८ कार्तिक २०८१, बिहिबार | October 24, 2024

लेनिनका कारण प्रचण्ड र बाबुराम भट्टराई युद्ध अपराधको आरोपमा हेग जानसक्ने


0
Shares

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई युद्ध अपराधको आरोपमा हेग जानसक्ने खतरा बढेको छ । दुवैविरुद्ध युद्ध अपराध गरेको भन्दै दायर रिट निवेदन दर्ता गर्ने आदेश सर्वोच्च अदालतले दिएको छ । आज शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले रिट दर्ता गर्न आदेश दिएको हो ।

प्रचण्ड र बाबुरामविरुद्ध माओवादीका तत्कालीन लडाकु लेनिन बिष्टले आफूलाई बालसेनाका रुपमा प्रयोग गरी युद्ध अपराध गरेको भन्दै अदालतमा रिट हालेका थिए । तर, अदालतले रिट दरपीठ गरेको थियो । बिष्टले बालसैनिक भएकै आधारमा लडाकु शिविरबाट अयोग्य घोषित गरी निकालिएको रिटमा उल्लेख गरेका छन् ।

लेनिन बिष्ट बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष थिए । बिष्टले सशस्त्र द्वन्द्वकालमा माओवादीले २०५९ मा आफूलाई सैन्य भर्ती गर्दा १३ वर्ष मात्र भएको उल्लेख गरेका छन् । संयुक्तराष्ट्रसंघीय नेपालस्थित मिसनको भेरिफिकेशनले २९७३ जनालाई बाल सैन्यको रुपमा सूचीकृत गरेको थियो ।

माओवादीले ठूलो संख्यामा बाल सैनिक प्रयोग गरेको रिटमा भनिएको छ । यतिसम्मकी माओवादी सशस्त्र गतिविधि सुरु भएपछि मारिएका पहिलो व्यक्ति दिलबहादुर रम्तेल पनि बालक नै रहेको बिष्टले उल्लेख गरेका छन् ।

देशमा २०६३ मा माओवादी सशस्त्र गतिविधि अन्त भएको थियो । शान्ति प्रक्रियाका दौरान माओवादी लडाकुको समायोजन हुँदा अनमिनले बालसैनिकलाई अयोग्य घोषित गरेको थियो । जसका कारण बालसैनिकको प्रयोगको विषय उठ्दै आएको छ ।

प्रतिक्रिया