भर नभएको जीन्दगी भनेकी थिइन् नीराले

काठमाडौं, १७ वैशाख । नीरा पाण्डे निकै रम्ने स्वभावकी थिइन् । उनी घुमफिर गर्न खूबै रुचाउँथिन् । परिवारसँग खूबै घुमेको तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन् ।
कपनमा वैशाख ७ मा हत्या गरिएकी नीरा पाण्डेको रहर धेरै थिए । त्यसैले सामाजिक सञ्जालमा आफ्ना जीवनका खुशियाली पोष्ट गरिहाल्थिन् । लगाएको र रमेको तस्बिर पनि राख्थिन् ।
नीराले एउटा टिकटक भिडियो पोष्ट गरेकी थिइन् जसमा उनी निकै रमाइलो गर्दै मच्चिइरहेकी छिन् र पृष्ठभूमिमा सुन्दर उपत्यका देखिन्छ । उनले लेखेकी छिन्ः भर नभएको जीन्दगीमा रहर भने कति हो कति ।
उनका रहर अब रहेनन् । सुनको सिक्रीका लागि उनको हत्या भयो । त्यो पनि कपनस्थित आफ्नै पसलमा ।
हत्याका अभियुक्त विनोद विक झापाबाट पक्राउ परिसकेका छन् । उनले बयानमा मात्र सुनको सिक्रीका लागि हत्या गरेको भनेका छन् । तर, हत्याको अनुसन्धान चलिनै रहेको छ ।