१० श्रावण २०८१, बिहिबार | July 25, 2024

नेपालमा हिन्दु एकता किन

दीपेश केसी


0
Shares

दीपेश केसीः १८औं शताब्दीमा सँसारमा हिन्दु राज्य नै नरहेनसम्मको अवस्था पैदा भएको थियो । सुरुमा इस्लाम र पछि इशाईहरुले भारतवर्ष भनिने वर्तमान भारत र आसपासका देशहरुमा प्रभुत्व जमाए । हिन्दु शासकहरु एकपछि अर्को गरी ढल्दै गरे । शासनसत्ता ढलेपनि हिन्दु धर्मालम्बीहरुको धर्मान्तरण उनीहरुले कल्पना गरेको भन्दा सुस्त भयो । आफ्नो धर्म संस्कृतिको रक्षाका लागि कतिपय हिन्दु बाहुल्य सुरक्षित स्थानमा बसाईं सर्न थाले । तर, कुनैपनि धर्म संस्कृतिको रक्षा गर्ने मूल निकाय बलियो राज्य नै हो । कमजोर हिन्दु राज्यहरु तासको पत्ता जस्तै धमाधम ढले । अफगानिस्तानमा त हिन्दु र बौद्ध धर्मालम्बीलाई निमिट्यान्न पार्ने योजनाहरु लगभग सफलतातर्फ बढिरहेको थियो । अहिलेको भारतमा धेरै हिन्दु राज्यहरु थिए । कतिपय मुगलकालमा पनि अस्तित्वमा रहे । तर, ब्रिटिशकालमा तीनको अस्तित्व नाममा मात्र सिमित हुनपुग्यो ।

हिन्दुको अस्तित्व नै समाप्त हुने अवस्था बनेको अवस्थाबीच पृथ्वीनारायण शाह जस्तो निडर र दुरदर्शी व्यक्तिको उदय भयो । सँसारभर हिन्दु राज्य कहीं बाँकी नभएको अवस्थामा उनले नेपाल एकीकरण गरे । त्यो एकीकरणभित्र विश्वभर नामेट हुनलागेको हिन्दु राज्यको अस्तित्व जोगाउनु पनि थियो । त्यसैले उनले एकीकरणमा नाथ समुदायका योगीहरुबाट भरपूर साथ पाए । योगी भगवन्तनाथ त नेपाल एकीकरणका रणनीतिकार नै थिए । यो गोर्खाको बहादुर राजकुमारको महत्वाकांक्षाको परिणाम थिएन । यसभित्र हिन्दुको पवित्र केन्द्रभूमिको रक्षाका लागि थियो । यसकारण पृथ्वीनारायण शाहको दिव्योपदेशमा नेपाललाई असली हिन्दुस्थान त्यसै भनिएको होइन ।

इशाईं अंग्रेजबाट उपनिवेश विस्तार सँगै सांस्कृतिक आक्रमण भइरहँदा नेपाल एकीकरण गरेपनि गर्वका साथ पृथ्वीनारायण शाहले ‘असली हिन्दुस्थान’ भनेका हुन् । विश्वभर हिन्दु राज्य नामेट पार्न खोज्दा नेपाललाई एकीकरण गरी अंग्रेजको उपनिवेशबाट जोगाउन मात्र सफल भएनन् उनी यहाँको सांस्कृतिक संवेदनशीलतामा तत्कालीन ब्रिटिश शासकहरुलाई गम्भीर बन्न वाध्य बनाए । त्यसपछि नेपालमा सिधै सैन्य बल प्रयोग गर्न अंग्रेजहरुले आँट गरेनन् । हिन्दुको पवित्र भूमिमा प्रभुत्व जमाउँदा यत्रतत्रबाट हुने विद्रोहको खतराको आँकलन गरेर अंग्रजहरु पछि हटेका थिए ।

नेपाल पराधीन नभएपछि उपनिवेशको चपेटामा परेका भारतवर्षका तत्कालीन देशहरुले पनि नेपाल नाममा गर्व गर्न सके त्यतिबेला देखि । नेपाल हिन्दुहरुको पवित्र भूमि हो भन्ने व्यवहारले नै सिद्ध भयो । नेपाल भूमिप्रति विश्वकै हिन्दुहरुको श्रद्धाभाव बढ्यो । यो हिमाल, पहाड र नदीको मात्र देश होइन हिन्दुहरुको पवित्र तीर्थस्थल पनि हो । यही भावनाले भारत, पाकिस्तान, बर्मा, इन्डोनेशियामात्र नभई यूरोप र अमेरिकामा बसोबास गर्ने हिन्दुहरुले पनि आफ्नो पवित्र भूमिका रुपमा सम्झन्छन् । यसकारण नेपाल भूमि अद्भूत शक्तिले सम्पन्न छ । नेपालका लागि पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनी जस्ता क्षेत्रहरु अद्भूत शक्ति हुन् । यो कुनै शक्तिराष्ट्रका अत्याधुनिक हतियार भन्दा कैयन गुणा शक्तिशाली छन् । त्यसैले यस भूमिमा वर्षेनी लाखौं तीर्थयात्री आइपुग्छन् । यहाँको शक्तिपीठमा शक्ति आर्जनका लागि आउँछन् । विभिन्न देशका हिन्दु र बौद्ध शासकहरु यहाँको पवित्र भूमिमा टेकेर धन्य भएको ठान्छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीर्थयात्रीकै रुपमा पशुपतिनाथ, मुक्तिनाथ जनकपुरधाम र लुम्बिनीलाई टेकेका छन् । श्रीलकाका तत्कालीन राष्ट्रपति महीन्द्रा राजापाक्षेले तामिल विद्रोह दबाएपछि तीर्थयात्रीका रुपमा लुम्बिनी आएका थिए । यसकारण नेपाल भूमि शक्ति प्राप्तीको पवित्र थलो पनि हो ।

पछिल्लो समय नेपालको मुख्य शक्तिलाई ओझेलमा पारेर शक्ति क्षयीकरणका अनेकन ग्रान्डडिजाइनहरु भइरहेका छन् । नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनीरपेक्ष बनाउने ग्रान्डडिजाइन त्यही अन्तर्गतको हो । राजनीतिक नेतृत्वमा पुग्नेहरुले यो चाल पाएर वा अन्जानमा हिन्दुराष्ट्र हटाउन सहयोग गरे । धर्मनीरपेक्ष भएपनि आफ्नो धर्म मान्न पाएकै छ ? हिन्दु र बौद्ध धर्मलाई के फरक परेको छ भन्ने जस्ता तर्कहरु गरिए । तर, जनगणनाले धेरै तथ्यहरु उजागर गरिसकेको छ । बौद्ध धर्मालम्बीको जनसंख्या घटेको छ । हिन्दुको जनसंख्या पनि केही घटेको छ । धर्मान्तरणको मार्ग प्रशस्त गर्न यी सबै गतिविधिहरु भए । धर्मको डोरीले जन जनलाई जोडेकोमा त्यसलाई चुँडाल्ने गतिविधि भए । राज्यको धर्म हुँदै भन्ने जस्ता कुतर्कहरु गरेर भ्रम फैलाइए । जातजाति र समुदाय समुदाय लडाउने ग्रान्डडिजाइन अगाडि बढाउन खोजे ।

नेपालका जात जातिलाई एउटै मालामा जोड्ने डोरी नै धर्म हो । सनातन हिन्दु र बौद्ध धर्मले जोडेको छ उनीहरुलाई । पृथ्वीनारायण शाहले त चार जात र छत्तीस वर्णको साझा फूलबारी भनेका छन् नेपाललाई । धर्मको मालाले जोडेको छ खस बाहुन अनि किराँतलाई । उनीहरु पशुपतिनाथलाई आराध्य देव मान्छन् । मुक्तिनाथ हिन्दु र बौद्ध दुवैको पवित्र तीर्थस्थल हो । बौद्धनाथ र स्वयम्भुलाई हिन्दु र बौद्ध दुवै धर्मालम्बीले उत्तिकै मान्छन् । जुनसुकै जातजाति र समुदायको मन्दिर, चाँडपर्वमा छुट्टै कामकर्तव्य र दायित्व छुट्याइएको छ । त्यसमा समय कालले परिवर्तनहरु त आइरहेकै छ । गुठी संस्कृतिमा कामको आधारमा फरक जातिहरुका लागि गुठी जग्गा छुट्याइएको छ । यतिसम्मकी पूजा देखि बाजा बजाउन सम्म गुठी खडा गरी जग्गा छुट्याइएको छ । यो सबै धर्मका आधारमा सबै जातजाति समुदायलाई एक बनाउने संयन्त्र हो । तर, हिन्दु एकता भाँड्न गुठी संस्कृतिमाथि नै आक्रमणका गतिविधि भइरहे । कतिपय विफल बनाइए ।

नेपालमा पहाडी र मधेशी लडाउने योजनाहरु पनि बुनिए । वास्तवमा दुवै समुदायमा अधिकांश हिन्दु नै हुन् । उनीहरुका भाषा, भेषभुषा अलग भएपनि धर्म समान हो । यही समानताले पनि पहाडी मधेशी लडाउने योजना लामो समय अगाडि बढ्न सकेन । लड्नेहरु पछि मिल्न थाले । यो योजना पनि असफल भएपछि हिन्दुभित्र जातजातिबीच लडाउने योजना बुनिए । त्यो पनि सफल हुन नसक्ने देखेपछि धर्मान्तरणको अस्त्र फालिएको छ । हिन्दु धर्मभित्र केही जातिमा धर्मान्तरण गरेर भविष्यमा ठूलै द्वन्द्व सृजना गर्न खोजिएको छ । सुडान, रुवान्डा, युगान्डालगायतका देशमा यस्तै प्रयोग भएको हो । सीमान्तकृत समुदायले अभ्यास गर्दै आएको संस्कृति र धर्मबाट फरक धर्ममा रुपान्तरण गरी पछि हिंसाको कुचक्रमा फसाइएको थियो । जसका कारण ती क्षेत्रमा लाखौं मानिस मारिए । यस्तै प्रयोग नेपालमा ल्याउने प्रयास भइरहेको छ । अफ्रिकामा जातीय नरसंहारका ग्रान्डडिजाइनरहरु नै नेपालमा हिन्दुहरुबीच एकता हुन नदिने र धर्मान्तरण गर्ने योजनामा सक्रिय छन् । यसकारण अफ्रिकामा नरसंहारका डिजाइनहरु चिन्न जरुरी हुन्छ । दक्षिण अमेरिकाका रैथाने जातिको नरसंहारकर्ताहरुलाई चिन्न जरुरी हुन्छ ।

नेपालमा हिन्दु एकतामा सक्रिय संघसंस्थाहरुविरुद्ध अफवाह फैलाउन एउटा समूह योजनावद्ध तरिकाले लागिपरेको छ । के हिन्दुहरु एक हुन नपाउने ? हिन्दुहरुबीच एकता गराउन नहुने ? एउटा हिन्दुले अर्को हिन्दुलाई साथ र सहयोग दिन नहुने ? नेपालमा हिन्दुको एकता गराउन खोज्ने संस्थालाई राष्ट्रविरोधी र राष्ट्रघाती हुन् भन्ने भ्रम फैलाउन खोजिएको छ । द्वन्द्वको खेती गर्दै आएकाहरु यस्ता भ्रम फैलाइरहेका छन् । हिन्दु धर्मको डोरीले यो देशका सबै जातजाति, समुदाय र क्षेत्रका जनतालाई बाँधेर समृद्ध नेपालको संकल्प बोकेकाहरुलाई दोषरोपण गर्न खोज्नेहरु निरन्तर नांगिदै गएका छन् । अहिलेको आवश्यकता भनेको सर्वसाधारण नागरिक बेलैमा त्यस्ता तत्वहरुबाट सजग हुनुपर्छ भन्ने हो । नत्र उनीहरुले ठूलै क्षति पुर्याउन सक्छन् ।

हिन्दु या बौद्ध धर्मालम्बी विभिन्न जातजातिका नाममा लड्दा अफगानिस्तानमा उनीहरुको नामोनिशान नामेट हुन लागिसकेको छ । कुनैबेला बहुमत हिन्दु र बौद्ध भएको अफगानिस्तानमा आजको मितिमा एक सय भन्दा कम संख्यामा खुम्चिएका छन् । अफगानिस्तान बर्बाद भइसकेको छ । विश्वकै विशाल बौद्धमूति तालिवानले ध्वस्त पारिदिए । भागेर र धर्मान्तरण गरेर ज्यान जोगाएका छने धेरै हिन्दुले । नेपालमा पनि हिन्दुहरु विभिन्न जातजाति र समुदायका नाममा द्वन्द्वमा फसाउने प्रपञ्चहरु भइरहेका छन् । यसका लागि धर्मान्तरणलाई अस्त्र बनाइएको छ । धर्मनीरपेक्ष यसैको लागि हो भन्ने पछिल्ला गतिविधिबाट प्रष्ट हुन्छ । यसको वकालत गर्दै धमान्तरणलाई प्रश्रय दिनेहरु विषयान्तर गर्दै हिन्दु एकताविरुद्ध योजनावद्ध तरिकाले खडा भएका छन् । त्यसैले नेपाल राष्ट्रलाई माया गर्ने जोकसैले हिन्दु एकताको मर्मलाई बुझ्न जरुरी छ । यो एउटा यस्तो अचुक सूत्र हो, यस्तो कसिलो डोरी हो जस्ले अनेकन जातजाति, समुदाय र क्षेत्रका जनजनलाई जोड्न सक्छ ।

पशुपतिनाथ, मुक्तिनाथ, बौद्धनाथ, जनकपुरधाम र लुम्बिनी जस्ता पवित्र धार्मिक केन्द्रहरुमार्फत् चीन र भारत जस्ता विशाल देशहरुको बीचको यो देश सन्तुलित भई बलियो रहनसक्छ । त्यसैले पृथ्वीनारायण शाह जस्ता महान दुरदर्शी राजाले नेपाललाई ‘असली हिन्दुस्थान’ भने । असली हिन्दुस्थानको मर्म भनेकै नेपाल विश्वकै हिन्दुहरुको केन्द्रभूमि हो र यो हिन्दु भूमिका रुपमा अटल छ भन्ने हो । हजारौं हजार वर्षदेखि हिन्दुको पवित्र केन्द्रभूमि नेपाललाई कमजोर बनाएर यो सभ्यतालाई नै धक्का दिने प्रयासहरु विफल भएपछि अनेकन प्रयोगहरु भइरहे । त्यस्ता प्रयोगहरु अहिले पनि नभएका होइनन् । पृथ्वीनारायण शाह जस्ता महामानव जन्मिएर विफल पारेको इतिहास साक्षी छ । फेरि फेरि एकता बिथाल्ने र द्वन्द्वको खेती गर्न खोज्नेहरु विफल हुनेछन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया