३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चुनावसम्म प्रधानमन्त्री बन्न देउवालाई ओलीको प्रस्ताव


83
Shares

काठमांडू, २८ चैत्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाउमा छन् । उनले आज सोमबार राजधानीमा बोल्दै चाँडै प्रधानमन्त्री बन्न सक्ने बताए । यसले राजनीतिक वृत्तलाई तरंगित पारेको छ ।

त्यसो त देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न प्रस्ताव पठाएका छन् । आफ्ना विश्वासपात्रमार्फत् ओलीले देउवालाई यस्तो प्रस्ताव पठाएका हुन् । देउवालाई प्रधानमन्त्रीको प्रस्ताव ओलीबाट पुगेको विश्वस्त स्रोतले री दिएको छ । तर, देउवाले तत्काल यो प्रस्ताव स्वीकारेका छैनन् ।

सत्ता गठबन्धनको मुख्य घटकमध्येको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले देउवालाई संसदको बाँकी कार्यकालभर प्रधानमन्त्री बन्न देउवाबाट प्रस्ताव गएको सूचना पाएको खुलाएका छन् । विदेशी सञ्चारकर्मीसँगको गत शुक्रवारको अन्र्तक्रियामा नेता नेपालले ओलीबाट त्यस्तो प्रस्ताव गएको जानकारी पाएको बताएका हुन् ।

आफूले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएपनि दुई महिनामै समिकरण बदलेकोमा ओली रुष्ट छन् । उनले यसकारण पनि देउवालाई प्रस्ताव पठाइरहेको बुझ्न सकिन्छ ।

सत्ता समिकरणमा फेरबदल भइरहँदा प्रधानमन्त्रीको कुर्सीले फेरि बदलिने सम्भावना उत्तिकै छ । नेपालको संसदमा नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल हो । तर, यी दुई दलबीचको सत्ता संघर्षको फाइदा तेस्रो ठूलो दल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले उठाइरहेको छ । उसैले गठबन्धन सरकारको नेतृत्व झण्डै ४ महिनायता गर्दै आएको छ ।

प्रतिक्रिया