१२ श्रावण २०८१, शनिबार | July 27, 2024

धुलिखेल सडकको बिजोग पार्ने गौरी-पार्वती तीन अर्बको टेकु अस्पताल ठेक्का हात पार्न चलखेलमा


0
Shares

दीग्गज गौतमः यतिबेला अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खण्डको सडकको बिजोग छ । अरुबेला धुलोले दुःख दिने सडकमा अहिले वर्षाको भेलले बिजोग पारेको छ । तैपनि ठेकेदार कम्पनी गौरी-पार्वती निर्माण सेवा काम बढाउनेतर्फ जिम्मेवार छैन । काम पूरा गर्नुपर्ने अवधि सकिइसकेको छ । तर, विभिन्न बहानामा काम बढ्न सकेको छैन ।

यता सडक आन्दोलन भन्दै यसका संचालक रामकुमार थापा अर्कै चलखेलमा छन् । उनी तीन सय शैयाको टेकु अस्पताल निर्माणको ठेक्का पार्न अन्तिम कसरतमा छ । यसका लागि उनले अदालतमा निकै चलखेल गरिरहेका छन् । अदालतलाई नै प्रभावित पार्ने गरी थापाको गतिविधि बढेको छ । यसमा उनले करोडौं खर्च गरिसकेको र प्रतिवद्धता पनि त्यस्तै जनाएको विश्वस्त स्रोतले बताएको छ । अदालतबाट अन्तरिम आदेश जारी गराइसकेका उनी आफैलाई ठेक्का दिलाउने फैसला गराउन उद्धत छन् । यसमा ठूलै सेटिङ चलेको छ ।

गौरी पार्वती निर्माण सेवा कम्पनीले करोडौंको कमिशनको चलखेल गरेर टेकु अस्पतालको निर्माण हात पार्न पहिल्यै सेटिङ मिलाएको थियो । ठेक्का पार्न प्रि क्वालिफिकेशनमा अन्य कम्पनी नपर्ने गरी पहिल्यै योजना बुनिएको थियो । त्यसै अनुसार ठेक्का खोल्यो शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजनाले । अन्य प्रतिष्पर्धी कम्पनीलाई छनोट नै नहुने अवस्था सृजना गरेर गौरी पार्वतीका रामकुमार थापाले कन्टेक कम्पनीसँग संयुक्त रुपमा ठेक्का प्रतिष्पर्धामा सहभागिता जनाउनु अघि नै सेटिङ गरेका थिए । जबकि थापा स्वयंको कम्पनी र उनी पटक पटक कालो सूचीमा परेर विवादमा परिसकेका हुन् ।

उनको कम्पनीले धुलिखेल सडक अलपत्र पारेको छ । एकपछि अर्को निर्माण क्षेत्रमा विवादमा परेको गौरी पार्वतीले ठेक्कामा छनोट भएपछि धेरै विवादास्पद तथ्यहरु उजागर भयो । गौरी पार्वतीका प्रोपाइटर रामकुमार थापाले उच्च सरकारी तहमा कमिशनको खोलो बगाएको तथ्य फेला परेको छ । मन्त्रालय देखि विभाज अनि आयोजनासम्म मोटो कमिशन पुगेको छ । कर्मचारीसँगको समन्वयमै थापा अदालत गएर आफूले नै ठेक्का पाउने गरी अन्तरिम आदेश जारी गराउन सके ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन सुरेन्द्र मोहन श्रेष्ठले नाटकीय भूमिका निभाए । उनले नै ठेक्का रद्द गरेको पत्र दिए । तर, यसभित्र अदालत तत्काल जाने र आदेश जारी गर्ने वातावरण बनाएर ठेक्का सम्झौता गराउने प्रपञ्च रचिएको छ । यसबारे विभागसँग लिखित जवाफ खोज्दा अदालतको आदेशको सम्मान गर्ने भनिएको छ । अदालततर्फ लगेरै योजना पूरा गर्ने अभिप्राय लुकेको छ यसमा ।

शहरी विकास मन्त्री सीता गुरुङ र सचिव रवीन्द्रनाथ श्रेष्ठलाई समेत रिझाउन गौरी पार्वतीका रामकुमार थापा लागिपरेका छन् । सेवाकालको अन्तिम समयमा रहेका सचिव श्रेष्ठ अख्तियारमा उजूरी परिसकेको यो ठेक्का प्रकरणमा विवादमा तानिने सम्भावना बढेर गएको छ । तर, अदालतबाट निर्णय गराएपछि आफूहरु भविष्यमा जोगिने उनीहरुको ध्येय लुकेको छ ।

देशको अरबौंको ठेक्का हात पार्न प्रधानमन्त्रीका मान्छे, मन्त्री, कर्मचारी मिलाएर मात्र पुग्दैन । अदालतसम्म मुद्दा पुग्ने भएकाले त्यहाँसम्म मिलाइन्छ अनि ठेक्का पारिन्छ । यसरी सेटिङमा ठेक्का लिने ठेकेदारहरुले निर्माणको गुणस्तरमा ठूलो खेलवाड गर्दै आएका छन् । सम्झौता दिलाउन मोटो कमिशनको सम्झौता गरिसकेको विश्वस्त स्रोतले बताएको छ ।

गौरी पार्वतीका रामकुमार थापा भने आफूलाई केही निर्माण कम्पनी लागेर अवरोध पुर्याएको भन्दै शक्ति केन्द्रमा धाइरहेका छन् । निर्माणको अनुमानित लागत ३ अर्बमा १८ प्रतिशत कम रेट राखेर उनले प्रस्ताव राखेका छन् । त्यस अगावै उनलाई नै ठेक्का दिलाउने सेटिङ भइसकेको थियो । करोडौं कमिशनमा कन्टेक–गौरी पार्वती जेभीलाई नै केन्द्रीय सरुवा रोग अस्पताल टेकुको भवन निर्माणमा ठेक्का दिलाउने विषयले निर्माण क्षेत्रमा तरंग आएको छ । उजूरीहरु परेपछि योजनावद्ध तरिकाले कानूनको छिद्रमा खेल्न खोजियो ।

योजना अनुसार नै शहरी विकास तथा भवन निर्माण विभागले ठेक्का प्रक्रिया नै खारेजको नाटक रचियो । त्यसविरुद्ध प्रोपाइटर रामकुमार थापा अदालत गएर पाटन उच्च अदालत पुगेर उनले सेटिङ गरेको खुलेको छ । कालो सूचीमा परेको कम्पनी र व्यक्ति प्रोपाइटर रहेको खुलेपछि ठेक्का प्रक्रिया रद्द गरिएकोमा न्यायाधीशहरु दुर्गा बहादुर विश्वकर्मा र जगदीश घिमिरेको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरी ठेक्का रद्द नगर्न नगराउन भनिएको छ । यो आदेशले धेरै प्रश्न जन्माएको छ । कर्मचारी जोगिन ठेकेदारले निर्णय नै अदालतबाट लगेर गराउने योजना बुन्न थालेका छन् ।

अस्पताल भवन निर्माणमा प्राविधिक प्रस्ताव मूल्यांकन बमोजिम एकमात्र प्रस्तावक कन्टेच गौरी पार्वतीको बोलपत्र स्वीकृत भयो १९ फागुन २०७९ मा । ९ चैत्र २०७९ मा प्रकाशित शहरी विकास तथा भवन निर्माण विभागको विभागीय निर्णयानुसार कन्टेच–गौरी पार्वतीलाई आशयपत्र जारी गरिएको थियो । म्याद भित्र कुनै उजूरी नपरेको भन्दै ठेक्का सम्झौताको दबाब दिन लगाइयो । तर, कालो सूचीमा परेको विवादास्पद कम्पनीलाई सम्झौताको लागि डाकिएन । कर्जासूचना केन्द्रमा कालोसूचीमा परेको भेटिएपछि ठेक्का रद्द गर्यो विभागले ।

अस्पताल भवन निर्माणका लागि ३ अर्ब ४६ लाख अनुमान गरेर बोलपत्र आव्हान गरिएको थियो । गौरी पार्वतीले २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार १८५ मा निर्माण गर्ने दाबीसहित प्रस्ताव पेश गरेको थियो । बोलपत्र स्वीकृतको नियमानुसार सबैभन्दा न्यूनतम मूल्यमा प्रस्ताव राखेको थियो गौरी पार्वतीले । निर्माण लागत अनुमानभन्दा २० प्रतिशत कममा निर्माण पूरा गर्ने प्रस्ताव राखेको थियो गौरी पार्वतीले । जसका कारण प्रस्तावक अन्य तीन कम्पनी अस्वीकृत भए । १७ रोपनी जग्गामा सरुवा रोग अस्पताल बनाउने प्रक्रियामै भवन निर्माणसम्बन्धी भइरहेको चलखेलले अवरोध पारेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया