दानवीर बाजपेयी जस्ले किड्नी दान गरेका थिए
दीपेश केसी:
सानो मनले कोही ठूलो हुँदैन, टुटेको मनले कोही उभिन सक्दैन
मन हारेर मैदान जितिदैन, न मैदान जितेर मन जित्न सकिन्छ ।
जब उनी कविता वाचन गर्थे तब हलमा तालिको गडगडाहट सुनिन्थ्यो । जोस र लयमा कविता वाचन गर्ने क्षमताका थिए अटल विहारी वाजपेयी ।
कहिले नटुट्ने मनका धनी थिए अटल । देशभक्ति र साहस जगाउने कविता कोर्थे । उनको कविता वाचन सुन्न भारतका चर्चित अनुहार समेत लालायित हुन्थे । श्रोतालाई जुरूक्कै उचाल्ने भाषण गर्थे ।
राजनीतिमा लाग्दै गर्दा कलमलाई कहिले विश्राम दिएनन् । राष्ट्रिय स्वयं सेवक संघमा प्रचारकमा रुपमा सक्रिय हुँदा दिनभर कार्यक्षेत्रमा खटिएपनि राति सधै कविता कोर्ने गरेको घटना संघका कार्यकर्तामाझ अझै चल्ने गरेको छ । बहुप्रतिभाशाली अटलले पत्रकारितामार्फत् समाजको गहिराई बुझन् र कलम तिखार्ने मौका पाए । त्यसैले, आफू पत्रकार थिएँ र लेखिरहन्छु भनी गर्व गर्थे ।
२५ डिसेम्बर सन् १९२४ मा मध्य प्रदेशको ग्वालियरमा शिक्षाप्रेमी मध्यमवर्गीय ब्राम्हण परिवारमा जन्मिएका थिए, अटल । बाबु कृष्णविहारी वाजपेयी र आमा कृष्णा देवी थिइन् । हजुरबुवा पण्डित श्यामलाल वाजपेयी उत्तरप्रदेशको बाटेश्वरबाट ग्वालियर पुगेका थिए ।
बाबु कृष्णविहारी गृहनगरस्थित विद्यालयका शिक्षक र कवि थिए । बाबुको प्रेरणाले अटलविहारीले कविता लेख्न थाले । सानैदेखि मेधावी छात्र थिए । सरस्वती शिशु मन्दिरबाट विद्यालय स्तरको शिक्षा पूरा गरी भिक्टोरिया कलेज (हाल लक्ष्मीबाई) बाट हिन्दी, संस्कृत र अंग्रेजीमा स्नातक तह अति विशिष्ट श्रेणीमा उत्तीर्ण गरे । तीनैवटा भाषामा धाराप्रवाह बोल्ने क्षमता राख्थे । कानपुरस्थित डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरे । उक्त कलेजमा बाजपेयी बाबुछोराले एउटै तह र विषयमा भर्ना लिएका थिए । उनीहरू छात्रवासमा पनि सँगै बस्थे । बाबुछोरा एकैसाथ स्नातकोत्तर अध्ययनमा लागेकाले कलेजमा धेरैको चासो बढ्यो ।
१९३९ मा हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) मा आवद्ध हुँदा १५ वर्षका थिए । चार वर्षसम्म आरएसएसमा तालिम लिए । औपचारिक पढाईसँगै अन्य सामाजिक कार्यमा समेत अति सक्रिय हुन्थे । वाजपेयी धेरै महत्वाकांक्षी थिएनन् । तर्कक्षमताका साथै प्रस्तुती उत्कृष्ट थियो । लेखपढमा लगाव राख्नुका अलावा कविता कोर्थे ।
पत्रकारितामा निकै सक्रिय भए । हिन्दी पत्रिकाहरू राष्ट्रधर्म मासिक, पाञ्चजन्य दैनिक, स्वदेश र वीर अर्जुन नामक पत्रिकाहरूमा काम गरे । पाञ्चजन्यमा वाजपेयी सम्पादक थिए । मूलधारको पत्रकारितामा लाग्दा भारतको तत्कालिन राजनीतिक, सामाजिक र आर्थिक समस्यालाई नजिकबाट नियाल्ने अवसर पाए । पत्रकारिताले समाज बुझ्न र मनन गर्ने शक्ति वृद्धि गरिदियो । कवि हृदयका अटलको कलम झन् तिखारियो । मनैदेखि देशको सेवा गर्ने अठोटका साथ राजनीतिमा उत्तिकै सक्रिय थिए । कहिले नझुक्ने र नथाक्ने अठोट लिएका उनी त्यस्तै भए । वाजपेयी कवितामार्फत् लेख्छन्– टुट्नसक्छु तर झुक्न सक्दिनँ ।
ब्रिटिश शासकको विरोधमा लागेवापत् किशोरावस्थाका वाजपेयी १९४२ मा पक्राऊ परे । आरएसएसको विस्तारकका रूपमा उत्तर प्रदेश खटाइए । १९४७ मा आरएसएसको प्रचारक भएपछि पूर्णकालीन राजनीतिक कार्यकर्ता बने । पछि हिन्दुवादी भारतीय जन संघका सक्रिय कार्यकर्ता भए । संघलाई उनैले नेतृत्व समेत दिए ।
विद्यावारिधीका साथै राजनीतिलाई समेत निरन्तरता दिने उद्देश्यले लखनऊ पुगे तर अहोरात्र राजनीतिमा व्यस्त हुनाका कारण इच्छा मारे । सन् १९८० मा जनसंघ भारतीय जनता पार्टीका रूपमा खडा भयो । उनकै सक्रियताले अखिल भारतीय विद्यार्थी परिषद अर्थात् एबीभीपी गठन भयो । वाजपेयीको मिहेनत र नेतृत्वले एबीभीपी शक्तिशाली संगठन बन्यो । कतिपयले एबीभीपी नै अटल विहारी वाजपेयी परिषद् सम्म भन्थे । अखिर भारतय विद्यार्थी परिषद् वर्तमानमा भारतभित्र नभई विश्वकै सबैभन्दा ठूलो विद्यार्थी संगठन बनेको छ ।
वाजपेयी निस्वार्थ र दानवीर नेता हुन् । महाभारतका कर्णजस्तै दानवीर र चट्टाने अडान लिन सक्ने हुनु उनको विशेषता थियो । किड्नी समेत दान गरेका थिए । आफूसँग एउटामात्र किड्नी रहेको खुलासा गर्दै सबैलाई छक्क पारे । पदभन्दा माथि उठेर काम गर्थे । राष्ट्रियतामा कसैसँग सम्झौता नगर्ने उनले राजधर्मको पालना गर्न आफूभन्दा कनिष्ठ नेताहरूलाई बारम्बार सम्झाएका थिए ।
गुजरातमा हिन्दु मुसलमान दंगा भड्कदा उनले तत्कालिन मुख्यमन्त्री नरेन्द्र मोदीलाई राजधर्मको पालना गर्न निर्देशन दिएका थिए । जसरी राजाले जाति, सम्प्रदाय, क्षेत्रका आधारमा आग्रह पूर्वाग्रह नगरी व्यवहार गर्छ त्यही राजधर्म हो भने । देशको हितका लागि कठोर र अलोकप्रीय कदम चाल्न पनि तयार हुनुपर्छ । वाजपेयीको निर्देशन सुन्दा मोदीको जवाफ थियो– हा साब ! आफू वरपर घुम्नेलाई मात्र वाजपेयीले प्रोत्साहित गरेनन् । उनी प्रतिभा खोज्थे । मोदी उनले खोजेका प्रतिभामध्येका थिए । पार्टीको जिम्मेवारी सम्हालिरहँदा एकदिन फोटोपत्रकारको मलामी गएको अवस्थामा बोलावट भएपछि अटलविहारी वाजपेयीले गुजरातको नेतृत्वका लागि निर्देशन दिएका थिए ।
सन् १९५१ मा भारतीय जनसंघमा पाइला राख्दा किशोर वाजपेयीको उमेर १७ वर्षको थियो । जनसंघका संस्थापक श्यामाप्रसाद मोखर्जीको वफादार कार्यकर्ता बनेर सक्रिय भए । संघमा लाग्दा राजनीतिका धेरै सूत्र सिके । देशभक्तिको भावना झन् बढेर गयो । भाषणकलामा निपूर्ण वाजपेयी बोल्दा सबै मन्त्रमुग्ध भएर सुन्थे । जोसिलो भाषण, निर्णय क्षमता र साहसी स्वभावले भाजपामा प्रभावशाली नेता बनिरहन सके । लामो इतिहास बोकेको कँग्रेस आर्र्ईलाई बलियो चुनौती दिने पार्र्र्टी भारतमा कुनै थिएन । वाजपेयीले चुनाव चिन्ह कमलको फूल घोषणा गर्दै सन् १९५७ मा पहिलोपटक चुनावमा उत्रदा जम्मा तीन सिट जिताउन सफल भए । ती मध्ये २८ वर्षका वाजपेयी पनि थिए । उनी उत्तरप्रदेशको बररामपुरबाट जित्न सफल भए ।
१९६८ मा दिनदयाल उपाध्यायको रहस्यमय निधनपछि युवा नेता वाजपेयी जनसंघको अध्यक्ष चयन भए । भारतीय राजनीतिमा जनसंघलाई प्रभावशाली बनाउन अहोरात्र खटिए । त्यसमा नानाजी देशमुख, बलराज मधोक र लालकृष्ण आडवाणीले भरपूर साथ दिए । इन्दिरा गान्धीले संकटकाल घोषणा गर्दाको अस्थिरता पछि भारतले कँग्रेस आईको विकल्प खोज्न थाल्यो । कँग्रेस विरोधी धेरै नेताहरू पक्राऊ पर्नुले राजनीतिक वृत्तमा असन्तुष्ट व्याप्त भयो । समाजवादी नेता जयप्रकाशनारायणको पहलले कँग्रेसविरोधी दलहरू एकजुट भए । १९७७ मा जनसंघ भारतीय लोकदल र समाजवादी पार्टीसँग एकीकरण भयो । जनता पार्टीको आमचुनावमा जीत हासिल गरेपछि वाजपेयी विदेशमन्त्री बने । प्राप्त अवसरलाई गम्भीरताका साथ पूरा गरेर चर्चामा आए । तर आन्तरिक द्वन्द्वका कारण जनता पार्टी बिघटन भयो । वाजपेयीले लालकृण आडवाणी र भैरोसिंह शेखावत्को साथमा १९८० मा भारतीय जनता पार्टी गठन गरे । १९८४ को आमचुनावमा भाजपा दुई सिटमा सिमित भयो । वाजपेयी कत्तिपनि धैर्य नगुमाई खटिए । १९८९ को चुनावमा भाजपा ८८ सिट जित्न सफल भयो । यसमा वाजपेयीको कुशल नेतृत्व र नआत्तिने र नमात्तिने स्वभावले मुख्य भूमिका खेल्यो ।
१९९६ को चुनावमा भाजपा सबैभन्दा ठूलो दल बन्न सफल भयो । वाजपेयी प्रधानमन्त्री बने तर संसदमा बहुमत हासिल गर्न नसकेपछि राजीनामा दिनुप¥यो । अंकगणितको राजनीतिमा उनी मात्र एकमतले असफल भए । विभिन्न दलहरूको मोर्चाबन्दीबाट नयाँ सरकार गठन हुँदा १९९८ मा वाजपेयी प्रधानमन्त्री चयन भए । तर सरकार लामो समय जान सकेन । अर्कोतर्फ भारतले पाकिस्तानसँग युद्ध लड्यो । कार्गिल युद्ध जित्दा वाजपेयीको शान र मान ह्वात्तै बढ्यो । मिडियामा उनी नायक जसरी प्रस्तुत गरिए ।
भारतले बलियो प्रधानमन्त्री चाहिरहेको थियो । संसदमा कसैको बहुमत नआउँदाको अस्थिरताबाट असन्तुष्टि पैदा भए । भारतीय जनताले वाजपेयीको शासनलाई हेर्न चाहेको देखियो । परिस्थिति वाजपेयीको अनुकूल बन्यो । १९९९ को आमचुनावमा बीजेपी नेतृत्वको मोर्चा सफल भयो । अटल विहारी वाजपेयी तेस्रोपटक प्रधानमन्त्री बने । संसदमा बलियो समर्थन र जनतामाझ बढेको लोकप्रियताले काम गर्ने सहज वातावरण बन्यो । वाजपेयी दुरदृष्टिका साथ विकास निर्माण र आर्थिक क्रान्तिमा केन्द्रित भए । राजमार्गहरूको निर्माण र ग्रामीण सडक निर्माण प्राथमिकतामा राखेर काम गरे । पाकिस्तानसँगको सम्बन्ध सुधार्न प्रयास थाले । सन् २००१ मा पाकिस्तानी राष्ट्रपति परवेज मुर्सरफलाई दिल्ली निम्तो गरी वार्ता गरे । १९९९ को फेब्रुअरीमा उनी आफै भारतबाट बस चढेर पाकिस्तान पुगे । उनका प्रयासहरू सफल भएनन् । भारतको पाकिस्तानसँगको सम्बन्ध चीसो नै रहिरह्यो ।
भारतीय राजनीतिमा वाजपेयीले धेरैवटा कीर्तिमान राखेका छन् । जवाहरलाल नेहरू पछि तीनपटक प्रधानमन्त्री बन्न सफल हुनेमा उनी मात्र हुन् । भारतीय राजनीतिमा झण्डै पाँच दशकसम्म लगातार सांसद बन्नेमा उनको कीर्तिमान कायम छ । दश फरक क्षेत्र र चारवटा फरक राज्यहरूबाट लोकसभा चुनाव जित्ने एकमात्र व्यक्ति वाजपेयी हुन् । वाजपेयी अति देशभक्त नेताको रूपमा परिचित छन् । उनका कवितामा देशभक्तिका भाव र शब्दले भरिएको हुन्छ । भारतमा सबैभन्दा बढी बोलिने मुख्य भाषा हिन्दीप्र्र्रति अति स्नेह राख्तन् । संयुक्तराष्ट्रसंघको महासभामा हिन्दीमा भाषण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् । हिन्दीप्रति उनको अति मोह देखिन्छ । हिन्दीमै कविता लेखेर र कवितासंग्रह प्रकाशित गरे । उनी लेख्छन्ः
त्यो कपुत हो जो हुँदा हुँदै आमाको दिनदशा हुन्छ
दाजुभाईको महल उजाडेर महल बसाउँछ
वाजपेयी अविवाहित रहे । देशभक्त र राजधर्मलाई सर्वोपरी ठानेर सक्रिय भएकाले मोजमज्जाको जीवन परित्याग गरी सेवामा समर्पित रहे । प्रधानमन्त्रीको सपथ लिंदा उनले आफूमा उत्पातैको खुशी नभएको भनेका थिए । प्रधानमन्त्रीबाट हट्नुपर्दा पनि कत्तिपनि दुःख नलागेको स्पष्ट पार्दै हाँसी हाँसी बिदा भए । बाजपेयीले एकजना धर्मपुत्री बनाए जसको नाम नमिता हो । हिमाल हेर्न मनपराउने वाजपेयी पहाडमा आराम गर्न मन पराउँथे । खाना बनाउन सौखिन थिए ।
उनी सधै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर काम गर्थे । इन्दिरा गान्धीले संकटकाल घोषणा गर्दा पक्राऊ पर्नेमध्येमा वाजपेयी पनि थिए । तर तिनै इन्दिरा गान्धीलाई वाजपेयी दुर्गा जस्तै साहसी भन्थे । इन्दिरा र भारत एक हो भन्नेहरूलाई चाहिं कवितामार्फत् चाटुकदार चम्चे भनिदिए । विनाहिच्किचाहट यथार्थ विषय बोल्ने स्वभावका वाजपेयीलाई विपक्षीले पनि उत्तिकै सम्मानको नजरले हेर्थे । भारतका पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहले उनलाई भारतीय राजनीतिको भीष्मपितामह भने । प्रधानमन्त्री हुँदा चन्द्रशेखरले वाजपेयीलाई गुरू भने । वाजपेयी शक्तिमा पुगे भन्दैमा दुरूपयोगमा लागेनन् । न त उचाईमा पुग्दा आफूलाई महान ठाने ।
धेरै उचाईको पहाडमा रूख हुर्कदैन न त घाँस नै जम्छ
कात्रो जस्तो सेतो मृत्यु जस्तो ठण्डी हिउँ मात्र जम्छ
मेरो प्रभु,
मलाई यस्तो उचाई कहिले नदेऊ
कसैलाई गला लगाउन नसकौं त्यस्तो रूखोपन कहिले नदेऊ