१२ श्रावण २०८१, शनिबार | July 27, 2024

गौरी-पार्वतीका रामकुमार थापाको कारण अरनिको राजमार्गको स्तरोन्नतिमा अवरोध, टेकुमा ३०० शैयाको अस्पताल निर्माण अलपत्र


0
Shares

काठमाडौं, ५ असार । अरबौंको ठेक्का हात पार्न अनेकन हर्कत गर्ने कम्पनीहरुका कारण देशमा निर्माणको गुणस्तर त खस्किएकै छ अलपत्र पनि परेको छ । यस्तै गरेको छ गौरी-पार्वती निर्माण कम्पनीले ।

कम्पनी र उसका प्रोपाइटर रामकुमार थापा पटक पटक कालो सूचीमा परिसकेका छन् । तरपनि ठेक्का हात पारे उनले टेकुस्थित सरुवा रोग अस्पताल भवन निर्माणको । कालोसूची प्रकरणका कारण ठेक्का प्रक्रिया नै रद्ध भयो । तर, अदालतबाट अन्तरिम आदेश जारी गरी रद्दको निर्णय बदर गराउन अर्को चलखेल थालेका छन् ।

सुरुमा कालोसूचीमा परेको कम्पनीलाई नै केन्द्रीय सरुवा रोग अस्पताल टेकुको भवन निर्माणमा ठेकेदार छनोट गरियो । ३०० शैयाको अस्पताल भवन निर्माणमा प्राविधिक प्रस्ताव मूल्यांकन बमोजिम एकमात्र प्रस्तावक कन्टेच गौरी पार्वतीको बोलपत्र स्वीकृत भयो १९ फागुन २०७९ मा ।

९ चैत्र २०७९ मा प्रकाशित शहरी विकास तथा भवन निर्माण विभागको विभागीय निर्णयानुसार कन्टेच–गौरी पार्वतीलाई आशयपत्र जारी गरिएको थियो । म्याद भित्र कुनै उजूरी नपरेको भन्दै ठेक्का सम्झौताको दबाब दिन लगाइयो । तर, कालो सूचीमा परेको विवादास्पद कम्पनीलाई सम्झौताको लागि डाकिएन । कर्जासूचना केन्द्रमा कालोसूचीमा परेको भेटिएपछि ठेक्का रद्द गर्न विभागले तयारी गरेको छ । तर, कम्पनीले आशयपत्र जारी भन्दा अगाडि मात्र कर्जा सूचना केन्द्रमा कालोसूचीमा परी हटेको र हाल नरहेको दाबी गरेको छ ।

अस्पताल भवन निर्माणका लागि ३ अर्ब ४६ लाख अनुमान गरेर बोलपत्र आव्हान गरिएको थियो । गौरी पार्वतीले २ अर्ब ४४ करोड ८४ लाख ५९ हजार १८५ मा निर्माण गर्ने दाबीसहित प्रस्ताव पेश गरेको थियो । बोलपत्र स्वीकृतको नियमानुसार सबैभन्दा न्यूनतम मूल्यमा प्रस्ताव राखेको थियो गौरी पार्वतीले । निर्माण लागत अनुमानभन्दा २० प्रतिशत कममा निर्माण पूरा गर्ने प्रस्ताव राखेको थियो गौरी पार्वतीले । जसका कारण प्रस्तावक अन्य तीन कम्पनी अस्वीकृत भए ।

१७ रोपनी जग्गामा सरुवा रोग अस्पताल बनाउने प्रक्रियामै भवन निर्माणसम्बन्धी भइरहेको चलखेलले अवरोध पारेको छ । गौरी पार्वतीका मालिक रामकुमार थापा हात धोएर ठेक्का सम्झौता गराउन लागेका छन् ।
गौरी पार्वती त्यही कम्पनी हो जसले अरनिको राजमार्गको निर्माण ठेक्का पाएर अलपत्र पारेको छ । राजमार्गमा धुलो उडेर आवागमनमा समस्या भइरहेको छ । यात्रुहरु विरामी पर्ने गरी धुलो उड्छ ।

गौरी पार्वती निर्माण सेवा प्रा.लि. का रामकुमार थापा पटक पटक कालो सूचीमा पर्दै आएका छन् । कर्जा सूचना केन्द्रका अनुसार गौरी पार्वती निर्माण सेवा प्रा.लि. २०७५, २०७८, २०७९ र २०८० मा गरी पाँचपटक कालो सूचीमा परिसकेको छ । रामकुमार थापा २०७५, २०७८ र २०७९ गरी चेक बाउन्स प्रकरणमा ५ पटक कर्जा सूचना केन्द्रबाट कालो सूचीमा परेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजनाले ३ जेठ २०८० मा पत्र लेखेर गौरी पार्वतीलाई बोलपत्र मान्य अवधि थप गर्ने गरी प्रक्रिया बढाएको थियो । उसले बोलपत्रको जमानतको मान्य अवधि सहित बोलपत्रको मान्य अवधि दुई महिना थप गरी दिनभित्र पेश गर्न पत्राचार गरेको थियो ।
तर, सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुखले १५ जेठ २०८० मा सूचना प्रकाशित गरी ३०० शैयाको अस्पताल निर्माणका लागि खरिद प्रक्रिया नै बदर गरेको जानकारी गराए । यसबारे रामकुमार थापाले जानकारी माग्दै पत्राचार गरेका छन् ।

रामकुमार शहरी विकास तथा भवन निर्माण विभागको निर्णयविरुद्ध अदालत गए । अदालतले खरिद प्रक्रिया रद्द गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउनु भनी ३० जेठमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशहरु दुर्गा बहादुर विश्वकर्मा र जगदीश घिमिरेको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेपछि केन्द्रीय सरुवा रोग अस्पताल टेकुको भवन निर्माण थप अन्यौलमा परेको छ ।

कालो सूचीमा पटक पटक परेर विवादमा परेका रामकुमार थापा र उनले सञ्चालन गरेको केन्द्रीय सरुवा रोग अस्पताल टेकुको भवन अलपत्र बन्ने देखिएको छ । यसै पनि उनले अरनिकोे राजमार्ग अन्तर्गतको धुलिखेल खावा सडक खण्ड अलपत्र पारेका छन् । उनीविरुद्ध पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले जिल्ला प्रशासन कार्यालय काभ्रेमा किटानी जाहेरी समेत दिइसकेका छन् । थापालाई पक्राउ गर्न माग गरिएको छ जाहेरीमा ।

४ किलोमिटर सडकको स्तरोन्नति २० करोड १९ लाख रुपैयाँमा गौरी पार्वती निर्माण सेवा प्रा.लि. ले सकारोको थियो । १९ चैत्र २०८० मा निर्माण सम्पन्न गर्नुपर्नेमा १० प्रतिशत पनि काम भएको छैन । जबकि यतिबेला ५० प्रतिशत काम सकिसक्नुपर्ने थियो ।

यसरी रामकुमार थापाले प्रोप्राइटर रहेको गौरी पार्वती निर्माण सेवाले चलखेल गरी ठेक्का पार्ने र रद्द हुनलाग्दा अदालतमा पुगेर अर्को चलखेल गर्ने गर्दै आएका छन् । उनले काम अलपत्र पारेर देशको निर्माण सेवामा एकपछि अर्को समस्या थपिदिएका छन् । यतिसम्मकी थापाले ३०० शैयाको अस्पताल निर्माण प्रक्रिया बढ्न नदिने गरी भूमिका निभाउन थालेका छन् ।

यसबारे रामकुमार थापा नेपाल पेनसँग कुरा गर्दै रुख काट्न र खम्बा सार्न ढिलाईका कारण अरनिको राजमार्ग अन्तर्गत सडक खण्डको काममा ढिलाई हुन गएको बताए । अदालतमा आफूले न्यायका लागि उजूरी गरेको उनको भनाई थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया