बेइजिङमा परराष्ट्र सचिव पौड्यालले उठाए ‘भैंसीको मासु’ को कुरा

काठमाडौं, २५ चैत्र । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको शुक्रबार बेइजिङमा भएको १५औं बैठकमा भैंसीको मासुको कुरा उठाएको छ त्यो पनि पकाएको । यो कुरा आयात निर्यातबारे छलफल हुँदा नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालले उठाएका हुन् ।
पौड्यालले विशेषगरी चीया, कफी, कृषि उत्पादन, जडिबुटी, राँगाको पकाएको मासुलाई निर्वाध चिनियाँ बजारमा ठाउँ दिएर व्यापार घाटा कम गर्ने परिस्थिति निर्माणको विषय नेपाली पक्षले उठाएको बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ । चीनमा कुनैबेला नेपालबाट अत्याधिक भैसींको मासु निर्यात हुन्थ्यो । कोरोना भाइरसको संक्रमणपछि यो ठप्पप्रायः नै छ ।
नेपाल फेरि भैंसीको मासु निर्यातलाई बढाउन चाहन्छ चीनमा । यसबाहेक कृषि उत्पादन पनि बढीभन्दा बढी चीन निर्यात गर्न चाहन्छ । तर, चीनले नाकामा कडाई गरेर निर्यातमा समस्या पारिरहेको छ ।
यसैगरी, नेपालले चीनको अनुदान र चिनियाँ कम्पनीले ठेक्का पाएका नेपालका पूर्वाधार विकास आयोजनाहरु समयमै सक्न आग्रह गरेको छ । यस्ता आयोजनाहरु निर्माणमा ढिलाई गरेपछि नेपालले त्यस्तो आग्रह गरेको हो ।
बेइजिङमा शुक्रवार भएको नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठकमा नेपाली पक्षले विकास आयोजनाहरु समयमै नसकिएकोतर्फ ध्यानाकर्षण गरायो । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्ष र कम्पनीबाट निर्माण भइरहेका आयोजनाको प्रगतिबारे समिक्षा भएको र कामलाई गति दिई समयमै सम्पन्न गर्ने सहमति भएको छ ।
नेपालका तर्फबाट विदेश सचिव भरतराज पौड्याल र चीनका तर्फबाट उपविदेशमन्त्री सन वीडोङले संन्यत्रको बैठकमा पूर्वाधार विकासमा भएका ढिलासुस्तीको समिक्षा गरेका थिए ।
नेपालमा अधिकांश ठूला पूर्वाधार विकासका आयोजनाहरुमा चिनियाँ कम्पनीले ठेक्का पाएको छ । तर, उसले समयमा काम सम्पन्न गर्न सकेको छैन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडकखण्ड चाइना स्टेट कम्पनीले २०१९ देखि निर्माण गरिरहेको छ । निर्माण अवधि सकिइसक्दा पनि २५ प्रतिशत काम पनि पूरा भएको छैन । ११४ किलोमिटर उक्त सडक खण्डमा १७ अर्ब नेपाली रुपैयाँ एशियाली विकास बैंकको ऋण सहयोगमा बनिरहेको छ ।
चिनियाँ कम्पनीले काठमाडौं निजगढ फाष्ट ट्रयाकका विभिन्न प्याकेजको निर्माण ठेक्का पाएपनि समस्या देखिएका छन् । निर्माण कम्पनीहरु एकपटक निलम्बनमा परिसकेका छन् ।
चिनियाँ कम्पनीहरु काममा ढिलाई र गुणस्तरको समेत प्रश्न उठ्दा आलोचित छन् । चीनले केही अनुदान र बाँकी नेपाली लगानीमा निर्माण भएको काठमाडौं उपत्यकाको रिङरोडका केही खण्डहरु समय अगावै बिग्रिएर पुनः निर्माण गर्नुपरिरहेको छ ।