी नभएसम्म घोषित परीक्षा नरोकिने प्रचलन रहेको बताए । उनले भने, परीक्षा सामान्यतया रोकिदैन ।

यसअघि आयोगका प्रतिनिधिसमेतको सहभागितामा गत असार २७ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार बढुवा गर्दा पनि सेवा, समूह र उपसमूह परिवर्तनको परीक्षा नलिएकालाई बढुवा गरिएको भनी राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी त्यहाँबाट थप अनुसन्धान भइरहेको सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाएको उजुरीमा उल्लेख गरिएको छ ।

यसअघि २०७७ सालमा विज्ञापन गर्दा पनि रासस प्रशासनले केहीलाई सेवा, समूह र उपसमूह परिवर्तन गरी फारम भर्न दिएको र केहीलाई नदिएको रहस्य खुलेको छ । त्यसबेला कुमारी कमला पौडेल खनाल र अशोक घिमिरेलाई सेवा, समूह र उपसमूह परिवर्तनको परीक्षा नलिई अर्कोतिर फारम भर्न दिइएको थियो । यसरी फारम भर्दा अशोक घिमिरे गैरकानूनी रुपमा फारम भरी आन्तरिक परीक्षामार्फत् उत्तीर्ण भई बढुवा भएका थिए । त्यसको पनि छानबिन गरी दोषीमाथि कारबाही गर्न समूहले माग गरेको छ । राससका तत्कालीन कार्यकारी अध्यक्ष श्यामल भनिने हरिहर अधिकारी र महाप्रबन्धक ओपेन्द्र शर्माको मिलेमतो यस्ता भएको जनाइएको छ । यस वर्ष पनि सेवा, समूह र उपसमूहको परीक्षा नदिई आन्तरिक परीक्षाका लागि फारम भरेकालाई परीक्षामा सहभागी नगराई लोक सेवा आयोगको विश्वसनीयता कायम राखिरहन उजुरीमा अनुरोध गरिएको छ ।

गैर कानूनी काममा संलग्न हुने लोक सेवाका प्रतिनिधिलाई पनि कानून अनुसार कारबाहीको माग समूहले उजुरीमार्फत् गरेको छ । यसअघि लोक सेवाका तर्फबाट राससमा प्रतिनिधित्व गर्ने दीपकप्रसाद सुवेदी थरका कर्मचारीले राससबाट आफू र आफ्ना आफन्तलाई समेत मनपरी रुपमा गाडी माग गरी त्यसवापत् रासस व्यवस्थापनले तयार पारेको गैरकानुनी काममा आँखा चिम्लिएर सही छाप गरेको पनि उजुरीमा उल्लेख गरिएको छ ।

लोक सेवा आयोगबाट विभिन्न संस्थानमा प्रतिनिधित्व गर्ने अन्य कर्मचारीले पनि यसरी नै आफ्नो स्वार्थपूर्ति भएपछि सम्बन्धित कार्यालयका व्यवस्थापन पक्षले तयार पारेका कागजातको अध्ययन नगरी गैर कानूनी कामलाई मान्यता दिएका छन् । जसले गर्दा संवैधानिक निकायले गरेको भनी वैधानिकता मिल्नुका साथै गलत गर्नेलाई प्रोत्साहन मिलिरहेको छ । जसका कारण लामो समयदेखि जनतामा विश्वसनीय संस्थाका रुपमा स्थापित लोक सेवा आयोगको गरिमामा आँच आउन थालेको छ ।

प्रतिक्रिया