५ आश्विन २०८१, शनिबार | September 21, 2024

विश्वकप जितिसकेको पाकिस्तानसँग एशियाकप क्रिकेटमा नेपाल पराजित


August 30, 2023
0
Shares

काठमाडौं, १३ भाद्र । एशियाकप क्रिकेटमा नेपालले पाकिस्तानसँग हार व्यहोरेको छ । नेपालले पाकिस्तानले बनाएको ३४२ रनको लक्ष्य पछ्याउँदा २३.४ ओभरमा १०४ रन बनाउन सक्यो । पाकिस्तानले २३८ रनको अन्तरमा जित निकाल्यो ।

पाकिस्तानले पहिले ब्याटिङ गरेको थियो । पहिले फिल्डिङमा उत्रिएको नेपालले १० ओभरभित्रै २ विकेट लिइसकेको थियो । पाकिस्तानी ब्याट्सम्यानहरु नेपाली बलरसामु रन बनाउन सकिरहेका थिएनन् ।

नेपालले ४ विकेट लिंदा पाकिस्तान अपठ्यारोमा परेको थियो । तर, पाकिस्तानका स्टार ब्याट्सम्यान बाबर आलमलाई क्याच आउट गर्ने अवसर गुमाउनु नेपालका लागि भारी पर्न गयो । उनले सतक नै बनाए ।

ब्याटिङमा उत्रिएको नेपालले पहिलो ओभरको दुई बलमै ८ रन बनाइसकेको थियो । तर, त्यसपछि लगातार दुई विकेट गुमाएपछि नेपालको ब्याटिङ लाइन धरमरायो । त्यसपछि ब्याट्सम्यानहरुले खासै रन बनाउन सकेनन् ।

विश्वकप जितिसकेको पाकिस्तान क्रिकेटमा बलियो शक्ति हो । सन् १९९२ मा पाकिस्तानले विश्वकप जित्दा इमरान खान कप्तान थिए । उनी पाकिस्तानको प्रधानमन्त्री बनिसकेका छन् । हाल उनी जेलमा छन् ।

पाकिस्तानमा क्रिकेटमा ठूलो लगानी छ । नेपालले क्रिकेटको लामो इतिहास बोकेको पाकिस्तानसँग पहिलोपटक वन डे खेलेको हो । त्यसमा हार व्यहोरेपनि नेपालले सम्मानजनक खेल खेल्न सक्यो ।

प्रतिक्रिया