२३ भाद्र २०८१, आइतबार | September 8, 2024

बालेनको आँखा नपुगेको कमलपोखरी हडपेर बनाइएको ‘भूतभवन’


August 16, 2023
249
Shares

काठमाडौं, ३१ साउन । यो यस्तो विवादास्पद सार्वजनिक थलो हो जसमा ज जस्ले गलत तरिकाले हात हाले उसले बर्बादी भोगे । त्यसो थलो हो ठमेलस्थित कमलपोखरी । अचेल पोखरीमाथि नेपालको वित्तिय क्षेत्रका बादशाह दाबी गर्ने पृथ्वीबहादुर पाँडेले छायाँ कम्प्लेक्स ठड्याएका छन् । रोचक त यो छ कि छायाँ सेन्टर ठड्याए देखि उनको गाथमा आराम हुन छाडेको छ ।

कमलपोखरीको जग्गा मिलाउन तत्कालीन राजा वीरेन्द्रलाई समेत संलग्न गराइएको थियो । श्रुतीका पति हुन् गोरख शमशेर राणा । उनकी आमा अम्बिका राणाले विन्ती गरेपछि राजा वीरेन्द्रले नकार्न सकेनन् । पोखरीका हकवाला प्रधानहरुका हर्ताकर्ता एकजनालाई बोलाएर भित्री सहमति गराउन सके । तर बिडम्बना त्यो घटनाको वर्ष दिन नपुग्दै वीरेन्द्रको परिवारको वंशनाश भयो ।

अम्बिका राणासँग कुरा मिलाउन पुगेका प्रधान पनि न्याय परिषद्मा सिफारिश भए । केही समय पदको अभ्यास गरे । तर, अचेन उनको परिवारको अवस्था पनि राम्रो छैन । यसरी सार्वजनिक ऐतिहासिक पोखरीमा जो जो हात हाल्न पुगे तिनको नराम्रो नै हुँदै गयो ।

छायाँ कम्प्लेक्स बन्दा कतिले गोल्डन शेयर पाए । यतिसम्मकी अख्तियारका तत्कालीन आयुक्त लोकमान सिंह कार्कीलाई पनि प्रभावमा पारियो छायाँ सेन्टर बनाउन । लोकमानको पनि राम्रो भएन । निकै शक्तिशाली बनिसकेका उनी नराम्रोसँग खसे । यसरी कमलपोखरीमा हात हाल्ने कसैको निको चाल नभएपछि अचेल छायाँ सेन्टरलाई भूतभवन भन्न थालिएको छ ।

अझै पनि स्थानीय पोखरी मासेर बनाएको भन्दै छायाँ कम्प्लेक्सलाई नराम्रो दृष्टिकोणले हेर्छन् । त्यहाँ ऐतिहासिक सार्वजनिक पोखरी थियो भन्ने सबै प्रमाण हुँदा हुँदै सर्वोच्च अदालतले पनि कुनै फैसला गर्दैन । फैसला सार्ने काम हुँदै आएको छ । अर्कोतर्फ, सार्वजनिक जग्गामा बनेका भवनमा बालेनको लौरो बढ्न थालिसकेको छ । छायाँ सेन्टरमा भने किन उनको आँखा पर्दैन ?

पहुँचवाला व्यक्तिहरुको शेयर हुनुले प्रमाणित दस्तावेजले मोहियानी कायम नहुने राजगुठी अन्र्तगतको पोखरीको जग्गा निजी गुठी दाबी गरी मोहियानी कायम गरी योजनावद्ध तरिकाले मोही कट्टा गरी पटक पटक किनबेच गरी लालपूर्जा घुमाएर पहुँच र प्रभावका भरमा भवन निर्माण भएको तथ्य प्रमाण छ । रोचक त यो छ कि उतिबेला काठमाडौं महानगरपालिकाका कर्मचारी समेत यो प्रकरणमा प्रभावमा परेका थिए ।

जग्गा नामसारी गर्दा गुठी संस्थान अन्र्तगतको काठमाडौंस्थित गुठी कार्यालयका कर्मचारीलाई प्रभावित पारिएको छ भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाका कर्मचारीलाई प्रभावित पारिएको थियो । पुरातात्विक महत्वको विवादास्पद जग्गामा महानगरपालिकाले १४ तल्ले भवनको नक्शा पास गरिदिएको थियो । निर्माण हुँदै गरेको भवनलाई महानगरपालिकाले हतार हतार छ महिना अगावै निर्माण सम्पन्नको प्रमाणपत्र दियो ।

लालपूर्जा र कानुनी प्रक्रिया पूरा गरेर आएपछि नक्शा पास गरेको र छ महिना अगाडि निर्माण सम्पन्नको प्रमाणपत्र दिएको महानगरपालिकाका नक्शा विभागका अधिकारीले नेपाल पेनलाई जानकारी दिए । उक्त जग्गाबारे विवाद अन्त भएपछि नक्शा पास गरेको दाबी गरेपनि अदालतमा मुद्या मामला चलिरहेकै थियो । यसले पनि महानगरपालिकालाई समेत छायाँ सेन्टरका अधिकारीहरुले प्रभावित पारेको देखिन्छ ।

बालेन साह काठमाडौं महानगरपालिकाका मेयर भएपछि छायाँ सेन्टरको उक्त फाइल खोज्ने आशा गरिएको छ । पुरातात्विक महत्वको कमलपोखरी राज्यका शक्तिशाली निकायमा रहेकाहरु संगठित बनेर हडपेको र कम्प्लेक्स बनाएको यो प्रकरणमा अदालतलाई समेत प्रभावमा पार्न खोजिएकै हो । कुनै हालतमा प्रमाण नपुग्ने भएपछि भवन भत्काउनुपर्ने अवस्था आउने भएकाले अदालतमा पनि मुद्याको फैसलामा जानेभन्दा अलमलाउने काम भइरहेको छ ।

राज्यका शक्तिशाली व्यक्तिहरुले सार्वजनिक सम्पत्ति हडपेर यो प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न हुँदा व्यक्तिगत रुपमा भने ठूलो क्षति व्यहोरेको खुल्दै गएको छ । यसै पनि हिन्दु धर्मशास्त्रमा सार्वजनिक सम्पत्ति हडप्ने र यसमा संलग्न हुनेलाई पाप लाग्छ नै भनिन्छ । कमलपोखरी प्रकरणमा पनि यस्तै भइरहेको छ ।

एकपछि अर्को विवादमा परेको छायाँ सेन्टरले २१ साउनमा सूचना जारी गरी १६औं साधारण सभा डाकेको छ । छायाँ देवी कम्प्लेक्स पब्लिक लिमिटेडको नाममा डाकिएको सभाधारण सभामा कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने विषय प्रस्तावमा राखेको छ ।

सार्वजनिक जग्गामा बनाएको भवन र त्यसमाथि पनि अदालतमा मुद्या विचाराधीन रहेकोमा आइपीओ खोल्न खोज्नुले तरंग ल्याएको छ । कम्पनी घाटामा गएपछि पृथ्वीबहादुर पाँडेको योजनामा आइपीओ खोल्न लागिएको बुझिएको छ । कमलपोखरीको विवादमा सर्वसाधारणलाई पार्न पाँडेले यस्तो योजना बुनेका हुन् ।

प्रतिक्रिया