३१ भाद्र २०८१, सोमबार | September 17, 2024

प्रचण्ड झन् आक्रामक बन्दै हाइप्रोफाइल धमाधम जेल हाल्दै


0
Shares

काठमाडौं, २५ असार । तेस्रोपटक प्रधानमन्त्री हुनुअघि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योपटक आफूले अविस्मरणीय कामहरु गर्ने बताएका थिए । नभन्दै सरकारको नेतृत्व गरेको ६ महिना बित्दा उनी आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् ।

विशेषगरी भ्रष्टाचारको मामलामा प्रचण्ड आक्रामक देखिएका छन् । नेपाल प्रहरीमार्फत् प्रचण्डले हाइप्रोफाइल व्यक्तिहरुलाई हिरासतमा पुर्याइरहेका छन् । अदालतले कतिपयलाई जेल पठाइसकेको छ ।

भुटानी शरणार्थी प्रकरणको फाइल खोलिदा प्रचण्डको निशानामा परे पूर्वमाओवादी नेताहरु जसले कठिन घडीमा साथ छाडेर गएका थिए । उपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझी यो प्रकरणमा मुछिएर र्पुपक्षका लागि थुनामा छन् । उनका छोरा सन्दीप रायमाझी पनि जेल छन् ।

प्रचण्डले संविधानसभाको सदस्य बनाएका डा. इन्द्रजीत राई पनि तानिए । उनी पनि जेल छन् । राईका छोरा पनि तानिएका छन् ।

प्रचण्डका कुनैबेलाका विश्वासपात्र थिए रामबहादुर थापा बादल । उनका छोरा पनि यो प्रकरणमा मुछिए ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेय पनि जेल छन् ।

अहिले फेरि पुरानो ललिता निवास प्रकरणको फाइल खुलेको छ । ओलीको पालामा खोलिएको या फाइलमा मुछिएकामध्ये कतिपयले उन्मुक्ति पाएका थिए । अहिले प्रचण्डले सीआइबीमार्फत् फाइल खोल्न लगाएका छन् ।

ललिता निवास प्रकरणमा पूर्वमन्त्री, अख्तियारका पूर्व आयुक्तहरु, पूर्वसचिव, बहालवाला सचिव, हाइप्रोफाइल व्यवसायी सबै तानिएका छन् । सञ्चार सचिव कृष्णबहादुर राउत विमानस्थलबाट नै पक्राउ परे । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । यो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री विष्णु पौडेल, न्यायाधीश कुमार रेग्मीलगायतका बारे पनि सीआइबीको चासो बढेको बुझिएको छ ।

प्रतिक्रिया