७ श्रावण २०८१, सोमबार | July 22, 2024

महामानव होइनन् वीपी !


0
Shares

दीपेश केसी: जुन युगमा वीपी कोइराला जिय त्यो युगमा उनलाई ‘सेक्सी’ भनिन्थ्यो भने उनको प्रतिक्रिया के हुन्थ्यो ? उनका समर्थकको देखि विरोधीका प्रतिक्रिया के हुन्थ्यो ? परिकल्पना गरिएको प्रश्नको उत्तर सहज पनि छैन र कठिन पनि छैन । फ्रायडवादी र यौन मनोविज्ञानको सिद्धान्तमा आधारित रहेर साहित्यिक कृति लेख्ने युगभन्दा धेरै पछाडिको सोच्ने वीपीका लागि ‘सेक्सी’ शब्द त्यतिबेला समेत सामान्य हुन्थ्यो होला । उनका समर्थकहरू चाहिं चिढिन्थे होलान् र विरोधी चाहिं मान्छे जस्तो त्यस्तै उपमा राखिदियो भन्थे होलान् । अर्को सत्य यो हो कि वीपीलाई पंक्तिकार जस्ता नयाँ पुस्ताकाले सेक्सी भन्दा सान्दर्भिक नै हुन्छ । वीपी तनले जति आकर्षक थिए प्रतिभाका दृष्टिले झन् बढी आकर्षक थिए । उनको कृतिका प्रत्येक शब्दमा आकर्षण थियो, समाजको आत्मा बोल्थ्यो र फरक युगको झलक पाइन्थ्यो । त्यसैले वीपी सेक्सी थिए, छन् र रहिरहनेछन् ।

राजनीतिज्ञ कि स्रष्टा ?

तपाईं प्रधानमन्त्री या साहित्यकार कुन रुपमा चिन्न चाहनुहुन्छ ? यो प्रश्नको जवाफमा वीपी कोइरालाको उत्तर थियो—रानी भिक्टोरियाको तस्वीर अंकित सिक्का बेलायतको म्युजियममा सिमित छ तर शेक्सपियरका कृति मानिसहरूको घर—घरमा भेटिन्छ । यही भनाईबाट स्पष्ट हुन्छ, वीपी आफूलाई साहित्यकारका रूपमा चिनाउन पाउँदा गर्व गर्थे । परिवर्तनकारी चिन्तन र लेखनमा रमाउने वीपीलाई पद र प्रतिष्ठाको लोभले राजनीतिमा होमेको थिएन भन्ने तथ्य बुझ्न माथिको उत्तर पर्याप्त हुन्छ । अन्याय र अत्याचारसँग जुध्ना जुध्दै लेख्दा लेख्दै वीपीलाई घटनाक्रमले राजनीतिज्ञ बनायो । इतिहास रच्ने देशको पहिलो जननिर्वाचन प्रधानमन्त्रीको पदमा पु¥यायो । तर, वीपी एक युगमा एकपटक जन्मने महान् स्रष्टाका रूपमा सुहाए ।

वीपीको तस्वीर राजनीतिक नेता वा पूर्व प्रधानमन्त्रीका रूपमा सरकारी कार्यालय तथा पार्टी कार्यालयहरूमा झुण्डिएको होला तर साहित्यकारका रूपमा उनका कृति घर घरमा मानिसहरूको शिरानीमा हुन्छ । पंक्तिकार पनि त्यसमध्ये एक हो जसले विपीका कृति प्रायः शिरानीमै राख्यो । सुम्निमा उपन्यासको आरम्भमै लेखिएको, ‘‘धेरै धेरै पहिलेको कथा हो यो । अतितको यति धमिलो गर्वबाट आएको कि वर्तमानमा हाम्रो कानमा यो पुराणजस्तो ध्वनित हुन्छ’’ ले उनी वर्तमानको चश्माबाट विगतका समाज र घटनालाई चियाउने खुबी राख्दथे भन्ने बुझ्न सकिन्छ । सुम्निमा उपन्यास होस् या श्वैत भैरवी र कर्णेलको घोडा जस्ता कथा नै किन नहुन् तिनमा सिग्मण्ड फ्रायडको यौन मनोविज्ञानको सिद्धान्तको प्रभाव झल्किन्थ्यो ।

कुलिनका प्रतिकूल

वीपीले जुन युगमा लेखे त्यो युगको यौनबारेको सोच र बुझाई अति रुढीवादी थियो । त्यसैले उनलाई अश्लील देख्नेको संख्या जति थियो देखाउन खोज्नेको संख्या उति नै थियो । यतिसम्मकी वीपीको चरित्रहत्या गर्न उनको साहित्यलाई प्रमाणका रूपमा देखाउन समेत खोजियो । वीपीका बारेमा अनर्गल प्रोपोगान्डा मच्चाइएका थिए । जेलमा बन्द गरिएका वीपीलाई बदनाम गर्ने र आफूलाई नायक देखाउन खोज्ने खलनायकहरूले गरेको कर्तुतहरू लुकेको छैन । फलेको वृक्षलाई नै झटारो हानिन्छ । वीपी त्यस्तै फलेको वृक्ष बने ।

जहाँ जस्ता छन् त्यस्तै बनिदिने, समय अनुसार नाटक मञ्चन गरेर त्यस्तै बनिदिने स्वभावका भएननु वीपी । अर्थात्, लोभीपापी कुलिनको दृष्टिमा युग सुहाउँदो भएनन् वीपी ? युगभन्दा धेरै पछाडिको सोच्ने भविष्यद्रष्टा थिए । त्यसैले पञ्चायत युगको प्रहारबाट वीपी लोभीपापी जालीझेलीहरूको तारो बने । कहिले जेलमा क कहिले निर्वासनमा बस्न वाध्य भए । जनमतबाट देशको पहिलो प्रधानमन्त्री हुँदा समेत टिक्न दिएनन् । साहित्यकार वीपी राजनीतिज्ञका रूपमा झन् समाजमा ठालु बनेर बसेकाहरूका लागि अनुकूल बनिदिएनन् । उनी परिवर्तनका एजेण्डा कार्यान्वयन गर्न खोज्थे, कुरीति र विसंगति हटाउन खोज्ने । यसैको जगमा टेकेर लाभ लिइरहेका उदण्डहरूले कहाँ सहन्थे । जर्मनीमा नाजीहरूले प्रतिभावान् देखेरै यहुदीहरूलाई खेदेका थिए । त्यस्तै खेदाई भोगे बहुप्रतिभाशाली वीपीले आफ्नै मुलुकभित्र । झुटा आरोप र कुप्रचारको शिकार बनाइए ।

हुन त सिग्मण्ड फ्रायडलाई जर्मनीमा नाजीहरूले बस्न टिक्न दिएनन् । बेलायत पलायन भई उतै देहत्याग गरे । उनको कृतिलाई ‘जुज पोर्नोग्राफी’ भनी जलाइदिए । तिनै फ्रायडको पुस्तक सँसारकै सबैभन्दा बढी पढिने र सन्दर्भ सामाग्रीका रूपमा राखिने कृतिका रूपमा अमर बन्यो । वीपीको हकमा पनि यही लागू हुन्छ । इतिहासको कुनै कालखण्डमा अश्लीलको ट्याग लगाइदिएर ‘छ्या’ भनिएका वीपीका कृति मानिसहरूले घर घरमा शिरानीमा राख्न थालेका छन् । अश्लीलता होइन समाजको गहिरो यथार्थ भेटेका छन् । वीपीलाई अश्लील भन्नेहरूको सन्तान दरसन्तान उनको साहित्यको गहिराईमा डुबेर जीवन र जगत्को यथार्थलाई मनन गर्न पाइरहेका छन् । वीपीले साहित्यमार्फत् इतिहासको खोजी मात्र नभई रक्षा गरेकोमा धन्य मान्दैछन् ।

महामानव होइनन् वीपी !

वीपीले कहिले आफूलाई महामानव वा सामान्य मान्छेभन्दा पृथक देखाउन चाहेनन् । उनी समाजवादी थिए तर असम्भव लाग्ने समाजको परिकल्पना गर्दैनथिए । उनले परिकल्पना गरेको समाज युटोपियन अर्थात् स्वर्गीय पनि थिएन । सबैले गाँस, बाँस र कपास पाउने वातावरण निर्माण गर्न खोजे । वीपीलाई जसले महामानवको तक्मा झुण्ड्याइदिएका छन् तिनले बुझ्नुपर्ने हो कि उनले कहिले कुनै तक्माको आशा राखेर काम गरेनन् । जीवनभर कुनै सम्मान समेत थाप्न तयार भएनन् । त्यस्ता वीपीका लागि महामानव सुहाउँदो उपमा हुनसक्दैन । उनी जनहृदयमा बास गरेका मानव हुन् ।

सँसारको इतिहासलाई केलाउने हो भने इतिहास लेखिने र लेखाउने दुवै कार्य भए । कसैको देवत्वकरण र दानवीकरणबाट लाभ लिन खोज्ने क्रियाकलाप समेत भए । विश्वेश्वर कोइरालालाई पनि कतिपयले देवता जस्तै मान्ने र देखाउन खोजे त कतिपयले दानव जस्तै व्यवहार समेत गरेको इतिहास साक्षी छ । वास्तवमा उनी न त देवता जस्तै चमत्कारिक मानव थिए न त दैत्य जस्तै नकारात्मक क्रियाकलाप देखाउने उदण्ड नै रहे । वीपी सिद्धान्त र आदर्शलाई समाज हितमा लागू गर्न प्रयासरत रहे । उनले कति सके सकेनन् तर उनका सच्चा अनुयायीले त्यसलाई युग अनुरूप साकार बनाउन सक्नुपर्छ । वीपीलाई ‘महामानव’ उपमा दिएर वा उनका बारेमा बनावटी किम्वदन्ती बनाएर क्षणिक लाभ त लिन सकिएला वीपीका सपना पूरा गर्न सकिदैन ।

वीपी विगत होस् या भविष्य, अर्को युगको परिकल्पना गरेर समानतासहितको शान्त र समृद्ध समाज निर्माणमा लाग्दा जेलनेल र निर्वासन समेत भोगेका चिन्तक, साहित्यकार तथा राजनीतिज्ञ हुन् । उनको पथ पछ्याउन सजिलो छैन । पंक्तिकारले ठोकुवाका साथ भन्न सक्छ कि त्यो कठिनतम मार्गमा अहिलेसम्म कोही हिंड्न सकेको छैन । समय आउला कोही साहसी युगपुरूष हिंड्नेछ । जो हिंड्छ त्यसलाई मात्र वीपीलाई ‘महामानव’ भन्ने अधिकार छ । जसले वीपीले चाहेको समानतासहितको समृद्ध र शान्त नेपाल निर्माणमा जोखिम मोलेर भूमिका खेल्न सक्छ त्यो नै वीपीको सच्चा अनुयायी हुनसक्छ । वीपीको चिन्तन र साहित्यको हरेक शब्दको आत्मा बुझेर वीपीले इच्छाएको समाज निर्माणमा योगदान दिनसक्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया