२३ भाद्र २०८१, आइतबार | September 8, 2024

‘तपाईंमा नैतिकता रहेनछ म देखाउँछु नैतिकता’ भन्दै जब न्यायाधीश डा. भट्टराईले प्रधानन्यायाधीश कार्कीलाई राजीनामापत्र बुझाए


83
Shares

काठमाडौं, ११ असार । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकक्षमा भेटेर राजीनामा दिन पुगेका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईलाई सुरुमा रोक्न खोजियो । तर, उनले कानून सम्झाएपछि भेट्न दिइयो । राजीनामाको कागज बुझाएपछि कार्कीले कारणबारे सोधे । जवाफमा भट्टराईले ठाडै राजनीतिक आस्थाबाट न्यायपालिकामा पस्नेहरुले लोकसेवाबाट उत्तीर्ण भएकाको करिअर नै बर्बाद पारिदिएको जवाफ दिए ।

प्रधानन्यायाधीश कार्कीले के मेरो कारणले तपाईंको करिअर बिग्रिएको हो भनी सोधे । भट्टराईले उत्तरमा भने, ‘व्यक्ति होइन प्रवृत्तिको कुरा गर्दैछु । राजनीतिक मानिसहरुका कारण अदालत बर्बाद बनाइएको छ र म यसका विरुद्ध लडिरहनेछु ।’ कार्कीको ठाउँमा अर्को कुनै व्यक्ति यही प्रवृत्तिको भएको भए पनि आफ्नै शैली उस्तै हुन्थ्यो भने उनले ।

भट्टराईले आफूले कार्कीका विरुद्ध सुनुवाई समितिमा उजूरी समेत दिएको सम्झाए । तैपनि, प्रधानन्यायधीश नियुक्त भएकाले आफूले सँगै काम गर्न नमिल्ने तर्क गरे । उनले भनेः नैतिक मूल्य मान्यतामा काम गर्ने भएकाले पदमा रहन सक्दिनँ ।

आफूले सुनुवाई समितिमा प्रधानन्यायाधीश कार्कीको नियुक्ति नै अवैधानिक जिकिर गरेको सम्झाए । सेवानिवृत्त हुने पत्र गइसकेको अवस्थाबीच प्रधानन्यायाधीश नियुक्त हुनु अवैधानिक हुने उनको जिकिर थियो ।

भट्टराईले कार्कीलाई भनेः तपाईंले नैतिकता देखाउन सक्नुभएन म देखाउँछु अब । यसरी राजीनामाको पत्र बुझाएर उनी न्यायाधीशका रुपमा अदालतमा नफर्कने गरी हिंडे ।
डा. भट्टराईले लोकसेवाको कठिन परीक्षा पास गरेर न्याय सेवामा प्रवेश गरेकाहरु हुन् । तर, देशमा राजनीतिक आस्थाका आधारमा छिद्रमार्फत् न्यायपरिषदमार्फत् नियुक्त हुने प्रवृत्ति बढेको छ । उनीहरुले नै सर्वोच्च अदालत र उच्च अदालत कब्जा जमाइसकेका छन् । यतिसम्मकी २०९३ सम्म प्रधानन्यायाधीशमा राजनीतिक आस्थाका आधारमा नियुक्त हुनेहरु रोलक्रममा छन् ।

न्यायाधीश डा. भट्टराईले राजनीतिक आस्थाका आधारमा अदालतमा न्यायाधीशमा रुपमा छिर्ने प्रणालीको विरोध गरे । यसले लोकसेवामार्फत् न्याय सेवामा प्रवेश गरेकाहरुको करिअर नै बर्बाद भएको उनको भनाई छ ।

प्रतिक्रिया