१० जेष्ठ २०८१, बिहिबार | May 23, 2024

गाईमारा र माईमारा


August 25, 2023
0
Shares

श्याम खनाल: हामी सबै नेपालीको सम्बन्ध गोर्खासँग छ । कुनै जिल्ला विशेषको नामको गोर्खा (गोरखा) शब्द‚ त्यस्तो संकुचित शब्द होइन । यसको त विशाल अर्थ छ । हिमालको काखमा जन्मी विश्वका कुना कुनामा छरिएर रहेका गाईलाई माता मान्ने सबै प्राणी गोर्खा हुन् । जन्मदिने मातालाई मान्ने‚ जन्मभूमिलाई मान्ने एवं दुध दिने धाईमाता गाईमातालाई मान्ने र उनीहरूको रक्षा गर्ने हामी वीर गोर्खाली विश्वका कुना कुनामा छरिएर बसेका छौँ ।

हामी विदेशी उपन्यासकारहरूले भनेजस्तो कुनै बाहिरी देशबाट भागेर आएका हैनौँ । यस विषयमा राष्ट्रगुरु योगी नरहरिनाथले यसरी भन्नुभएको छ- भगुवा भतुवा भाते शरणार्थी नभैकन । थरी थानी र रैथानी स्थानीय हौँ सबैजन । हाम्रो शरीर यहीँको माटो‚ पानी‚ हावा‚ आगो एवं आकाशको उपज हो । हाम्रा पिता भगवान् शिव हुनुहुन्छ भने माता पार्वती हुनुहुन्छ । यही तपोभूमि‚ ज्ञानभूमि‚ ध्यानभूमिमा हाम्रा पूर्खाहरूले विश्व-कल्याणको चिन्तन गरेका हुन् । यही हिमालको काखमा भावातीत अवस्थामा ध्यान गर्दा गर्दै ऋषिहरूले वेदका मन्त्रहरू देखेका हुन् । अहिँसाका प्रतीक भगवान् गौतम बुद्धको बुद्धत्व भूमि नै यही हो भने राजर्षि जनक‚ आदर्श नारी सीता‚ दार्शनिक अष्टावक्र‚ महर्षि पाणिनी आदि पनि यही पवित्र भूमिसँग सम्बन्धित छन् ।

गोर्खा जातीले असुर र आसुरी प्रवृत्तिको अन्त्यका लागि आफ्नो ज्यानको बाजी थापेर समेत धर्मयुद्ध गरेको इतिहास साक्षी छ । यस विषयमा राष्ट्रगुरुले यसरी भन्नुभएको छ- श्रीदुर्गाखुकुरी लिएर बलियो चम्काउँदै हातमा गोर्खा वीर भये समग्र जगमा दिन्मा तथा रातमा । गाई धर्म धरा अनाथहरूको रक्षा गरी क्षात्रता राखे वेद विधानले सकलको पाएर सत्पात्रता ।। तर अहिले आएर साधु‚ सज्जन र गाईमाता रक्षाका लागि विश्वमा नाम कमाएको मुलुकका पूर्खाका सन्तान हामीहरूको बुद्धिमा विर्को लाग्न थालेको छ ।

हामीले अर्कालाई मारेर खानु हाम्रो संस्कृति भनेर गौरव गर्न खोजेका छौँ । कुनै पनि स्त्री जातिका पशुहरूको समेत हत्या नगरिने हाम्रो संस्कारका विरुद्ध के बोल्छौँ आफै थाहा पाइरहेका छैनौँ । आधुनिक विज्ञानले समेत प्रमाणित गरेको गाईको महत्त्व थाहा पाउँदा पाउँदै पनि “बाप बडा न भैया सबसे बडा रुपियाँ” भन्दै विदेशबाट हामीहरूको धर्म संस्कारलाई टुट फुट पार्न आएको पैसा पायौँ भने जे पनि बोल्न तयार छौँ । आमा बेच्न तयार छौँ । आमा बेचेर भतेर गर्ने राक्षसी संस्कारको पृष्ठपोषणका लागि गधा माथि चढेर झण्डा हल्लाउन पनि तछाडमडाड गरिरहेका छौँ । यस्तो हुनुको प्रमुख कारण भनेको यस्तो बताउनु हुन्छ राष्ट्रगुरुले- विदेशीको सीको गरिकन स्वदेशीहरू पनि उपन्यासैलाई सकलि इतिहासै हुन भनी । पढी लेखी घोकी अरुकन पढाई सव कुरा अपूरा ती मिथ्या जब हुन गए भ्रान्त जनता ।

भरखरै मात्र हाम्रो देशमा एउटा कुनै ‘लाटा देशका गाँडा तन्नेरी’ले गाईको विषयमा अत्यन्तै विवादास्पद कुरो गरेका छन् । मूर्ख मूर्ख खोजेर विदेशीहरूले विद्वान् भनाइँदा रहेछन् क्यारे‚ यति साह्रो गम्भीर विषयमा पनि यति साह्रो छाडा कसरी बोल्न सकेका हुन् । कुनै पनि धर्मले पशुहिँसालाई निषेध गरेको छ । धर्मले भनेको लाक्षणिक कुरालाई नबुझेर खानेले त खाइरहेका छन् । अझ नेपालको एक मात्र मौलिक धर्म हिन्दू (वैदिक‚ बौद्ध‚ किरात) मा त गोहत्या त मनले सोँच्दा पनि पाप हुने कुरा बताइएको छ । यहाँका पुराना रैथाने मियाहरूले पनि कहिले पनि यस्तो पथभ्रष्ट र राक्षसी कुरा सोँच्दा पनि सोँचेनन् । विदेशी क्रिश्चियन मुस्लिम देशमा पनि दुध दिने गाइको हत्या हुँदैन । त्यहाँ उनीहरूले मांसादिको लागि प्रयोग गर्ने जनावर गाईजस्ता देखिए तापनि ती भिन्न जातका हुन् ।

भारत‚ वङ्गलादेश र पाकिस्तानका केही अनपढ मुसलमानले गाईमाथि विवादित भनाई दिए तापनि त्यहाँका बुद्धिजीवि वर्गका मुसलमान‚ क्रिश्चियन पनि दुध दिने गाईलाई माताकै कोटीमा राख्नुपर्छ भन्दै आएका छन् । मांसाहार आफैमा घातक आहार हो त्यसमाथि गाईको मांसाहार गर्ने व्यक्ति पछि छिट्टै नै अति क्रूर भई मान्छेको मांसाहार पनि गर्न तत्पर हुन सक्तछ । त्यसैले गाईको अमृतरुपी दूध‚ दही‚ महीबाट स्वस्थ जीवन विताऔँ नकि मांसादिको प्रयोग गरेर क्रूर जीवन । दूध जस्तो अमृत चिजबाट हामीहरूको पालन पोषण गर्ने गाई र माई हामी गोर्खाहरूको लागि बराबरै पूज्य हुन् । त्यसैले देवता हुने प्रयास गरौँ नकि राक्षस । अन्त्यमा राष्ट्रगुरुबाटै रचित यो संस्कृत पद्य- निषिद्धा गोहत्या पशुपतियुते हिन्दुविषये ततो हिन्दूराष्ट्रं प्रथितमथ पृथ्वीस्थितिजुषाम् । क्षमेयं गोरक्षा क्षतिमसहमाना ननु गवा- मवन्ती स्वं धर्मं हिमवति सदा स्वस्थहृदया ।।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया