३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्रचण्ड दुई वर्ष प्रधानमन्त्री बनेपछि माधवको पालो, डेढ वर्ष सरकारको नेतृत्व


0
Shares

काठमाडौं, २४ चैत्र । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भाग्य नै यस्तो छ कि जब संसदको निर्वाचनमा कमजोर प्रदर्शन गर्यो तब शक्ति आर्जन भयो । पहिलो संविधानसभाको चुनावमा दुई संसदीय निर्वाचन क्षेत्रबाट पराजित भएका उनी भाग्यले प्रधानमन्त्री बने ।

गिरिजाप्रसाद कोइरालाले साथ दिएरै माधव नेपाल प्रधानमन्त्री बने । जनआन्दोलनपछि माधव नेपालले कोइरालालाई खुलेरै प्रधानमन्त्रीमा साथ दिएका थिए । त्यसको ऋण तिरेको भन्दै कोइरालाले प्रधानमन्त्री बनाउन साथ दिए ।

यसपटक माधव नेपाल नेतृत्वको नेकपा एसले जम्मा १० सिट मात्र जित्यो । राष्ट्रिय पार्टी समेत बन्न सकेन । तर, माधव नेपाल झन् उत्साही भएका छन् । उनले आज विदेशी सञ्चारमाध्यमका प्रतिनिधिसँगको अन्र्तक्रियामा आफू प्रधानमन्त्री बन्नेतर्फ बढिरहेको संकेत गरे । आफ्नो आवश्यकता र महत्व बढ्दै गएको भन्दै त्यस्तो संकेत गरेका हुन् ।

‘कस्को कति सिट भन्दा पनि कस्को महत्व र आवश्यकता के हो भन्ने हुन्छ,’ नेता नेपालले विदेशी सञ्चारमाध्यमसँग राजधानीमा आज शुक्रवार अन्र्तक्रिया गर्दै भने, ‘त्यही आवश्यकता अनुसार म विगतमा प्रधानमन्त्री भएको थिएँ र भविष्यमा पनि हुनसक्छ ।’

सत्ता गठबन्धनका तीन नेता प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालबीच आलोपालो प्रधानमन्त्रीको सहमतिबारेको जिज्ञासामा उनले घुमाउरो तरिकाले स्वीकार गरे । उनले ठट्टा गर्दै भने, म एक वर्षका लागि होइन डेढ वर्षका लागि प्रधानमन्त्री बन्छु ।

नेता नेपालले चीनको ब्रिक एण्ड रोड इनिसियटिभ (बीआरआइ) सँग भारत आत्तिनु नपर्ने टिप्पणी गरे । उनले बीआरआई विकास परियोजना भएकाले नेपालले स्वीकार्नुलाई भारत आत्तिनुनपर्ने समेत बताए ।

नेपालले भने, ‘बीआरआई प्रति भारत आपत्ति जनाउनुपर्ने र आत्तिनुपर्ने अवस्था छैन ।’ बीआरआई सैन्य रणनीति नभई विकास परियोजना भएको जिकिर समेत गरे ।
नेपालमा अमेरिकी विकास परियोजना एमसीसी पनि कार्यान्वयनको चरणमा रहेको भन्दै त्यसमा भने आफूहरुको केही प्रश्न रहेको बताए ।

नेपाल कुनैपनि सैन्य रणनीतिमा सहभागी नहुने समेत उनले बताए । एमसीसी र बीआरआईलाई सैन्य रणनीतिका रुपमा कतिपयले व्याख्या गरिरहँदा नेपालको सत्ता गठबन्धनको घटक दलका एक नेताका रुपमा नेपालको भनाई अर्थपूर्ण छ ।

कुनैपनि शक्ति राष्ट्रको द्वन्द्वमा नेपाल फस्न नहुने बताए । भारतसँग नेपालको सुमधुर सम्बन्ध रहेको भन्दै नेपालको विद्युत निर्यातमा उसले सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपालले बँगलादेशलाई विद्युत विक्री गर्न खोजिरहेको उल्लेख गर्दै त्यसमा भारतको साथ मिल्ने गरी कुराकानी गर्नुपर्ने बताए । भारतसँग द्विपक्षीय वार्तामा सशक्त ढंगले कुरा उठाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया