९ श्रावण २०८१, बुधबार | July 24, 2024

हिन्दूको पवित्रभूमिमा हिन्दूविरुद्ध ‘छदम युद्ध’ का छापामारहरु


August 28, 2023
166
Shares

डा. दीपेश केसीः नेपालको पछिल्लो जनगणनाले हिन्दूहरु ८१.१९ र बुद्ध धर्म मान्ने संख्या ८.२ प्रतिशत र किराँत ३.१७ प्रतिशत देखाएको छ । यी तीनवटै धर्म मान्नेहरुमा निकै समानता पाइन्छ । उनीहरुका कतिपय मन्दिर, गुम्बा या धार्मिक स्थलहरु समान नै छन् । मुक्तिनाथ, बौद्धनाथ, स्वयम्भुनाथ, मच्छिन्द्रनाथ र किराँतेश्वर यसका उदाहरण हुन् । तर, ९० प्रतिशत बढी जनसंख्यालाई योजनावद्ध तरिकाले विभाजित बनाउने र धर्मनीरपेक्षताका नाममा धर्मान्तरण गर्ने योजनावद्ध गतिविधिहरु भइआएका छन् । यस्ता गतिविधिका सहयोगी मुख्य दलका मुख्य नेता देखि आफूलाई कथित बुद्धिजीवी दाबी गर्नेहरु भइरहेका छन् ।

कतिपय व्यक्ति वा समूह राज्यको धर्म हुँदैन भन्दै भ्रम सृजना गरिरहेका छन् । सँसारमा धर्म नभएको मानिस हुँदैन । यति कसैले आफू नास्तिक दाबी गर्छ भने त्यो नै उसको धर्म हो । ऊ कसै न कसैलाई कुनै न कुनै रुपमा देवता मानिरहेको हुन्छ । जस्तो कम्युनिस्ट नेताहरु माक्र्स, लेनिन, स्टालिन र माओत्से तुङ जस्ता व्यक्तिहरुलाई अघोषित रुपमा देवता मानिरहेका छन् । उनीहरु हरेक वर्ष उनीहरुको जन्मोत्सव मनाउँछन् । अहिंसावादी भन्नेहरु बुद्ध र गान्धीलाई देवता मान्छन् ।

हुन त कार्ल माक्र्सले धर्मलाई अफिम भने । तर, उनैले माक्र्सवादलाई अघोषित रुपमा धर्मका रुपमा स्थापित गरिदिए । नयाँ अफिमका रुपमा मानिस मानिसबीच द्वन्द्वात्मक भौतिकवादको सोच भरिदिए । यही विचारले सँसारमा धेरै हिंसा गरायो । यसको भुक्तभागी नेपाल स्वयं पनि हो जहाँ १० वर्षे हिंसामा झण्डै १९ हजार मानिसले ज्यान गुमाए । वास्तवमा माक्र्सले आफ्नो धर्मको रक्षाको चार्तुयतापूर्वक पालना गरे । जुन धर्म हो यहुदी धर्म । आफ्नो धर्म बचाउन चार्तुयतापूर्वक भूमिका निभाउने भएकाले २०औं शताब्दीमा यहुदीहरुकै वर्चश्व रह्यो सँसारभर । इशाई धर्मका प्रवर्तक यशु यहुदी नै थिए । भौतिकशास्त्रका महान वैज्ञानिक आइन्स्टाइन, अर्थतन्त्रका कुशल सिद्धान्तकार कार्ल माक्र्स, यौन मनोविज्ञानका अध्ययनकर्ता सिग्मन्ड फ्राइड पनि यहुदी नै हुन् । सँसारमा लामो समय यीनै व्यक्तिहरुको विचार र सिद्धान्तका दबदबा रह्यो ।

तर, उनीहरुले यहुदी धर्मको हितमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका निभाइरहे । जसका कारण आजसम्म यहुदीहरु थोरै जनसंख्यामा रहेपनि विश्वमा प्रभाव जमाउन सफल छन् । उनीहरु जतिसुकै ठूलो वैज्ञानिक भएपनि यहुदी धर्ममा अडिग रहे । त्यसैले पनि प्रभावशाली रहे ।

नेपालमा पछिल्लो समय को बढी नास्तिक देखिने र को बढी धर्मनीरपेक्षको वकालत गर्ने भन्ने प्रतिष्पर्धा नै चलेको छ । वास्तवमा धर्मनीरपेक्ष त हिन्दू र बौद्ध धर्मालम्बीविरुद्ध छापामार युद्धको अस्त्र थियो भन्ने खुल्दै गएको छ । व्यक्तिको धर्म हुन्छ अनि राज्यको धर्म हुँदैन भन्दै संगठित भएका गिरोह निर्माण भएको छ । व्यक्ति व्यक्ति मिलेर समाज बन्छ अनि समाज मिलेर राष्ट्र बन्छ । व्यक्तिको धर्म हुन्छ भने राज्यको पनि धर्म हुन्छ । सँसारमा पशु र मानवबीच फरक छुट्याउने भनेकै धर्मले हो । मानवको आफ्नै धर्म हुन्छ । उसले कसै न कसैलाई देवता त मानेकै हुन्छ । चाहे त्यो पूर्वज हुन् या प्रकृति नै किन नहुन् या निराकार विभिन्न नामहरु । हिन्दू धर्ममा पूर्वजलाई मान्ने संस्कार छ । कुलदेवता मान्ने परम्परा छ । धर्मको जगमा उभिएको हुन्छ समाज र राष्ट्र । यसमा कसैले राज्यको धर्म हुँदैन भन्छ भने बुझे हुन्छ कि ऊ कुनै फरक धर्मको वकालत गर्दैछ जुन धर्म धर्मान्तरणमा लागेको छ ।

यतिबेला प्रमुख दल भनिएका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी को कति पानीमा छन् भन्ने छुट्टिदै गएको छ । काँग्रेसका एकजना नेता रामनाथ अधिकारी त खुलेआम चर्च निर्माणलाई आफ्नो ठूलो दायित्व सम्झिएर भाषणवाजी गर्दै हिंडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका भगवान कार्ल माक्र्स, लेनिन र माओ हुन् । उनले खुलेरै यसबारे लेखिसके । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जुँगा र कपाल स्टालिनको जस्तो छ र उनी माओलाई देवता मान्छन् ।

कार्ल माक्र्स उनका लागि अर्का देवता हुन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि माक्र्स र लेनिनका भक्त हुन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा वीपी कोइरालाका अनुयायी हुन् । वीपी पनि आफूलाई नास्तिक भन्थे । देउवा पनि धर्मनीरपेक्ष पक्षधर हुन् । काँग्रेसको नेतृत्वतहमा रहेका धनराज गुरुङ, विश्वप्रकाश शर्मा र गगन थापा सबै धर्मनीरपेक्ष हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धर्मनीरपेक्षका पक्षधर हुन् भन्ने उनको गतिविधि र अभिव्यक्तिले देखाइसकेको छ । आजको दिनसम्म आइपुग्दा नेपालको कुल जनसंख्याको ९३ प्रतिशतभन्दा बढी हिन्दू, बौद्ध र किराँत धर्म मान्ने नागरिकले प्रष्ट हुन जरुरी छ कि धर्मनीरपेक्षको वकालत गर्नेहरु इशाईका प्रचारक हुन् । उनीहरु छापामार शैलीमा हिन्दू धर्ममाथि निरन्तर आक्रमण गरिरहेछन् । राज्यको धर्म हुँदैन भन्छन् त कहिले धर्मका नाममा राजनीतिक गर्नुहुँदैन भन्छन् । तर, उनीहरु आफै इशाईका प्रचारक बनेर गतिविधि गर्छन् ।

पंक्तिकारलाई यतिबेला समाजशास्त्री अभिजित पाठकको तर्क याद आयो । कार्ल माक्र्सले धर्मलाई अफिम त भने तर आफूलाई देवताको रुपमा स्थापित गरे र माक्र्सवाद नामको नयाँ धर्मग्रन्थ बनाए । वास्तवमा आजको सँसारमा समाजवाद, साम्यवाद, पूँजीवाद, राष्ट्रवाद, माक्र्सवाद जे नाम दिएर आएका राजनीतिक दर्शन हुन् ती सबै धर्म नै हुन् । तीबारे लेखिएका पुस्तकहरु धर्मग्रन्थ नै हुन् । तिनको राजनीतिक उद्देश्य छ । जुन विषयको राजनीतिक उद्देश्य छ त्यो धर्मसँग अवश्य जोडिन्छ । इमाइल दुर्खाइमले भनेजस्तै धर्म र समाज एउटै हो । जहाँ समाज हुन्छ त्यहाँ धर्म हुन्छ र जहाँ धर्म हुन्छ त्यहाँ समाज हुन्छ । जहाँ राष्ट्र हुन्छ त्यहाँ धर्म हुन्छ र जहाँ धर्म हुन्छ त्यहाँ राष्ट्र हुन्छ ।

२१औ शताब्दीमा चारवटा सभ्यताबीचको कडा प्रतिष्पर्धा छिपेको छैन । पहिलो हिन्दु-बौद्ध सभ्यता जसको मुख्य केन्द्र दक्षिण र पूर्वी एशिया हो । यसको उदगमस्थल नेपाल र भारत हो । नेपाल त हिन्दू र बुद्ध दर्शनको पवित्र तीर्थस्थल नै हो ।

दोस्रो यूरोप केन्द्र रहेको इशाई सभ्यता । तेस्रो मध्यपूर्व केन्द्र रहेको इस्लाम सभ्यता र चौंथो कन्फ्युसियस मान्ने चिनियाँ सभ्यता । यी चार सभ्यता धर्मकै जगमा उभिएको छ ।

सँसारका हरेक देशहरु कुनै न कुनै रुपमा यी चार सभ्यताबाट प्रभावित छन् । कसैले आफूलाई यी चारमध्येबाट आफूलाई नीरपेक्ष या न्युट्रल दाबी गर्छ भने कि ऊ ढाँटिरहेको छ कि ऊ छापामार शैलीमा चलिरहेको छ । यी चार सभ्यताबीच कडा टक्कर चलिरहेको छ २१औं शताब्दीमा । जसमा नेपाल हिन्दु बौद्ध सभ्यताको उद्गमस्थल हो । यी दुई सभ्यताको विकास र संरक्षणको सुरक्षित भूमि पनि हो ।

सँसारभर हिन्दूहरु असुरक्षित हुँदा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर हिन्दूहरुका लागि यो क्षेत्रलाई सुरक्षित बनाएको गौरवशाली इतिहास छ । त्यसैले पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान भनेका हुन् । सँसारभर हिन्दु राजाहरुले राज्य गुमाएर उपनिवेश बन्दा नेपाल मात्र सुरक्षित रहनसक्यो । हिन्दु र बौद्धमार्गीको मुटु मानिएको नेपालमा यसकारण पनि छापामार शैलीमा आक्रमण चलिरहेको छ ।

धर्मनीरपेक्ष, नास्तिक या विभिन्न नाम बोकेर छद्म युद्धमा धर्मान्तरणका सिपाहीहरु सक्रिय छन् । उनीहरु चुनावमा हिन्दूकै मत तानेर हिन्दू धर्ममाथि नै आक्रमण गरिरहेछन् । वास्तवमा उनीहरु इशाईका प्रचारक हुन् । त्यसैले हिन्दू धर्म संस्कृति र आस्थामाथि ठेस पुग्दा मौन बसिदिन्छन् या बोल्नुपर्ला कि जसरी बोल्छन् । यतिसम्मकी गर्वका साथ हिन्दू हुँ भन्न सक्दैनन् । इशाई धर्म बहुसंख्यक रहेको बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफूलाई गर्वका साथ हिन्दू भन्न सक्नुमा उनमा स्वःधर्मप्रति विश्वास र अगाध आस्था छ । तर, झण्डै ८२ प्रतिशत हिन्दू भएको देशमा अहिलेका मुख्य नेता किन आफूलाई हिन्दू हुँ भन्न सक्दैनन् ? यो प्रश्नको जवाफ खोज्न जरुरी छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया