८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

अफ्रिकामा किन चल्यो ‘सैनिक कू’ को लहर


August 31, 2023
0
Shares

एजेन्सी, १४ भाद्र । अफ्रिकी मुलुकहरु प्राकृतिक स्रोतले सम्पन्न छन् । त्यहाँ सुन, हीरा, युरेनियम, तेलका खानी छन् । तर, अधिकांश प्राकृतिक स्रोतमा विदेशी कम्पनीको हालीमुहाली छ । त्यस्ता कम्पनीहरु सम्बन्धित देशको सरकारबाट संचालित हुन्छन् या त शासकसँग नजिक हुन्छन् । ती कम्पनी र सम्बन्धित देशले नै अफ्रिकाको हिंसात्मक द्वन्द्व देखि राजनीतिक उलटपुलटमा मुख्य भूमिका खेल्ने गरेका छन् ।

कतिपय अफ्रिकी मुलुकहरुमा सुरक्षा घेराभित्र रहेका राष्ट्रपतिको हत्या भएका छन् । कतिपय अवस्थामा केही महिनामै लाखौंको हत्या भएको छ ।

केही वर्षबीच पश्चिम अफ्रिकाका देशमा सैनिक कू को लहर नै चलेको छ । यसै हप्ता गाबोनमा सैनिक कू भएको छ । त्यहाँका राष्ट्रपतिले विवादास्पद निर्वाचनमा आफू निर्वाचित भएको घोषणा गरेलगत्तै कू भएको छ । गाबोन तेलको खानी प्रशस्त भएको देश हो । विगतमा उक्त मुलुक फ्रान्सको उपनिवेश थियो र त्यहाँ फ्रान्सेली कम्पनीहरुले स्रोतमाथि नियन्त्रण बनाइरहेका छन् ।

एक महिना अघिमात्र नाइजरमा सैनिक कू भएको छ । उक्त देशका राष्ट्रपतिलाई पुन सत्ता फिर्ता गर्न पश्चिमा देशहरुको साथ पाएका नाइजेरियासहित देशहरुले दबाब बढाएका छन् । सैनिक आक्रमणको पनि चेतावनी दिएका छन् । तर, नाइजरको सैनिक शासक पछाडि हट्न तयार छैनन् ।

बुर्किना फासोमा २०२२ मा सैनिक कू भयो । त्यहाँ इस्लामिक अतिवादीहरुको चुनौती रहँदै आएको छ । रुसी निजी सैनिक समूह वाग्नरको पनि प्रभाव छ उक्त देशमा ।
मालीमा २०२१ मा सैनिक कू भएको थियो । त्यहाँ एक हजार वाग्नर सैनिक रहेको बताइन्छ । अमेरिकासहित पश्चिमा देशहरुले मालीमाथि प्रतिबन्ध लगाएका छन् ।
गिनीमा २०२१ मा सैनिक कू भयो । त्यहाँ पनि शक्तिराष्ट्रहरुको प्रभाव बढाउने प्रतिष्पर्धा चलेको छ ।

चाडमा २०२१ मा राष्ट्रपति इड्रिस डेबी मारिए । डेबी पश्चिमा शक्तिसँग नजिक थिए । उनको हत्यापछि त्यहाँ सैनिकले शक्ति हातमा लिएको छ ।

२०२१ मा सुडानमा सैनिक कू भयो । त्यहाँ अहिले पनि दुई पक्षका सुरक्षाकर्मीबीच द्वन्द्व छ । ओमार अल बसिर २०१९ मा शक्तिबाट हटाइएपछि उत्तरी सुडानमा अस्थिरता बढेको छ ।

अफ्रिकामा एकपछि अर्को सैनिक कू का पछाडि विभिन्न शक्तिराष्ट्रको प्रतिष्पर्धा नै हो । पश्चिमा शक्तिको चीन र रुससँग अफ्रिकामा प्रभाव बढाउने प्रतिष्पर्धा छ । पछिल्ला ३ वर्षमा सैनिक कू भएका अफ्रिकी मुलुकहरुमा फ्रान्सको प्रभाव देखिन्छ । त्यहाँ फ्रान्सेली भाषा बोल्नेहरु नै बढी छन् ।

फ्रान्सको प्रभाव गुम्दै गएको घटनाका रुपमा सैनिक कू हरुलाई लिइएको छ । चीनले अफ्रिकामा आफ्नो प्रभाव बढाइरहेको छ । अमेरिकाले पनि आफ्नो चासो बढाइरहेको छ । रुसले त वाग्नरका माध्यमले प्रभाव बढाइरहेको छ । कतिपय सैनिक कू भएका देशहरुमा रुसी झण्डा बोक्नेहरु पनि देखिएका छन् । जे जस्तो घटना भएका छन् त्यसका पछाडि अफ्रिकी मुलुकहरुको अथाह प्राकृतिक स्रोतमाथिको नियन्त्रण कायम गर्नु नै हो । ती क्षेत्रमा आर्थिक लाभ लिने उद्देश्य पनि निहित देखिन्छ । जसको मूल्य त्यहाँका जनताले चुकाइरहेका छन् ।-Photo Source: The Washington Post

प्रतिक्रिया