१० श्रावण २०८१, बिहिबार | July 25, 2024

कान्तिवतीको सुन्दरताः जसले नेपालको इतिहास बदल्यो


83
Shares

डा. दीपेश केसीः उत्खननमा दुई महारानीको टकरावबीच रणबहादुर शाहले बाल ब्राम्हणीलाई अपहरण गरी बलजफ्ती विवाह गरेको घटना । जसले नेपालको इतिहासको धारलाई नै बदल्न पुग्यो । राजाको जेठा छोरा राजा हुने विधि विधानलाई उल्लंघन गरेर रणबहादुर शाहले कान्छी रानी कान्तीवतीका बालक छोरालाई गद्दीमा बसाल्दा दरबारभित्र सत्ताका लागि काटमारको शृंखला चलिरह्यो । त्यसपछि धेरै प्रधानमन्त्रीहरु कालगतीले मरेनन् । उनीहरुको विभत्स हत्या हुने र अर्को पात्र सत्तामा आउने अवस्था सृजना भयो । रक्तपात मच्चाएर प्रधानमन्त्री र मन्त्री बन्न थाले । सत्तामा पुग्न रक्तपातपूर्ण षड्यन्त्रै गर्नुपर्छ भन्ने प्रवृत्ति विकास भयो । विदेशी चलखेल बढ्यो । दरबारभित्रको द्वन्द्वको भाइरदा अंग्रेज शासक देखि चीनका शासकले समेत लिन थाले ।

रणबहादुर शाहकी जेठी पत्नी हुनुहुन्थ्यो गुल्मीकी राजकन्या राजराजेश्वरी । दोस्रो पत्नी हुनुहुन्थ्यो सुवणप्रभा । दरबारका दुई शक्तिशाली महिलाहरु जसको द्वन्द्वको भरपूर फाइदा तेस्रो महिलाले लिइन् । रणबहादुर शाहकी पहिलो पत्नी राज राजेश्वरी र दोस्रो पत्नी सुवर्णप्रभाबीचको सत्ता संघर्षले तेस्रो पत्नी कान्तीदेवीले लिएको फाइदा हो यो । नेपालको इतिहासलाई नै बदल्ने घटना त्यो सत्ता संघर्षले ल्यायो ।

राजाका जेठा छोरा युवराज घोषित गरी राजा बनाउने प्रचलनलाई समेत उल्लंघन गरियो त्यतिबेला । राज राजेश्वरीका तर्फबाट एक छोरीको मात्र जन्म भयो । दुई छोरा भएकी सुवर्णप्रभाको शक्ति बढ्न थाल्यो । दरबारका भाइ भारदार समेत सुवर्णप्रभाकै छोरा रणउद्योत शाहलाई भावी राजा देख्न थाले । सुवर्णप्रभामा पनि चुरीफुरी बढ्दै थियो । यही देखेर चतुर रानी राज राजेश्वरी उपयुक्त मौका कुर्दै हुनुहुन्थ्यो । राजा रणबहादुर शाहको कमजोरीबारे राज राजेश्वरी जानकार हुनुहुन्थ्यो । भोग विलासमा लिप्न हुने स्वभाव थियो रणबहादुर शाहको । सुन्दर महिलालाई आफ्नो बनाउने महत्वाकांक्षा थियो उहाँमा । किशोरावस्थामै राजा भएकाले उहाँ अपरिपक्व हुनुहुन्थ्यो ।

तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्र आधुनिक नेपालको राजनैतिक इतिहास (१७६८–१८४६ ई.) मा लेख्नुहुन्छः रणबहादुर शाहका राजराजेश्वरी र सुवर्णप्रभासँग विवाह भैसकेको थियो । राजराजेश्वरीबाट एक छोरी जन्मिइन्, छोरी भएन । सुवर्णप्रभाबाट रणद्योत शाहको जन्म भयो ।

सुवर्णप्रभालाई भोगिनीका रुपमा उल्लेख गरिएकाले दरबारका कतिपय भाइभारदारहरु उहाँको छोरालाई राजा बन्न दिननहुने पक्षमा थिए । राज राजेश्वरीको पनि यही राय थियो । बाबुराम आचार्य आफ्नो पुस्तकः अब यस्तो कहिल्यै नहोस्मा लेख्नुहुन्छः राजा श्री ५ रणबहादुर शाहकी जेठी महारानी राजराजेश्वरीदेवी र यिनकी सौता माहिली महारानी सुवर्णप्रभाको बीचमा स्वभावजन्य सौतेनी डाह रहँदै आइरहेको थियो । महारानी राजराजेश्वरीको तर्फबाट राजा श्री ५ रणबहादुर शाहकी एउटी छोरीमात्र जन्मिएकी थिइन् । उहाँ अगाडि लेख्नुहुन्छः माहिली महारानी सुवर्णप्रभाको तर्फबाट भने उनका दुई छोराहरु जन्मिइसकेकाले महारानी सुवर्णप्रभाले आफ्ना जेठा छोरा रणोद्योत शाहलाई नै राजगद्दीमा उत्तराधिकारीको रुपमा मनमनै निश्चित गरिसकेकी थिइन् ।

दरबारमा दुई रानीका टकराव बढ्दै जाँदा पशुपतिनाथमा एकदिन तिरहुतकी विधवा ब्राम्हणी दर्शनका लागि पुग्नुभयो । बाल्यकालमै पति गुमाउनुभएकी ती महिला सुन्दर हुनुहुन्थ्यो । पशुपति दर्शनका लागि पुगेका एकजना दरबारका कर्मचारीले रणबहादुर शाहको कानमा सुन्दर स्त्रीका बारेमा सुनाइदिए । रणबहादुर शाह ती स्त्रीलाई देख्न आतुर हुनुभयो । तत्काल सैनिकहरुलाई आदेश दिएर बाल ब्राम्हणीलाई नियन्त्रणमा लिएर ल्याउन भनियो । दरबारमा ल्याइनुभएकी ती ब्राम्ह्णीको रुप देखेर रणबहादुर मोहित हुनुभयो । दरबारका धेरै भाइभारदारहरु यो घटनाप्रति असन्तुष्ट थिए । काका बहादुर शाह यो कदमको विरोधी बन्नुभयो । तर, सनकी राजा रणबहादुर शाहका लागि आफ्नै काका दुश्मन दर्ज हुनुभयो ।

तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्र आफ्नो पुस्तकमा लेख्नुहुन्छः शिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गर्न आएकी तिरहुतकी मिश्र ब्राह्मणकी छोरी कान्तिवतीसँग रणबहादुर शाह आकर्षित भए । कान्तिवतीसँग राजा लठ्ठ भए । आफ्ना सौतेनी भाईसँग सल्लाह गरी राजाले कान्तिवतीलाई दरबार ल्याए । विधवा कान्तिवतीले पुनर्विवाह गर्न इन्कार गरिन् ।

बाबुराम आचार्य आफ्नो पुस्तक जनरल भीमसेन थापाः यीनको उत्थान तथा पतन मा लेख्नुहुन्छः वि.सं. १८५२ को शिवरात्री पर्वको अवसरमा भगवान् पशुपतिनाथको दर्शन गर्नको निमित्त भारत भूमिको मिथिलातिरबाट आएकी कान्तवती नामक एउटी नवयौवना तिरहुत सुन्दरी विधवा ब्राम्ह्णीमाथि सम्भवत भगवान् पशुपतिनाथको मन्दिरको आसपासमा नै कर्त नवयुवक राजा रणबहादुर शाहका कुनै सहयोगीको आँखा अप्रत्याशित रुपमा परेको थियो । नवयुवती विधवा ब्राम्हणीको रुप, यौवन तथा सौन्दर्यलाई देखेर यिनी अत्यन्त नै मुग्ध भएका थिए । यो खबर तत्कालै राजभवनमा नवयुवक राजा रणबहादुर शाहकहाँ पुगिहाल्यो ।

बाबुराम आचार्य थप लेख्नुहुन्छः आफ्ना दाजु प्रमुख चौतारा विदुर शाही एवं भाइ चौतारा शेरबहादुर शाहीहरुको परामर्शअनुसार नवयुवक राजा रणबहादुर शाहले नवयुवती ब्राह्मणी कान्तवतीलाई पक्राउ गरी म्यानामा बन्द गराएर बलात् राजभवनभित्र भित्रयाइदिए ।

वास्तवमा यो घटना त्यतिबेलाको सामाजिक परिवेशको विरुद्ध थियो । राजा नै भएपनि विधवा महिलालाई जर्बजस्ती अपहरण गरी लगिएको थियो । शाहवंशको इतिहासमा यो पहिलो घटना थियो । त्यसमाथि पृथ्वीनारायण शाहका नातिबाट कानूनको उल्लंघन थियो । राजाबाट नै कानून र समाजविरोधी कार्यले नकारात्मक सन्देश गइसकेको थियो । त्यसमाथि सत्तामा हावी हुने योजनाका साथ जेठी महारानी नै आफूविरुद्ध अर्को सौता थप्न तयार भइसक्नुभएको थियो ।

महिनासम्म राजाले कान्तिवतीलाई विवाह गर्न सम्झाउँदै रहनुभयो । यो घटना राज राजेश्वरीका लागि उपयुक्त अवसर बन्यो । उहाँ पनि कान्तिवतीलाई रणबहादुर शाहसँग विवाह गर्न प्रेरित गर्न थाल्नुभयो । ६ महिनासम्म आफू पुर्नविवाह नगर्ने भनी कान्तिवतीले अडान लिनुभयो ।

तुलसीराम वैद्य र तीर्थप्रसाद मिश्र आफ्नो पुस्तकमा लेख्नुहुन्छः जेठी महारानी राजराजेश्वरीको मनमा सुवर्णप्रभाको छोरा राजा नहोस् भन्ने भावना थियो । यसै ईष्र्याको कारणबाट जेठी महारानीले राजालाई कान्तिवतीसँग विवाह गर्न प्रेरित गरिन् । कान्तिवतीबाट जन्मिने छोरालाई राजा बनाउने पनि आग्रह गर्न थालिन् । राजराजेश्वरी सुवर्णप्रभाको छोरा राजा हुनुभन्दा कान्तिवतीकै छोरा राजा होस् भन्ने पक्षमा थिइन् ।

रणबहादुर शाहका दुई रानीहरुबीचको शक्तिसंघर्षले रोचक नतिजाहरु ल्याइरहेको थियो । दुवैबीच इष्र्या र जलनले ठाउँ बनाइरहेको थियो । बाबुराम आचार्य आफ्नो पुस्तक जनरल भीमसेन थापाः यीनको उत्थान तथा पतन मा लेख्नुहुन्छः जेठी महारानी राजराजेश्वरी देवीको तर्फबाट एउटी छोरीले मात्र जन्म लिएकी थिइन् । यिनको गर्भबाट अर्को सन्तानको जन्म हुन सकिरहेको थिएन । कान्छी रानी क्षत्रिय कन्या सुवर्णप्रभा देवीतर्फबाट भने रणउद्योत शाह तथा शमशेर शाह नामक दुई राजकुमारले जन्म लिइसकेका थिए । आफ्ना जेठा छोरा डेढ दुई वर्षका भैसकेको र जेठी महारानी राजराजेश्वरी देवीतर्फबाट भने अन्य सन्तानको जन्म नभएकोले रानी सुवर्णप्रभाले आफ्ना राजकुमार रणउद्योत शाहलाई नै राजाका उत्तराधिकारी एवं भावी युवराजधिराजका रुपमा हेर्न थालिरहेकी थिइन् । यस परिस्थितिबाट जेठी महारानी राजराजेश्वरी पनि कम आहत भएकी थिइनन् ।

बाबुराम आचार्य आफ्नो पुस्तक जनरल भीमसेन थापाः यीनको उत्थान तथा पतन मा लेख्नुहुन्छः सौता रानी सुवर्णप्रभातर्फका राजकुमार रणउद्योत शाहले युवराजधिराज को पद प्राप्त गर्नुभन्दा बरु विधवा तिरहुत ब्राह्मणी कान्तवतीको तर्फबाट जन्म लिने भावी राजकुमारले नै राज्यधिकार पाओस् भन्ने भावना महारानी राजराजेश्वरी देवीको मनमा उब्जिरहेको थियो । यसैले नै यिनी नवयुवती ब्राह्मणी कान्तवतीसँग आफ्ना नवयुवक राजा रणबहादुर शाहो विधिपूर्वक विवाह सम्बन्ध स्थापित गराउने पक्षमा उपस्थित हुन आइपुगेकी थिइन् ।

वास्तवमा कान्तिवतीलाई दुई कुराको डर थियो । पहिलो विधिपूर्वक विवाह नभए ल्याइतेको दर्जामा राखिनुपर्ने । यसले उहाँको स्तर दरबारमा घट्नेथियो । उहाँका छोरा राजा बन्ने सम्भावना समाप्त हुन्थ्यो । दोस्रो उहाँलाई आफूबाट जन्मिएको छोरा राजा बनाउने महत्वाकांक्षा जागिसकेको थियो । दरबारमा बस्दा उहाँले त्यहाँभित्र दुई रानीको टकरावलाई नजिकबाट बुझिसक्नुभएको थियो । बलजफ्ती दरबारमा ल्याइसकिएकाले उहाँका लागि फर्कने बाटो पनि थिएन । यसकारण उहाँ महारानी नै भएर बस्न तयार हुनुभयो । यसका लागि आफूबाट जन्मने छोरालाई युवराज बनाउने सर्तसहित विधिपूर्वक विवाह गर्न राजी हुनुभयो ।

बाबुराम आचार्य आफ्नो पुस्तक जनरल भीमसेन थापाः यीनको उत्थान तथा पतन मा लेख्नुहुन्छः नवयुवक रणबहादुर शाहको साथै महारानी राजराजेश्वरी देवीको तर्फबाट पनिः– तिमीतर्फबाट जन्म लिने भावी राजकुमारलाई नै आफ्नो उत्तराधिकारी तथा युवराजाधिराज बनाउँछु भन्ने वाचा गरेपनि तिरहुत सुन्दरी नवयुवती कान्तवती आफूप्रति प्रेमविह्वल भइरहेका नवयुवक राजा रणबहादुर शाहसँग विवाह सम्बन्ध स्थापित गर्नको निमित्त येनकेन तैयार भइन् । फलतः वि.सं. १८५२ को उत्तराद्र्धमा आफ्नो मूल राजभवन गोरखा दरबारमा नै नवयुवक राजा रणबहादुर शाहको नवयुवती कान्तवतीसँगको पाणिग्रहण कार्य विधिपूर्वक सम्पन्न भयो ।

यस घटनाले रणबहादुर शाहलाई नैतिक रुपमा पतन गरायो । दरबारका कतिपय भाइभारदार र प्रजा असन्तुष्ट थिए । तर, ज्यान जाने भयले कोही बोल्न सकेनन् । रणबहादुर शाहका काका बहादुर शाह स्तब्ध बन्नुभएको थियो । बाबुराम आचार्य लेख्नुहुन्छः गाई तथा ब्राम्ह्णहरुप्रति आस्था एवं आदरभाव राख्दै आइरहेको गोरखा राज्यका शाह राजपरिवारका प्रमुख सदस्यले नै यसरी विधवा ब्राम्हणीसँग बलात् विवाह सम्बन्ध स्थापित गर्नु यीनको दृष्टिमा अक्षम्य अपराध ठहरिने आएको थियो ।

रणबहादुर शाह बाचाबन्धनमा परिसकेका थिए । देशभन्दा माथि आफ्नो पत्नीसँगको बाचालाई राखेपछि रणबहादुर शाहको ध्यान राज्य सञ्चालनभन्दा फरक धारतर्फ मोडिदै गयो । उहाँको यो कार्य बहादुर शाहलाई मन परेको थिएन । यसबीच चीनको बादशाहलाई भेट्ने इच्छासहित पत्र लेख्नुभयो बहादुर शाहले । बाबुराम आचार्य आफ्नो पुस्तकमा लेख्नुहुन्छः वि.सं. १८५३ फागुन ११ गतेको दिन रातमा नै सैनिकहरुलाई पठाई यिनलाई बलपूर्वक नै कैद गरियो । चार महिना जति भीमसेनस्थानभन्दा केही तलको किल्लामा नजरबन्दमा राखिनुभएका बहादुर शाहको वि.सं. १८५४ को आषाढ १४ गते शनिवारको रात हत्याराहरु पठाई गुप्तरुपमा हत्या गरियो । कालगतिले नै यिनको मृत्यु भएको हो भन्ने भान पारी विहान उज्यालो नहुँदै पशुपति आर्यघाटमा पु¥याएर दाहसंस्कार सम्पन्न गरियो ।

हतार हतार दाहसंस्कार गर्नुभित्र घटना लुकाउने प्रपञ्च थियो । उहाँको निर्ममतापूर्वक हत्या गरिएको विषयलाई बाबुराम आचार्यले उल्लेख गर्नुभएको छ । ३८ वर्षका बहादुर शाहले पृथ्वीनारायण शाहको पथ पछ्याएर नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका निभाउनुभयो । तर, आफ्नै भतिजा रणबहादुर शाहको व्यक्तिगत महत्वाकांक्षामा जुर्मुराउन पाएका भारदारहरुको चुक्लीले उहाँको विभत्स हत्या भयो । यो घटनाका पछाडि रणबहादुर शाहका दुई पत्नी राजराजेश्वरी र सुवर्णप्रभाको द्वन्द्वले उब्जाएको परिस्थिति पनि कारक थियो ।

बहादुर शाहको हत्याको तीन महिनापछि कान्तवतीदेवीको गर्भबाट राजकुमार गीर्वाणयुद्ध शाहको जन्म हुन्छ । बाबुराम आचार्य लेख्नुहुन्छः वाचा बन्धनअनुसार यिनी जन्मनेवित्तिकै नवयुवक राजा रणबहादुर शाहका उत्तराधिकारी एवं युवराजधिराज पनि घोषित गरिए । गोरखा राज्यको शाह राजवंशले यतिञ्जेलसम्म आफ्नो राजवंशलाई सोमवंशी क्षत्रिय कुल मान्दै आइरहेको थियो, तर यसै समयमा नजाने किन हो ? यसले आफ्नो राजवंशलाई उज्जैनको परमार वंश स्वीकार गरेकोले नवजात बालक युवराजको नामको पछाडि विक्रम नामक नयाँ उपाधि जोडियो र यसपछि राजपरिवारका सबै पुरुष सदस्यहरुको नामको पछाडि विक्रम उपाधि जोड्ने परम्परा नै बस्न गयो ।

छोरा जन्मिएको एक वर्षमै कान्तीदेवीलाई रोगले च्याप्यो । उहाँलाई छोरा गिर्वाण युवराज रहिरहन पाउने या नपाउने भन्ने चिन्ताले सताउन थाल्यो । चाटुकदारहरु बहादुर शाहको प्रेतले आएर महारानीलाई दुःख दिएको हो, देवतालाई बोलाएर चाँडै हटाइदिन्छु अनिमात्र महारानीलाई आराम हुनेछ भन्न थाले । यतिसम्मकी महारानीलाई नीको पार्न रणबहादुर शाहलाई गेरु वस्त्र धारण गरी वानप्रस्थ जीवन ग्रहण गर्न उक्साउन थाले । यो बालक युवराज गिर्वाणयुद्धविक्रम शाहलाई राजगद्दीमा राख्ने योजना थियो । राजा हुँदा हुँदै बालक युवराजलाई राजगद्दीमा राख्ने कदमको विरोधी राजगुरु गजराज मिश्र र चौतारा श्रीकृष्ण शाह पनि प्रवासमा जान विवश पारिनुभयो ।

बाबुराम आचार्य लेख्नुहुन्छः १८५५ को फागुन १२ मा युवावस्थाका राजा रणबहादुर शाहले डेढ वर्षका बालक युवराज गीर्वाण युद्धविक्रम शाह पाल्पाका राजा पृथ्वीपाल सेनद्वारा नेपाल अधिराज्यका श्री ५ महाराजाधिराजका रुपमा विधिपूर्वक अभिषिक्त भए पनि । महारानी राजराजेश्वरी बालक राजाको प्रमुख संरक्षिकाको रुपमा नियुक्त गरिइन् ।

राजराजेश्वरीको चाहना पूरा भयो । सुवर्णप्रभाको छोराहरुलाई राजा बन्नबाट रोकेर आफू सर्वेसर्वा बन्ने उनको महत्वकांक्षा पूरा भयो । रणबहादुर शाहले मुकुट बालक युवराजको शिरमा लगाइदिएर २३ वर्षकै उमेरमा निर्गुणानन्द भन्ने नयाँ नाम राखी स्वामिनी भेषधारी कान्तवतीका साथ पशुपति मन्दिर नजिकै देवपाटनमा स्वास्थ्य निवासमा गई बस्न थाल्नुभयो । उपचारले केही नलागेपछि कान्तीवतीको निधन भयो । यो घटनाले विक्षिप्त रणबहादुर शाहले वैद्यहरुको हत्या गर्ने देखि देवताको मन्दिर तोडफोड गर्न थाल्नुभयो । यतिसम्मकी पशुपतिनाथको मूर्तिलाई तोपले उडाउन भनी उद्धत भएको र सम्झाईबुझाई रोकिएको बाबुराम आचार्यले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

रणबहादुर शाहको उदण्ड स्वभावले भारदारहरु विभाजित भएका थिए । यसबीच किर्तिमानसिंह बस्नेतले राजा गिर्वाणलाई नुवाकोटमा लगी राख्नुभयो । यसले अर्को टकराव बढायो । पछि रणबहादुर शाह बनारस लागेपछि स्थिति थामथुम भयो । रानी राजराजेश्वरी र सुवर्णप्रभाबीचको द्वन्द्व डरलाग्दो तरिकाले बढ्न थाल्यो । बाबुराम आचार्य लेख्नुहुन्छः महारानी राजराजेश्वरी देवीका पक्षका मानिसहरुले काजी किर्तिमान तथा रानी सुवर्णप्रभाबीचमा अनुचित सम्बन्ध रहँदै आएको भन्ने हल्ला कान कानै काठमाडौं शहरमा यत्रतत्र फैलाइरहेका थिए । दुई रानीबीचको विवादसँगै हल्ला फैलिएपछि किर्तिमानसिंह बस्नेतको नृसंशतापूर्वक हत्या हुन्छ । हत्या गर्ने फरार हुन्छन् तर विरोधीलाई दोष लगाएर पक्रने क्रम सुरु हुन्छ । गलत हल्ला फैलाएको भन्दै दरबारका कतिपय भारदारहरु काटिन्छन् । देवदत्त थापाको आँखा निकालिन्छ । हत्या गरिएका किर्तिमान सिह बस्नेतका भाई बख्तवारसिंह बस्नेत प्रधानमन्त्री नियुक्त हुनपुग्नुभयो । दरबारमा सुवर्णप्रभा हावी हुनुभयो । तर, बनारस पुगेर पुनः फर्कनुभएकी राजराजेश्वरीका कारण सुवर्णप्रभा फेरि दरबारबाट निस्किएर पशुपतिनाथतर्फ लाग्नुभयो ।

बाबुराम आचार्य लेख्नुहुन्छः चौतारा शेरबहादुर शाही, काजी बख्तरबारसिंह बस्नेत तथा काजी दामोदर पाँडे मिली सिन्दुर जात्रा गरेर महारानी राजराजेश्वरी देवीलाई राजभवनभित्र भित्राई ५ वर्षका बालक राजा गिर्वाणयुद्धविक्रम शाहलाई यिनैको काखमा सुम्पिदिए । राजराजेश्वरीले पनि पुराना रिस रागहरु बिर्सिई सौता रानी सुवर्णप्रभालाई राजभवनमा बोलाई अब हामी दिदीबहिनीहरु दुवै जनाले पहिलेजस्तै एक आपसमा मिलि राज्य प्रशासनका कामहरु गर्नुपर्दछ भनी आपसमा मिलेर नै काम काजहरु गर्न थालिन् ।

आफ्ना दुई रानीहरु मिलेर शासन चलाउन थालेपनि रणबहादुर शाहमा फेरि सत्ताको अभ्यास गर्ने महत्वाकांक्षा जागेकै थियो । उहाँले नामका अगाडि स्वामी राखेपनि राजकाजको आमोद प्रमोदबाट मुक्त हुन चाहनुभएको थिएन । उहाँले राजराजेश्वरी र सुवर्णप्रभा नजिक भारदारहरुलाई आफ्नो पक्षमा पार्ने योजना भीमसेन थापालगायत विश्वासपात्रहरुमार्फत् बुनिरहनुभएको थियो ।

दरबारभित्रको विवाद बुझेको अंग्रेज सरकारले सन्धीपत्र गरी नेपालमा दूत पठाएको थियो । अंग्रेज राजदूत कप्तान नाक्सले नेपालको आन्तरिक राजनीतिमा सक्रियता देखाउन थालिसकेका थिए । कप्तान नाक्सलाई नेपालबाट निकाल्ने उपयुक्त मौकाको प्रतिक्षामा हुनुहुन्थ्यो रानी राजराजेश्वरी र समर्थकहरु । त्यसबीच फेरि दुई रानीबीच फाटो आउँदा कप्तान नाक्सले सुवर्णप्रभाको पक्ष लिए ।

बाबुराम आचार्य लेख्नुहुन्छः राजराजेश्वरीले मन्त्रिमण्डललाई विघटन गनुभयो । झटपट नयाँ चौतारा विदुर शाहीको मूल चौतारा र काजी दामोदर पाँडेको मूल काजीको पदमा पदोन्नति भयो । रानी सुवर्णप्रभा तथा चौतारा बम शाह पनि कैद भए । बख्तवारसिंह बस्नेत पनि कैदमा परे ।

यसरी दुई रानीको निकटस्थहरु कहिले सत्तामा पुग्ने त कहिले जेलनेल भोगेर ज्यान समेत जाने अवस्था बनिरह्यो । बनारसमा बसेका रणबहादुर शाह उपयुक्त समय पाएपछि फर्किनुभयो । यतिञ्जेल दुवै रानीबीच फाटो ल्याएर निकटस्थहरुलाई पनि आफ्नो पक्षमा पार्ने देखि कमजोर बनाउने कार्य सफल भइसकेको थियो । स्वदेश फर्किंदा आफूलाई स्वागत गर्न जानेलाई पक्राउ गर्न लगाउनुभयो । राजराजेश्वरीलाई नजरबन्द गराए । सुवर्णप्रभा कारागारबाट मुक्त हुनुभयो । तर, उहाँलाई कुनै पद दिइएन । पक्राउ पर्नुभएका प्रबल राना भाग्नुभयो तर दामोदर पाँडे भाग्नुभएन । उहाँलाई अमानवीय यातना दिई नृसंशकतापूर्वक कटाइयो । यसरी रणबहादुर शाहको आदेशमा राजराजेश्वरीका पक्षधरमध्येका दामोदर पाँडेलगायतको हत्या भयो । राजराजेश्वरीकी आमालाई पनि पक्रिई जेलमा राखियो । यसपछि राजराजेश्वरीलाई काठमाडौंबाट निर्वानमा पु¥याइयो ।

जेठी महारानी राजराजेश्वरी देवीको निर्वासन तथा रानी सुवर्णप्रभाको नजरबन्दीपछि राजा गिर्वाणयुद्धविक्रम शाहसंरक्षणका निमित्त रणबहादुर शाहलाई नयाँ रानीको खोजी गरे भीमसेन थापाले । खोजीका क्रममा दरबारमा ललितत्रिपुरसुन्दरी देवीको प्रवेश भयो । नेपालको शासनसत्तामा भीमसेन थापा प्रभावशाली बन्नुभयो । उहाँले आफ्ना विरोधीलाई सखाप पारेर सत्तामा एकछत्र राज गर्ने योजना बुन्नुभयो । यसै अनुसार १८६३ वैशाख १५ गते काजी त्रिभुवन प्रधानका् घरमा रात निकै छिप्पिइसकेपछि बैठक बोलाइयो । रणबहादुर शाहको उपस्थितिमा बैठक बसिरहँदा उहाँले भाइभारदारहरुलाई अनियमितता र आफ्नो हत्या गर्ने सम्मको षड्यन्त्र गरेको आरोप लगाउनुभयो । यस क्रममा शेरबहादुर शाहलाई ठाडै आरोप लगाएपछि तरबारद्वारा रणबहादुर शाहमाथि प्रहार गरेको बाबुराम आचार्यको पुस्तकमा उल्लेख छ । रणबहादुर शाह जिवित नरहने गरी घाइते हुनुभयो तब शेरबहादुर शाह भाग्न खोज्नुभयो तर उहाँ पनि काटिनुभयो । धमाधम विरोधीहरु भीमसेन थापाको समूहबाट काटिनथाले । रणबहादुर शाहको हत्या भएको नवौं दिन राजराजेश्वरी हेलम्बूबाट फर्किनुभयो । बाबुराम आचार्य लेख्नुहुन्छः राजधानी काठमाडौसम्म आइपुग्न नदिई यिनी आफ्नो साथमा रहेका अन्य १४ वटी केटी तथा सुसारेहरुको साथ साँखुको सालिनदीमा नै सती पोलिइन् ।

बाबुराम आचार्य लेख्नुहुन्छः करिब दुई हप्तासम्म लगातार चलेको यस हत्याकाण्डमा सती पोलिने १६ वटी अबला नारीहरुका साथै अन्य करिब ७७ जनाजति पुरुष पनि अकारण नै आफ्ना जीवनहरु गुमाउन विवश भए । रणबहादुर शाहकी नवविवाहिता किशोरी रानी ललितत्रिपुरासुन्दरीलाई भने सती जानबाट रोकी राजमाताको हैसियत प्रदान गरेर यिनैलाई बालक राजा गीर्वाणयुद्धविक्रम शाहकी प्रमुख संरक्षिकाको रुपमा नियुक्त गर्न पनि यिनी सफल भए ।

रणबहादुर शाहकी दुई रानी राजराजेश्वरी र सुवर्णप्रभाबीचको सत्तासंघर्षले तेस्रो पक्षले एकपछि अर्को लाभ लिइरह्यो । ३१ वर्षमै रणबहादुर शाह मारिनुप¥यो । त्यतिबेला नेपालको दरबारमा तरबार मात्र चल्न चल्यो । जसको हातमा तरबार त्यस्कै हातमा दरबारको अवस्था बन्नपुग्यो । सत्ता संघर्षमा हत्याकाण्डहरु धेरै भए । एकले अर्कोलाई मात्र नभई गुट र परिवार नै सखाप बनाएर सत्ता प्राप्त गर्ने देखि मजबुत पार्ने घटनाक्रम विकास भयो ।

यतिसम्मकी राजगद्दीमा बालकहरुलाई बसाल्ने र आफ्नो एकछत्र राज चलाउने प्रवृत्ति प्रधानमन्त्रीहरुमा हुनथाल्यो । नेपालको राजनैतिक इतिहास १८४६ १९५१ ईं. पुस्तकमा पुरुषोत्तम बाँस्कोटा र निरञ्जन शर्मा लेख्नुहुन्छः राजाहरुको लामो समयसम्म नाबालिकताको कारण देशमा भारदारी शक्तिको अभिवृद्धिलाई प्रोत्साहन मिल्नु स्वाभाविक थियो । फलताः विभिन्न दरबारिया गुटहरुको जन्म हुन गयो । फलतः विभिन्न दरबारिया गुटहरुको जन्म हुन गयो । शक्तिका लागि यी प्रतिपक्षी गुटहरु माझ संघर्षको स्थिति सृजना हुन पुग्यो । यसको प्रत्यक्ष परिणामस्वरुप नेपालको राजनीतिमा हत्या जनित राजनीतिको विजारोपण भयो । पृथ्वीनारायण शाहको मृत्युपश्चात् देशमा सक्षम र योग्य शासकहरुको सधै अभाव हुन गयो भने अर्कातिर राजगद्दीमा निरन्तर नाबालक राजा मात्र गद्दीनसिन हुन गए ।

व्यक्तिगत भोग विलासमा डुब्ने शासकले कसरी देशलाई डुबाउँदै लान्छन् भन्ने रणबहादुर शाहबाट सिकाएको छ । विधि विधान मिचेर आफ्नो मनपरेकी रानीको वाचा पूरा गर्न रणबहादुरले उमेरले जेठा दुई छोराहरुलाई पन्छाएर बालक गीर्वाणयुद्ध शाहलाई गद्दी नै त्यागेर राजा बनाउनुभयो । उहाँका लागि देशभन्दा आफ्नो चाहना र आवश्यकता ठूलो भयो । देशको हितलाई केन्द्रबिन्दुमा राखेर बोल्ने वफादार भाइभारदारहरुलाई देशद्रोही देख्नुभयो । जसका कारण नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको पदचाप पछ्याउने काका बहादुर शाह षड्यन्त्रपूर्वक मारिनुभयो । दामोदर पाँडेको विभत्स हत्या भयो । झुटा आरोप लगाएपछि शेरबहादुर शाहले यसै मारिइने भइयो भनेर तरबार चलाइदिनुभयो रणबहादुर शाहमाथि । यसरी रणबहादुर शाह पनि कालगतीले परलोक हुन पाउनुभएन । नेपाली राजनीति रक्तपातसहितको षड्यन्त्रै षड्यन्त्रमा बढिरह्यो बढिरह्यो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया