१२ श्रावण २०८१, शनिबार | July 27, 2024

मोदीविरुद्ध एकीकृत हुन खोजेका भारतका क्षेत्रीय दलहरु धमाधम फुट्दै


0
Shares

एजेन्सी, २ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकाल पूरा हुन लाग्दा झन् शक्तिशाली बनेका छन् । सन् २०१४ देखि प्रधानमन्त्री रहेका मोदी तेस्रो कार्यकालयका लागि सन् २०२४ को लोकसभा चुनावमा भारतीय जनता पार्टी र गठबन्धन दलसहित तयारीमा बढिसकेका छन् ।

मोदीले ९ वर्ष भारतको प्रधानमन्त्री बनेर दुनियाँको पाचौं ठूलो अर्थतन्त्रका रुपमा स्थापित गराउन सके । सैन्य शक्तिका दृष्टिले पनि भारत बलियो बन्यो । विज्ञानका क्षेत्रमा पनि भारतले अभूतपूर्व सफलता हासिल गर्यो । उसले चन्द्रमामा यान पठायो ।

तिव्र आर्थिक वृद्धिमा उक्लिरहेको भारत सँसारकै सबैभन्दा बढी रेमिटेन्स भित्राउने मुलुक पनि बनेको छ । सँसारकै सबैभन्दा बढी जनसंख्या रहेको मुलुक बनेको छ भारत २०२३ मा ।

मोदीको कूटनीतिक चार्तुयताले भारतले रुस र युक्रेनबीचको युद्धमा भरपूर फाइदा उठाएको छ । चीनसँगको टकरावले पश्चिमाहरु भारतसँग नजिकिन वाध्य भएका छन् ।
दुनियाँका शक्तिशाली नेतामध्ये मोदीको नाम पनि गनिएको छ । भारतको इतिहासमा शक्तिशाली प्रधानमन्त्रीका रुपमा उभिएका छन् मोदी । यसकारण पनि उनको शक्ति झन् बढेको छ ।

बाह्य सँसारमा मोदीले पृथक पहिचान बनाइसकेका छन् । अमेरिका, फ्रान्स, बेलायत जस्ता देशहरुमा भारतको महत्व बढेर गएको छ । चीनले भारतसँगको सम्बन्धलाई महत्व दिन वाध्य भएको छ । रुसले पनि भारतलाई निकै महत्व दिएको छ अहिले ।

भारतमा यतिबेला मोदीलाई शक्तिशाली प्रधानमन्त्रीका रुपमा लिइएको छ । यसले पनि राज्यहरुमा हुने विधानसभाको चुनावमा भाजपा र उसका गठबन्धन दलहरुलाई मत नदिने मतदाताले लोकसभाको चुनावमा उनीहरुलाई नै मत दिने गरेका छन् । यसको कारण हो मोदीको जादू ।

अहिले भारतमा लोकसभाको चुनावको पूर्वतयारी चलिरहेको छ । विपक्षी कँग्रेस आईसहितका दलहरुले मोदीविरुद्ध गठबन्धन बनाएर बैठक गर्दै आएका छन् । मोदीविरुद्ध गठबन्धनमा सोनिया गान्धी नेतृत्वको कँग्रेस आई, ममता बेनर्जी नेतृत्वको तृणामुल कँग्रेस, नितिश कुमार नेतृत्वको जनता दल युनाइटेड, अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी, लालु यादव नेतृत्वको राष्ट्रिय जनता दल, डिएमके, अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी, शरद पावर समूहको एनसीपी, उद्धव ठाकरे समूहको शिव सेनाका अलावा कम्युनिस्ट पार्टीहरुसहित २६ दल छन् ।

मोदीको भारतीय जनता पार्टीसँग एकनाथ सिन्दे समूहको शिव सेना, अजित पावर समूहको एनसीपी, पशुपति कुमार पारस नेतृत्वको राष्ट्रिय लोक जनशक्ति पार्टी, तालिम नाडुको एआइएडीएमकेसहित ३८ दल छन् ।

मोदीको विपक्षमा गठन भएको गठबन्धनमा रहँदा कतिपय दलहरु धमाधम फुट्न थालेका छन् । शिव सेना र एनसीपी फुटिसकेको छ । भारतको लोकसभामा बढी सिट रहेको राज्यमध्येको महाराष्ट्रमा प्रभावशाली रहेका क्षेत्रीय दलहरुको विभाजनलाई अर्थपूर्ण मानिएको छ ।

मोदीविरुद्ध एक हुन खोजेका गठबन्धन भित्रकै दलहरु एकपछि अर्को फुट्नुले विपक्षीलाई चुनौती बढ्दै गएको छ । परिस्थिति यस्तो बनेको छ कि मोदीका सामु भारतका सबै नेताहरु कमजोर देखिएका छन् ।

महाशक्ति बन्ने महत्वाकांक्षा बोकेको भारतमा मोदी जस्तै शक्तिशाली नेताको खोजी भइरहन्छ । यसकारण भिन्न विचारका मतदाताले पनि मोदीलाई मत दिने गरेका छन् । यतिसम्मकी सन् २०१९ को चुनावमा मोदीलाई भनेर धेरै मुस्लिम महिलाको मत भाजपालाई खसेको तथ्य खुलेको थियो । २१औं शताब्दीमा बलिया देशले बलिया नै नेता खोज्ने भएकाले पनि मोदीको तेस्रोपटक प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ ।

मोदीको कार्यकालमा भारतमा कठोर निर्णयहरु भए । जसमध्ये काश्मिरको मामलामा लिइएको निर्णय र अयोध्याको मन्दिर निर्माणको सुरुवात पनि हो । बाह्य शक्तिको चुनौतीको सामना गर्दै मोदी सरकारले यी दुई मामलामा कठोर निर्णय लियो । यस्तै निर्णय लिनसक्ने र जोखिम उठाउन सक्ने भएकाले पनि भारतमा उनको शक्ति बढेको देखिन्छ ।

सन् २०१९ को चुनावमा भाजपाले बहुमत हासिल गरेपछि लता मंगेशकरले भूत र भविष्यमा हुन नसक्ने सफलता भन्दै बधाई दिइन् मोदीलाई । लता दिवंगत भइसकेकी छिन् । अब मोदीले २०२४ को लोकसभामा कस्तो नतिजा हासिल गर्ने हुन् ? चासो बनेको छ । तर, जुन गतिमा मोदीको जादू भारतभित्र र बाहिर चलिरहेको त्यसले उनलाई तेस्रो कार्यकाल प्रधानमन्त्री बन्नबाट रोक्न विपक्षीलाई फलामको च्युरा चपाए सरह हुने देखिन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया