१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रविको राजनीतिक भविष्य के होला


January 28, 2023
0
Shares

काठमाडौं, १४ माघ । रवि लामिछाने चर्चाको विषय बन्न पुगेका छन् फेरि एकपटक । उनले एकैपटक प्राप्त गरेको राजनीतिक उपलब्धि सर्वोच्च अदालतको एउटै फैसलाले हाललाई अन्त गरिदिएको छ । तर, उनीसँग राजनीतिक मार्ग पूर्णत बन्द भइसकेको छैन ।

अमेरिकाबाट नेपाल फर्किएर बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने टेलिभिजन कार्यक्रम चलाएर गिनिज बुकमा नाम लेखाउँदा रवि लामिछानेले सायदै राजनीतिमा छलाङ मार्ने सपना देखिसकेका थिए । तर, उनमा निकै ठूलो महत्वाकांक्षा थियो भन्ने पछिल्ला कार्यक्रमहरुले देखाउँदै लग्यो । उनले सिधा कुरा जनतासँग कार्यक्रम चलाएर ठगीमा परेकाहरुको पक्षमा बोल्न थाले । यसले उनलाई लोकप्रीयताको चुलीमा पुर्यायो ।

देशमा मुख्य दलका शिर्ष नेताहरुप्रति वितृष्ण बढ्दै गयो । २०७९ को स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा बालेन साह र धरान उपमहानगरपालिकामा हर्क सामपाङले स्वतन्त्र उम्मेदवारका रुपमा मेयरमा जिते । यसले राजनीतिमा बढ्न खोज्ने युवाहरुलाई उत्साही बनायो । रविले यही मौका देखेर नयाँ दल खोले जसको नाम नेपाल स्वतन्त्र पार्टी राखे । धेरैका लागि यो स्वतन्त्र नै हो भन्ने भ्रम पनि पर्यो । स्वतन्त्रको पक्षमा लहर नै थियो ।

प्रतिनिधि सभा चुनावमा रविको दलले अभूतपूर्व सफलता हासिल गर्यो । उनले पनि मुख्य दलका नेताहरुको शक्तिसंघर्षमा लाभ लिन खोजे । सिधै उपप्रधानमन्त्रीसहित गृहमन्त्री दाबी गरे । उपसभामुख पनि उनको दाबी रह्यो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड रविको मागमा सहमत बने । रविले मागेको पाए । तर, उनीविरुद्ध नागरिकता विवादको मुद्दा आयो । अदालतले रविको सबै पद खारेज गर्ने फैसला सुनायो ।

रविको पार्टी अध्यक्ष, मन्त्री र सांसद सबै पद गुमेपनि उनले आइतबार नै नयाँ नागरिकताको निवेदन दिने भएका छन् । त्यसपछि पुनः नेपाली नागरिक बनेर उनी संविधान बमोजिम ६ महिना मन्त्री बन्न सक्छन् । चितवन २ मा उपनिर्वाचन हुने नै छ । रवि त्यहींबाट उम्मेदवार बन्ने निश्चित नै छ । यसबाट उनी पुनः राजनीतिमा फेरि सशक्त रुपमा आउने सम्भावना नभएको होइन ।

रवि यसअघि पनि विवादमा नमुछिएका होइनन् । उनीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा थियो जसमा उनी हिरासतमा परेर पछि सफाइ पाए । त्यसले पनि उनलाई चर्चामा पुर्यायो । पछिल्लो घटनाले उनी पुनः चर्चामा पुग्ने सम्भावना देखिदैछ । लाखौं नेपाली अमेरिका, यूरोप, अष्ट्रेलियालगायतका देशमा पुगेर त्यहाँको नागरिकता लिएका छन् । कतिपयको दोहोरो नागरिकता पनि छ । उनीहरु रविको पक्षमा देखिएका छन् । यसले उनलाई फेरि शक्ति बढाउन मद्यत पनि पुग्न सक्छ ।

अर्कोतर्फ, रविमाथि राहदानीको विषयमा अर्को मुद्दा चल्न सक्छ । यसबाट उनी अनेकन मुद्यामामलामा अल्झनुपर्ने सम्भावना पनि छ । तर, रवि त्यति सजिलै हरेश नखाने खालका भएको सन्देश दिइसकेका छन् । यद्यपि, उनले विस्तार गर्न खोजेको पार्टी संगठन कस्तो हुन्छ र कसरी फैलन्छ भन्ने विषयले भविष्य तय गर्दछ । तर, यतिबेला ठोस सिद्धान्त नबोकेका रविको राजनीतिक गन्तव्य भने अनिश्चित जस्तै देखिन्छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया