५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

नेपालमा धर्मान्तरण हुँदै जातीय रक्तपातको ग्रान्डडिजाइन


August 25, 2023
0
Shares

दीपेश केसीः विश्व इतिहासमा चेगिंज खाँको बर्बरताको बखान धेरै पाइन्छ । उनी जुन देशमा आक्रमण गर्थे त्यहाँको शहर र गाउँलाई ध्वस्त पार्थे । सम्राट अशोकले सीमा बढाउन गरेको रक्तपातको पश्चाताप गर्दै बुद्धमार्गमा हिंडे । हिटलरलाई दोस्रो विश्वयुद्धको मुख्य खलनायक बनाइएको छ । तर, सँसारमा एउटा यस्तो बर्बर इतिहास छ जस्लाई सधै लुकाउन मात्र खोजिन्छ । त्यो इतिहास हो यूरोपेलीहरुले दक्षिण र उत्तर अमेरिकामा गरेको नरसंहार । त्यहाँको सभ्यता नै नामेट पार्ने गरी उनीहरुले करोडौंको हत्या गरे । स्थानीय धर्म संस्कृति नामेट पारेर इशाई धर्मलाई स्थापित गराए । त्यस्तो बर्बरता कतिपय अफ्रिकी मुलुकमा पनि भयो ।

विश्व इतिहासको सबैभन्दा बर्बर आक्रमण र रक्तपातबारे थोरै मात्र अनुसन्धान भएको छ । युनिभर्सिटी कलेज लन्डनका शोधकर्ताहरुले यूरोपेलीहरुले एक सय वर्षबीच उत्तर, मध्य र दक्षिण अमेरिकामा गरी ५ करोड ६० लाख आदिवासीको हत्या भएको तथ्यांक निकालेका छन् । यूरोपेलीहरुले प्रभुत्व बनाएर आफ्नो बसाईंका लागि यति धेरै मानिसहरुको हत्या मात्र गरेनन् धर्म परिवर्तनका लागि वाध्य पारे । अफ्रिकामा पनि उनीहरुले रणनीतिक रुपमा धर्म परिवर्तनका माध्यमले प्रभुत्व बनाए । त्यहाँका स्थानीयलाई लडाएर बहुमूल्य हीरा, सुन, युरेनियम खानीमा वर्चश्व कायम गरिरहे ।

यूरोपेलीहरुको शैली बदलिएको छ तर उद्देश्यमा खासै परिवर्तन आएको छैन । उनीहरुले २०औं र २१औं शताब्दीमा आफ्नै हतियारले नभई कुनै देश विशेषभित्रका जात जातिलाई लडाएर विश्वभर आफ्नो प्रभुत्व बनाइरहेका छन् । जात जाति लडाउन त्यहाँको स्थानीय धर्म र संस्कृतिमाथि अतिक्रमण गरी धर्मान्तरणका माध्यमले जनजनलाई अलग थलग पारिरहेका छन् ।

२०औ शताब्दीमा यूरोपेलीहरुले जात जाति लडाएर स्रोतमाथि कब्जा जमाउने रणनीति रुवान्डामा प्रयोग गरे । जहाँ सय दिनमा आठ लाखको नरसंहार भयो । भिन्न जातिकालाई निमिट्यान्न मार्ने नाममा पतिद्वारा अर्को जातिकी आफ्नै पत्नीको निर्मम हत्या भयो । वर्षौं देखि मिलीजुली बसेको छिमेकीको रगत बगाएर विजय उत्सव मनाउनेहरु देखिए रुवान्डामा । यतिसम्मकी जातीय हिसाले सन् १९९४ मा अफ्रिकी मुलुक रूवान्डामा भयावह अवस्था उत्पन्न भएको थियो । कुल जनसंख्याको २० प्रतिशत मारिए । हुटु र टुट्सीलाई लडाउने ग्रान्डडिजाइन थियो त्यो ।

पूर्वी अफ्रिकाको रणनीतिक महत्वको क्षेत्रमा अवस्थित भूवरिवेष्ठिक देश रूवान्डामा जर्मनी र बेल्जियमले उपनिवेश बनाएका थिए । यूरोपेलीहरूको प्रत्यक्ष अप्रत्यक्ष प्रभावमा रहेको रूवान्डामा पहिलो विश्वयुद्धमा जर्मनी पराजित भएपछि उसको स्थान लिदै बेल्जियमले उपनिवेश कायम ग¥यो । बेल्जियनहरुले अल्पसंख्यक टुट्सी जातिको दबदबालाई निरन्तर प्रश्रय दिए । जात जातबीच फाटो ल्याउने कानूनले नै भिन्न जाति तोकिदियो । हुटु, टुट्सी र ट्वा जाति चिन्नका लागि बेल्जियनहरूले जातिय परिचयपत्र अनिवार्य गरे । बहुसंख्यक माथि अल्पसंख्यकलाई प्रयोग गरेर शासन गर्ने रणनीति चालिएको थियो । परिचयपत्रले विभेदलाई बढावा दियो । उपनिवेश अघि पनि रूवान्डामा शान्ति र समृद्धी थिएन तर उपनिवेशपछि हुटु र टुट्सी जातिबीच द्वन्द्वको बीऊ रोपियो ।

१९५० को दशकमा बेल्जियनकै अग्रसरतामा राज्यको मूलधारबाट टाढा पारिएका हुटुहरूलाई राज्यको महत्वपूर्ण निकायमा स्थान दिने पहल थालियो । सरकारी सेवामा हुटुहरूको प्रवेश बढ्नथाल्यो । त्यो परिस्थितिलाई टुट्सीहरूविरुद्ध घृणाको भावना जगाउन भूमिका खेल्यो । हुटुले टुट्सीलाई विदेशीको आरोप लगाउन थाले । घृणा जगाउने गरी प्रोपोगान्डा मच्चाइयो । योजनावद्ध तरिकाले नयाँ पीढीको दिमागमा घृणा बढाउने गतिविधिले जातीय हिंसा हुनथाल्यो ।

हुटु र टुट्सी दुवैबीच साझा धर्म र भाषा थियो । उस्तै मिथकहरूमा विश्वास गर्थे । धेरै सांस्कृतिक समानताहरू थिए । त्यसैले भिन्न जातिका भएपनि अन्तरजातीय विवाह चल्थ्यो । उनीहरूबीच फरक थियो त शारीरिक बनोट । सामाजिक समस्याहरू भएपनि जातीय घृणाको भावना बढाउन उपनिवेश लाद्ने बाह्य शक्तिले भूमिका खेले । यूरोपेलीहरुले फुटाऊ र राज गरको रणनीति अनुसार जातीय समस्या समाधानभन्दा बल्झाउन चलखेल गरे । जातीय परिचयपत्र वितरण सोही रणनीति अन्र्तर्गत थियो ।

रुवान्डामा हुटु शासकहरूले १० लाख मानिसको नरसंहार गरे । एक सय दिनमा आठ लाख मारिए । रुवान्डाको जस्तै प्रयोग नेपालमा गर्न खोजएको छ । समान धर्म संस्कृति र भाषा भएकाहरुलाई लडाउन खोजिएको छ । यसमा ठूलै ग्रान्डडिजाइन छ । अल्पसंख्यकहरुको स्थानीय संस्कृति नामेट पारी धर्मान्तरण गरिदैछ । फरक धर्मका आधारमा फरक पहिचान स्थापित पारी द्वन्द्वको आगो सल्काउन खोजिदैछ ।

हिन्दु सनातन धर्मको डोरीले जोडेका जातजातिमा फाटो ल्याउन धर्म परिवर्तनको अस्त्र चलाइएको छ । यसबैबाट जातीय घृणाको माहोल तयार पार्न खोजिदैछ । स्थिति भड्काउने क्रियाकलापहरु भइरहेका छन् । जसरी रुवान्डामा कानूनमै जातजातिको फरक परिचय स्थापित गरी विभिन्न नाममा टकराव बढाउने योजना बुनियो नेपालमा पनि त्यस्तै तरिका अपनाइएको छ । एक जातिले अर्को जातिको मूल्य मान्यतामा ठेस लाग्ने प्रकारका गतिविधि गर्न प्रेरित गर्न खोजिएको छ । नेपाललाई २०औं शताब्दीको रुवान्डाको बाटोतर्फ धकेल्न खोजिएको छ । धर्मान्तरण हुँदै जातीय रक्तपातको ग्रान्डडिजाइन चलिरहेको छ ।

उत्तर र दक्षिण अमेरिकामा यूरोपेलीहरुले ५ करोडभन्दा बढी आदिवासीको नरसंहार गरेका थिए । तिनै यूरोपेलीले नेपालका आदिवासीको हित गर्न नभई धर्मान्तरणबाट आफ्नो प्रभुत्व स्थापित गर्न भूमिका खेलिरहेछन् । अफ्रिकामा यसरी नै कुनै फरक समुदायमा धर्मान्तरण गरी हिंसाको सलाई कोरेका थिए । नेपालमा पनि यस्तै प्रयोग गर्न खोज्दैछन् । यसतर्फ, बेलैमा सचेत नभए देशमा अर्को रक्तपातलाई रोक्न कठिन छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया