श्री पशुपतिनाथले प्रचण्डको पनि कल्याण गरुन् !
डा. दीपेश केसीः मातृभाषा नेपाली सिकिसकेको बालकले जतिसुकै अग्रेजी शिक्षा लिएर मदर रटान लगाएपनि ठेस लाग्दाको पीडामा ‘मदर’ भन्दैन आमा नै भन्छ । अचानकको ठेसले पुर्याउने पीडाले मान्छेको वास्तविकता उजागर भइहाल्छ । राजनीतिक जीवनमा ठेस लागेपछि प्रचण्डको मुखबाट ‘शिव शिव’ निस्कन थालेको छ । हिन्दू धर्म मान्ने परिवारमा जन्मिएका प्रचण्डको बाल्यकाल हिन्दुत्वको अभ्यासबाटै बित्यो । जुन उनले बाल्यकालबाट गरेको अभ्यास पनि हो ।
हण्डर ठक्कर र ढल्कँदो उमेरले मानिसलाई परिपक्व बनाउँछ नै । युवावस्थामा तातो रगत हुनु स्वभाविक नै हो । तसर्थ युवावस्थामा तातो रगत हुँदा उनी जतिसुकै विद्रोही भएपनि ६० कटेपछि विस्तारै धार्मिक हुन वाध्य भएका छन् । प्रचण्डले हिन्दुत्व छाडेको नभई परिस्थितिको उपज केही समय टाढिएको मात्र हुन् भन्ने उनका पछिल्लो गतिविधिबाट प्रष्ट हुन्छ । राजनीतिमा उपयोग गर्ने रणनीति नहुने होइन । प्रचण्डमा त्यो शैली घरी घरी देखिन्छ । मन्दिर पस्न थाल्नुमा कतिपयले रणनीतिक दाउपेच ठानेका छन् । त्यसो भन्नेहरुले प्रचण्ड हिन्दुत्वको अभ्यास गरेको परिवारमा हुर्किएका होइनन् भन्न सक्दैनन् । सत्य त एउटै हुन्छ जसको बहुरुप सम्भव नै छैन ।
मानिस जति जति वृद्धावस्थातर्फ ढल्कन्छ उति उति सत्य बढी बोल्न थाल्छ । प्रचण्डले सशस्त्र द्वन्द्वकालमा पाँच हजारको मृत्युको जिम्मा लिने बताए । रक्तपातपूर्ण माओवादी गतिविधिले देशमा जुन परिस्थिति निर्माण गरेको छ त्यसप्रति प्रचण्डले गर्व गरेका छन् । तर, त्यो घटनामा बगेको रगतको भार उनलाई छ । त्यसैले राजनीतिक जीवनको उत्तराद्र्धमा उनी मन्दिर धाउन थालेका छन् । विगतमा उनले भैंसी पूजा गरेकै हुन् । कितिपयले यसलाई राजनीति पनि भनेका छन् । तर, प्रचण्ड जस्ता नास्तिक दाबी गर्ने उग्र कम्युनिस्ट मन्दिर दर्शन गर्न थाल्नुलाई सामान्य मान्न सकिंदैन । कुनैबेला आफूलाई नास्तिक देखाउने मोहनचन्द्र अधिकारी अचेक पूरै धार्मिक छन् । केपी शर्मा ओली त हिन्दू धर्मबारे प्रवचन नै दिन्छन् । पशुपतिनाथमा जलहरी चढाउने निर्णय उनकै नेतृत्वको मन्त्रिपरिषद्ले गरेको थियो । चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन लागिपर्ने ओली नै थिए ।
प्रचण्डलाई धेरैले महानास्तिक ठान्थे । उनी मन्दिर पस्लान् भन्ने कमैको अनुमान थियो । त्यो पनि भारत भ्रमणमा जाँदा महाकालेश्वरमा । अहिले त उनलाई मन्दिर प्रवेश सहज हुन थालेको छ । पशुपतिनाथमा पस्दा धन्य महशुश गरेको हुनुपर्छ प्रचण्डले । वास्तवमा सँसारमा कोही पनि नास्तिक हुन सक्दैन । कसै न कसैलाई भगवान् मानेर हिंड्ने नै हुन्छन् । प्रचण्डले पनि कार्ल माक्र्स र माओलाई भगवान् सरह नै मानेका हुन् । वीपी कोइराला र मदन भण्डारीलाई भगवान् सरह मान्नेहरु नभएका होइनन् । नास्तिक त भन्ने कुरा न हुन् । महाकवि लक्ष्मी प्रसाद देवकोटाले आफूलाई नास्तिक भनेपनि जीवनको अन्तिम समयमा ‘आखिर श्रीकृष्ण रहेछ एक’ कविता नै लेखे । जो जतिसुकै ओहदामा पुगुन् या महान् व्यक्ति नै ठहरिउन् अन्तिममा छाड्ने कृत्ति न हो । जिउनेको सम्मान र मृतात्माप्रति श्रद्धा सिकाउने धर्म मानव समाजका लागि अपरिहार्य नै छ । समाज व्यवस्थापनको आधार पनि हो यो । यसैले त प्रचण्डमा ढिलै भएपनि परिवर्तन आएको छ ।
प्रचण्डको महाकालेश्वर हुँदै पशुपतिनाथको प्रवेशलाई वाध्यता, आशंका र राजनीतिक लाभ लिने रणनीतिक चालका रुपमा लिनेहरु पनि छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राहुल गान्धीलाई मन्दिर धाउन वाध्य बनाएकै हुन् । प्रचण्ड मोदीको निम्तोमा भारत जाँदा पहिलोपटक मन्दिर पसेको देखियो । त्यो पनि उज्जैनको महाकालेश्वरमा गेहरु वस्त्रसहित । त्यहाँ उनले पूजा अर्चना गरे । नेपालका ब्राम्हण परिवारमा जन्मिएका प्रचण्डका लागि गेहरु वस्त्र नयाँ त थिएन तर माओवादी नेताले धार्मिक वस्त्र पहिरिनु धेरैका लागि अस्वाभाविक थियो । प्रचण्डमा रणनीतिक चार्तुयता छ । भारतमा हिन्दुत्व विचारधारा मजबुत हुनु र त्यसको असर नेपालमा पनि पर्नुले राजनीतिक लाभ लिन प्रचण्डले मन्दिर धाउन थालेको विश्लेषण नभएको होइन । नेपालमा हिन्दू जनसंख्या ८१ प्रतिशत भन्दा माथि रहनु, हिन्दूहरु विस्तारै एकजुट हुन थाल्नु र हिन्दुराष्ट्रको मुद्या बलियो बन्दै जानुले प्रचण्ड माहोल आफ्नो पक्षमा पार्न उद्धत त भएका होइनन् ?
प्रचण्डले अझै पनि धर्मनीरपेक्षताको बचाऊ गर्दै आएका छन् । उनले गणतन्त्र, संघीयता र धर्मनीरपेक्षताको जस आफू लिन खोज्छन् । धर्मनीरपेक्षताको पक्षधर हुन् उनी । तर, राजनीतिमा विचारधाराप्रति पनि व्यवहारवादी नेताहरु लचिलो हुनेगर्छन् । समाजमा धर्मको जरो बलियो गरी गाडिएको देशमा धर्मनीरपेक्षता कत्ति पनि टिकाउ हुँदैन । त्यसमाथि हिन्दु धर्मको गहिरो जरा गाडिएको देश हो नेपाल जहाँ ऋषिमुनीहरुको पवित्र तपोभूमिहरुको व्याख्या शास्त्रमै गरिएका छन् । नेपाली एकीकरणकर्ता पृथ्वीनारायण शाहले नेपाललाई असली हिन्दुस्थान त्यसै भनेका होइनन् । ज्ञान, चेतना, संघर्षले भरिएको अनुभवले खारिएका पृथ्वीनारायण शाहले धरातलीय यथार्थ र नेपाली समाजको आवश्यकतालाई स्पष्ट दिव्योपदेशमार्फत् अभिव्यक्त गरेका छन् । हिन्दुहरुको मुख्य भूमि नै नेपाल हो भन्ने उनको व्याख्या गरेको छ ।
‘भारतवर्ष’ भनिने दक्षिण र दक्षिणपूर्वी एशियाको समृद्ध सभ्यताका हिन्दु राजाहरु एकपछि अर्को गर्दै कहिले मुगल मुसलमान शासकसँग त कहिले इशाई शासकहरुसँग पराजित हुँदै गए । भारतवर्षका शक्तिशाली हिन्दूराज्यहरु नै मुगल त्यसपछि ब्रिटिश साम्राज्यसँग पराजित हुँदा नेपाल मात्र त्यस्तो हिन्दूराष्ट्र रह्यो जुन मुगल र त्यसपछि ब्रिटिशबाट पराजित भएन । कमशेकम हिन्दू राष्ट्रका रुपमा नेपाल भएपनि जोगियो । भारत विभाजनपछि काश्मिरका राजा हरिसिंहले पनि पाकिस्तानबाट खतरा बढेपछि भारतमा विलयको निर्णय लिए । हिन्दूराष्ट्रका रुपमा रहेको नेपालमा धर्ममाथि नै प्रहारको अनेकन षड्यन्त्रहरु भए । सत्ता स्वार्थमा राजनीतिक नेतृत्व परिवर्तनको छाल ल्याउन जोस्सिइरह्यो । तर, स्वधर्म, स्वसंस्कृति स्वराष्ट्र नै समाप्त पार्ने भित्री खेलहरु चलिरहे । यो खेलको पर्दा ढिलै भएपनि उघारिइसकेको छ । समृद्ध हिन्दू सभ्यतामा हुर्किएका नेपालीहरुका लागि अब स्वधर्ममाथिको प्रहारलाई टुलुटुलु हेरिबस्ने समय रहेन । यसले पनि प्रचण्डलाई मन्दिर प्रवेशको अवस्था बनाइदियो ।
नेपाल हिमाल, पहाड र तराईको देश मात्र होइन । देश भनेको ढुंगा माटो मात्र होइन । चारकिल्लाभित्रको सभ्यता, संस्कृति, धर्म, गौरवशाली इतिहास पनि हो नेपाल । सनातन धर्मको अभ्यास गर्ने झण्डै तीन करोडको सुन्दर तपोभूमि हो यो । जहाँ पशुपतिनाथ, मुक्तिनाथ, बौद्धनाथ जस्ता पवित्र तीर्थस्थल छन् । यहाँ पाइला टेक्दा पनि विश्वका हिन्दू बौद्ध धर्मालम्बी धन्य ठान्छन् । भारतका एक अर्बभन्दा बढी हिन्दूको पवित्र तीर्थस्थल हो नेपाल । पशुपतिनाथप्रति विश्वका हिन्दूको आस्थाले पनि नेपालको पहिचान उचो बनाएको छ । नेपाललाई बलियो बनाउने एउटा आधार यो पनि हो । लुम्बिनीमा बौद्ध धर्मालम्बीको आस्थाले नेपाललाई पवित्र भूमि बनाएको छ । यस्तो पवित्र देशको धार्मिक संवेदनशीलतामा खेल्न खोज्नेहरुको खेल लामो समय चल्दैन । ढिलै भएपनि प्रचण्डले यथार्थ बुझेको हुनुपर्छ । मन्दिरमा गएर उनी झुकेकै छन् । ढिलो भएपनि देशको धार्मिक सेन्टिमेन्ट बुझ्ने र आफ्नो धरातललाई सम्झने गरेका छन् प्रचण्डले । श्री पशुपतिनाथले प्रचण्डको पनि कल्याण गरुन् !