१५ फाल्गुन २०८१, बिहिबार | February 27, 2025

दशौं करोडौं कमिशनको खेलमा विवादास्पद कम्पनीसँग ठेक्का सम्झौताको अन्तिम प्रयास


83
Shares

दीग्गज गौतमः तीन सय शैयाको टेकु अस्पताल निर्माणको ठेक्का पार्न गौरी पार्वती निर्माण सेवा कम्पनीले करोडौंको कमिशनको चलखेल गरेको खुलेको छ । ठेक्का पार्न प्रि क्वालिफिकेशनमा अन्य कम्पनी नपर्ने गरी पहिल्यै योजना बुनिएको थियो । त्यसै अनुसार ठेक्का खोल्यो शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजनाले ।

अन्य प्रतिष्पर्धी कम्पनीलाई छनोट नै नहुने अवस्था सृजना गरेर गौरी पार्वतीका रामकुमार थापाले कन्टेक कम्पनीसँग संयुक्त रुपमा ठेक्का प्रतिष्पर्धामा सहभागिता जनाउनु अघि नै सेटिङ गरेका थिए । जबकि थापा स्वयंको कम्पनी र उनी पटक पटक कालो सूचीमा परेर विवादमा परिसकेका हुन् । उनको कम्पनीले धुलिखेल सडक अलपत्र पारेको छ । एकपछि अर्को निर्माण क्षेत्रमा विवादमा परेको गौरी पार्वतीले ठेक्कामा छनोट भएपछि धेरै विवादास्पद तथ्यहरु उजागर भयो ।

गौरी पार्वतीका प्रोपाइटर रामकुमार थापाले उच्च सरकारी तहमा कमिशनको खोलो बगाएको तथ्य नेपाल पेनलाई प्राप्त भएको छ । मन्त्रालय देखि विभाज अनि आयोजनासम्म मोटो कमिशन पुगेको छ । कर्मचारीसँगको समन्वयमै थापा अदालत गएर आफूले नै ठेक्का पाउने गरी अन्तरिम आदेश जारी गराउन सके ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशन सुरेन्द्र मोहन श्रेष्ठले नाटकीय भूमिका निभाए । उनले नै ठेक्का रद्द गरेको पत्र दिए । तर, यसभित्र अदालत तत्काल जाने र आदेश जारी गर्ने वातावरण बनाएर ठेक्का सम्झौता गराउने प्रपञ्च रचिएको छ ।

नेपाल पेनले यसबारे सुरेन्द्र मोहन श्रेष्ठसँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आएनन् । विभागकी सूचना अधिकारी प्रतिज्ञा मानन्धरले लिखित प्रश्नहरु दिन भनेकोमा दिएपनि अहिलेसम्म कुनै उत्तर आएको छैन ।

देशको अरबौंको ठेक्का हात पार्न प्रधानमन्त्रीका मान्छे, मन्त्री, कर्मचारी मिलाएर मात्र पुग्दैन । अदालतसम्म मुद्दा पुग्ने भएकाले त्यहाँसम्म मिलाइन्छ अनि ठेक्का पारिन्छ । यसरी सेटिङमा ठेक्का लिने ठेकेदारहरुले निर्माणको गुणस्तरमा ठूलो खेलवाड गर्दै आएका छन् । श्रेष्ठले सम्झौता दिलाउन मोटो कमिशनको सम्झौता गरिसकेको विश्वस्त स्रोतले बताएको छ ।

गौरी पार्वतीका रामकुमार थापा भने आफूलाई केही निर्माण कम्पनी लागेर अवरोध पुर्याएको भन्दै शक्ति केन्द्रमा धाइरहेका छन् । निर्माणको अनुमानित लागत ३ खर्बभन्दा १८ प्रतिशत कम रेट राखेर उनले प्रस्ताव राखेका छन् । त्यस अगावै उनलाई नै ठेक्का दिलाउने सेटिङ भइसकेको थियो ।

करोडौं कमिशनमा कन्टेक–गौरी पार्वती जेभीलाई नै केन्द्रीय सरुवा रोग अस्पताल टेकुको भवन निर्माणमा ठेक्का दिलाउने विषयले निर्माण क्षेत्रमा तरंग आएको छ । उजूरीहरु परेपछि योजनावद्ध तरिकाले कानूनको छिद्रमा खेल्न खोजियो ।

योजना अनुसार नै शहरी विकास तथा भवन निर्माण विभागले ठेक्का प्रक्रिया नै खारेजको नाटक रचियो । त्यसविरुद्ध प्रोपाइटर रामकुमार थापा अदालत गएर पाटन उच्च अदालत पुगेर उनले सेटिङ गरेको खुलेको छ । कालो सूचीमा परेको कम्पनी र व्यक्ति प्रोपाइटर रहेको खुलेपछि ठेक्का प्रक्रिया रद्द गरिएकोमा न्यायाधीशहरु दुर्गा बहादुर विश्वकर्मा र जगदीश घिमिरेको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरी ठेक्का रद्द नगर्न नगराउन भनिएको छ ।

कहिले के भयो
अस्पताल भवन निर्माणमा प्राविधिक प्रस्ताव मूल्यांकन बमोजिम एकमात्र प्रस्तावक कन्टेच गौरी पार्वतीको बोलपत्र स्वीकृत भयो १९ फागुन २०७९ मा । ९ चैत्र २०७९ मा प्रकाशित शहरी विकास तथा भवन निर्माण विभागको विभागीय निर्णयानुसार कन्टेच–गौरी पार्वतीलाई आशयपत्र जारी गरिएको थियो । म्याद भित्र कुनै उजूरी नपरेको भन्दै ठेक्का सम्झौताको दबाब दिन लगाइयो । तर, कालो सूचीमा परेको विवादास्पद कम्पनीलाई सम्झौताको लागि डाकिएन । कर्जासूचना केन्द्रमा कालोसूचीमा परेको भेटिएपछि ठेक्का रद्द गर्यो विभागले ।

अस्पताल भवन निर्माणका लागि ३ अर्ब ४६ लाख अनुमान गरेर बोलपत्र आव्हान गरिएको थियो । गौरी पार्वतीले २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार १८५ मा निर्माण गर्ने दाबीसहित प्रस्ताव पेश गरेको थियो । बोलपत्र स्वीकृतको नियमानुसार सबैभन्दा न्यूनतम मूल्यमा प्रस्ताव राखेको थियो गौरी पार्वतीले । निर्माण लागत अनुमानभन्दा २० प्रतिशत कममा निर्माण पूरा गर्ने प्रस्ताव राखेको थियो गौरी पार्वतीले । जसका कारण प्रस्तावक अन्य तीन कम्पनी अस्वीकृत भए ।

१७ रोपनी जग्गामा सरुवा रोग अस्पताल बनाउने प्रक्रियामै भवन निर्माणसम्बन्धी भइरहेको चलखेलले अवरोध पारेको छ ।

कालो सूचीको फेहरिस्ता
गौरी पार्वती निर्माण सेवा प्रा.लि. का रामकुमार थापा पटक पटक कालो सूचीमा पर्दै आएका छन् । कर्जा सूचना केन्द्रका अनुसार गौरी पार्वती निर्माण सेवा प्रा.लि. २०७५, २०७८, २०७९ र २०८० मा गरी पाँचपटक कालो सूचीमा परिसकेको छ । रामकुमार थापा २०७५, २०७८ र २०७९ गरी चेक बाउन्स प्रकरणमा ५ पटक कर्जा सूचना केन्द्रबाट कालो सूचीमा परेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजनाले ३ जेठ २०८० मा पत्र लेखेर गौरी पार्वतीलाई बोलपत्र मान्य अवधि थप गर्ने गरी प्रक्रिया बढाएको थियो । उसले बोलपत्रको जमानतको मान्य अवधि सहित बोलपत्रको मान्य अवधि दुई महिना थप गरी दिनभित्र पेश गर्न पत्राचार गरेको थियो ।

तर, सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुखले १५ जेठ २०८० मा सूचना प्रकाशित गरी ३०० शैयाको अस्पताल निर्माणका लागि खरिद प्रक्रिया नै बदर गरेको जानकारी गराए । यसबारे रामकुमार थापाले जानकारी माग्दै पत्राचार गरेका छन् । त्यसविरुद्ध अदालत गई अन्तरिम आदेश जारी गराउन सफल भएका छन् ।

यी सबै पछिल्ला घटनाक्रम योजनावद्ध नै थिए । यसभित्र गैरी पार्वतीलाई नै ठेक्का दिलाउने योजना लुकेको छ । दशौं करोडको खेलमा ठेक्का दिलाउने गतिविधि अन्तिम तयारी भएको छ । ठेक्कामा सुरुमै दशौं करोडको भ्रष्टाचार भइसकेकाले गौरी पार्वती निर्माण कम्पनीबाट टेकु अस्पताल निर्माणमा गुणस्तरीय काम हुनेमा प्रश्नहरु उठिसकेको छ ।

प्रतिक्रिया