१२ श्रावण २०८१, शनिबार | July 27, 2024

महराको राजनीतिक जीवन धरापमा


August 30, 2023
0
Shares

काठमाडौं, १३ भाद्र । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पटक पटक विवादमा मुछिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र मानिएका महरा सभामुख हुँदा बलात्कारको प्रयासको आरोपमा पक्राउ परी राजीनामा दिन वाध्य भए । पछिल्लो समय उनी परिवारसहित सुनकाण्डमा मुछिएका छन् ।

महरा परिवार इलेक्ट्रिक चुरोट भेपमा सुन लुकाएर ल्याएको आरोप खेपिरहेको छ । उनका छोरा राहुल महरा त यही प्रकरणमा पक्राउ परी हिरासतमा राखिएका छन् । उनीमाथि छानबिन चलिरहेको छ । महरा परिवारको सुन तस्करमा संलग्नताको प्रश्न जोडतोडले उठेपछि प्रचण्ड पनि छानबिनमा पछि हट्न सकेनन् । त्यसमाथि चिनियाँ गिरोहसँग उनीहरुको साँठगाँठको विषय उठ्यो । कृष्णबहादुर महराले संलग्नता अस्वीकार गर्दै आए । तर, धेरै तथ्यहरु बाहिर आयो ।

महरा माओवादी सशस्त्र गतिविधि नहुँदै चुनाव लडेर जितेका थिए । माओवादी भूमिगत भएपछि महरा विभिन्न समयमा महत्वपूर्ण जिम्मेवारी पाउन सके । उनी तत्कालीन सरकारसँग वार्ता गर्ने कमिटिमा समेत थिए । उनी बलात्कारको प्रयासको आरोपमा त जोगिन सके । त्यसपछि राजनीतिमा फेरि सक्रिय भए । तर, फेरि सुनकाण्डमा परेर समस्यामा परेका छन् ।

विगतमा चिनियाँ व्यापारीसँग करोडौंको लेनदेनमा बोलेको अडियो टेप आएको थियो । त्यसमा महरामाथि आरोप थियो । तर, उनी त्यस समय यो घटना सामसुम पार्न सफल भए । अब भने उनलाई सुनकाण्ड सामसुम पार्न कठिन पर्ने देखिन्छ । माओवादी अध्यक्ष प्रचण्डकै नेतृत्वको सरकार हुँदा महराका छोरा राहुल समातिएका छन् । यो घटनालाई अर्थपूर्ण मानिएको छ ।

माओवादीभित्र पछिल्लो समय विभिन्न गुट उपगुटको टकराव बढिरहेको छ । गृहमन्त्री समेत रहेका माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रचण्डको उत्तराधिकारीको दाबेदार हुन् । उनले माओवादीभित्रै आफ्ना आन्तरिक प्रतिद्वन्द्वीलाई तारोमा पारेको विषय उठ्दै आएको छ। सुन प्रकरणमै मुछिएका वर्षमान पुन पनि अप्ठ्यारोमा परेका छन् । उनको परिवार पनि सुन तस्करको गिरोहसँग जोडिएको विषय उठ्दै आएको छ ।

माओवादीभित्र भावी नेतृत्वको दाबेदार मानिएका नेताहरुमा जर्नादन शर्मा, वर्षमान पुन पनि हुन् । उनीहरुको सांगठनिक पकड छ । नारायणकाजी श्रेष्ठ सशस्त्र गतिविधिमा सहभागी नभएका नेता हुन् । माओवादीभित्रको पछिल्लो आन्तरिक टकरावले पनि धेरै घटना विकास भएको छ । यस टकरावका दौरान महराको राजनीति धरापमा पर्ने देखिएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया