३ आश्विन २०८१, बिहिबार | September 19, 2024

जनै पूर्णिमा कहिले गर्ने ?


August 29, 2023
0
Shares
श्याम खनाल: हाम्रा पञ्चाङ्गहरूमा भाद्र १४ गते रक्षाबन्धन भनी लेखिएको छ र त्यही अनुसारको तयारीमा लाग्दै पनि थियौँ । तर एक्कासी यस सम्बन्धमा विद्वान्‌हरूले आफ्नो धारणा राखेको देखियो । यसै सम्बन्धमा हिँज राती ११ बजेतिर आदरणीय विद्वान्‌ गुरु सहप्रा. केशवशरण उपाध्याय गुरुले आफ्नो मुहारपुस्तिकामा रक्षाबन्धन १३ गते बाँध्ने निर्णय गरियो भन्ने कुरा राख्नुभएको रहेछ ।
सामान्य मानिसहरूले हल्ला मच्चाएका भए त सामान्य नै हुन्थ्यो तर अत्यन्तै आधिकारिक र हामी वैदिक सनातनीहरूका विभिन्न समस्याको उचित समाधान गरिदिने आदरणीय गुरुबाट आएको कुराले मनमा उत्सुकता जाग्यो । फोन गरौँ भने राती भइसकेको थियो । अब के गर्ने गर्ने भन्ने भयो । अनि निर्णय सिन्धु पल्टाएर हेरेँ ।
निर्णय सिन्धुमा स्पष्टसँग नन्दासंज्ञक तिथिको उदयमा रक्षाबन्धन बाँध्नुहुँदैन भनेर लेखिएको रहेछ । आखिर प्रतिपदा त नन्दासंज्ञक तिथि नै भयो त । १४ गते विहानको ७:४९ बजेसम्म पूर्णिमा छन् भने त्यसपछि प्रतिपदा तिथि रहेका छन् । अझ त्यसदिनको अन्त्यको अलिकति भागमा द्वितीया तिथि पनि रहेका छन् । यसरी स्पष्टसँग प्रतिपदा तिथिको उदय भएको दिन किन रक्षाबन्धनको साइत राखिएछ, अघिल्लो दिन नै राम्रो हुन्थ्यो कि त भन्ने विचार मनमा खेल्यो ।
अनि अघिल्लो दिनको अवस्था पनि मैले पञ्चाङ्गमा हेरेँ । त्यहाँ चतुर्दशी तिथि विहानको १०।१७ सम्म रहेछन् । त्यसपछि पूर्णिमा तिथि लागेका रहेछन् । पूर्णिमा तिथिको पूर्वार्धमा त भद्रा हुने गर्छन् । फेरि भद्रामा त रक्षाबन्धन गर्न हुँदैन भनेर त्यहीँ निर्णय सिन्धुमा लेखेको छ । ती भद्रा त्यसदिन त रातीको ९।४ सम्म रहेछन् । त्यसैले विहान चतुर्दशी तिथि हुने र त्यसपछि भद्रा दिनैभरि हुने ।
फेरि श्रवणादि कर्मविधान त पूर्णिमामा गर्ने भन्ने विषय निर्णय सिन्धुमै लेखिएको रहेछ । त्यसैले पनि चतुर्दशीमा कर्म गर्न नमिल्ने र पूर्णिमा लागिसकेपछि दिनैभरि भद्रा भएकाले अर्को दिन नै अर्थात् पूर्णिमाको उदयमा नै उपयुक्त होला भनी पञ्चाङ्गनिर्णायक समितिले गरेको होला जस्तो जस्तो पनि लाग्यो ।
त्यसैले अन्त्यमा यसरी हामीजस्ता साधारण मानिसलाई भ्रम पर्न गएको रक्षाबन्धनको विषयलाई पञ्चाङ्गनिर्णायक समितिले शास्त्रसम्मत पुष्टिसहित के को आधारमा १४ गते गर्ने भनेको हो ? १३ गते गर्ने भन्ने विद्वान्‌हरूको कुरा के हो ?

प्रतिक्रिया