२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

चिनियाँ विदेशमन्त्री वाङ ईसँगको भेटमा उपराष्ट्रपति यादवले भनेः नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन दिनेछैनौं


August 17, 2023
0
Shares

काठमाडौं, ३२ साउन । चीन भ्रमणमा रहेका उपराष्ट्रपति रामसहाय प्रसाद यादव र चीनका विदेशमन्त्री वाङ ई बीच भेटवार्ता भएको छ । बिहिवार विहान कुनमिङमा भएको भेटमा यादवले नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने बताएका छन् ।

चिनियाँ टेलिभिजन सीजीटीएनका अनुसार यादवले नेपाल र चीन नजिकको मित्र भएको उल्लेख गरे । नेपालले चीनसँग विकासको मुद्यामा प्राथमिकताका साथ काम गर्ने बताए । उनले एक चीन नीतिमा नेपाल दृढ रहेको बताए । यादवले नेपालबाट कृषि उत्पादन चीन आयातमा सहजीकरणका लागि आग्रह गरे ।

वाङले दुई देशबीचकोको परम्परागत मित्रताको विषयमा चर्चा गर्दै नेपालको सार्वभौमिकता, सुरक्षा र विकासको चाहनामा सदैव सहयोग गर्ने बताए । नेपालसँग रणनीतिक साझेदारीसम्बन्धी सहयोगमा मिलेर काम गर्ने बताए ।

उपराष्ट्रपति यादव एक साता लामो भ्रमणका लागि चीनको कुनमिङमा छन् । यादवसँग धर्मपत्नी चम्पादेवी यादव, निजी चिकित्सक डा. शिवजीविक्रम सिलवाल, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय सचिव शुत्रधन यादव, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा भ्रमणमा रहेका छन् ।

साउन ३१ देखि भदौ ३ सम्म चीनको कुनमिङमा चलिरहेको सातौं चीन दक्षिण एशिया प्रदर्शनी र २७औं चीन कुनमिङ आयात निर्यात मेलामा यादवको सहभागिता हुन यादव कुनमिङ पुगेका हुन् ।

प्रतिक्रिया